टी–२० विश्वकप एसिया छनोटः क्यानद्वारा ३२ खेलाडीलाई क्याम्पमा आउन आग्रह

असार २९, २०८२ | काठमाडौं
आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि ३२ खेलाडीलाई क्याम्पमा बोलाइएको छ ।
नेपाल क्रिकेट संघ क्यानले मोहमद आदिल आलमसहित ३२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । आदिल २०७९ मा भएको नेपाल टी–२० लिगका क्रममा स्पट फिक्सिङको आरोपमा प्रतिबन्धमा परेका थिए ।
त्यसपछि उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग गरिएका थिए । आदिल करिब ३ वर्ष पछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका हुन् ।
यस्तै स्कटल्याण्ड सिरिजका लागि टिममा नपरेका खेलाडी कुशल मल्ल र यु–१९ टोलीका स्टार युवराज खत्रीले प्रारम्भिक टोलीमा स्थान बनाउँदा, अभिनास बोहोराले भने ३२ सदस्यीय टोलीमा स्थान बनाउन सकेनन् । नेपालले आगामी अक्टोबरमा ओमानमा विश्वकपको एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोट खेल्दैछ ।
