नेपाल ‘लो स्कोरिङ’ खेलमा २ विकेटले विजयी

असार ४, २०८२ | काठमाडौं

नेपालले त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा स्कटल्यान्डलाई ‘लो स्कोरिङ’ खेलमा २ विकेटले पराजित गरेको छ । नेपालले जितका लागि पाएको ९८ रनको झिनो लक्ष्य ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा १ बल अगाडि पूरा गरेको हो । 

अघिल्लो दिनको तुलनामा विकेट ब्याटिङका लागि निकै कठिन बनेको थियो । सानो स्कोरको लक्ष्य लिएर मैदान उत्रिएको नेपालको पनि सुरुआत राम्रो हुन सकेन । लगातार दुई चौका प्रहार गरेपछि लोकेश बम अर्को बलमा आउट भए । 

अनिल साह ३ रन र कप्तान रोहित पौडेल ७ रनमा बोल्ड भए । ओपनर कुशल भूर्तेल ४० रन र दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भए । अन्तिममा सन्दीप लामिछानेले १ रन जोड्दै नेपाललाई जिताए ।

त्यसअघि पहिला ब्याटिङ गरेको स्कटल्यान्ड १९ ओभर ४ बलमा ९७ रनमा अलआउट भएको थियो । नेपालले सुरुआतदेखि नै उत्कृष्ट बलिङ गर्दै स्कटल्यान्डको ब्याटिङलाई पूर्ण नियन्त्रणमा लिएको थियो । 

बलिङमा सन्दीप लामिछाने छाएका थिए । उनले सर्वाधिक ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २–२ विकेट हात पार्दा ललित राजवंशीको नाममा एक विकेट रह्यो । 

नेपाल अघिल्लो दिन तीन सुपर ओभरको खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो । आइतबार सुरु प्रतियोगिताको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । नेपालले भोलि नेदरल्यान्ड्स र पर्सि शुक्रबार स्कटल्यान्डसँग प्रतियोगिताका बाँकी दुई खेल खेल्नेछ ।


प्रतिक्रिया