नेपालले आज १ सयौं टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै

असार २, २०८२ | काठमाडौं

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आज १ सयौं खेल खेल्दैछ । सन् २०१४ को टी–२० विश्वकपमा हङकङसँग खेल्दै सुरु भएको नेपालको टी–२० आई यात्राले नेदरल्यान्ड्सविरुद्ध आज हुने खेलमा शतक पूरा गर्नेछ । नेपालले यसबीचमा नेदरल्यान्ड्ससँग नै सर्वाधिक १३ पटक खेलेको छ । 

टेस्ट राष्ट्रमा नेपालले बंगलादेशसँग विश्कपमा २ पटक प्रतिस्पर्धा गरेको छ । भारतसँग एसियाली खेलकुद र दक्षिण अफ्रीकासँग टि२० विश्वकपमा पनि खेलेको इतिहास छ । नेपालले टी–२०आई इतिहासमा सबैभन्दा बढी जित मलेसियाविरुद्ध दर्ता गरेको छ । मलेसियाविरुद्ध १० मध्ये ९ खेलमा नेपालले जित दर्ता गरेको छ । त्यस्तै सबैभन्दा बढी हार नेदरल्यान्ड्ससँग बेहोरेको छ । नेपालले १३ मध्य ७ खेलमा हार बेहोरेको छ ।

नेपालका लागि सर्वाधिक टी–२०आई खेल्ने खेलाडीमा सोमपाल कामी, करण केसी र दीपेन्द्रसिंह ऐरी छन् । यी तीनैले समान ७८–७८ खेल खेलेका छन् । कप्तान रोहित पौडेलले ६३ खेल खेलेका छन् । नेपालबाट हालसम्म ४९ खेलाडीले टी–२०आई खेलेका छन् । नेपाल र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक टी–२०आई सिरिजको खेल आज राति पौने ८ बजे सुरु हुनेछ ।   


प्रतिक्रिया