नेपालले साफ यू–२० भुटानको सामना गर्दै

श्रावण ३, २०८२ | काठमाडौं
नेपालले साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो पाँचौं खेलमा आज भुटानको सामना गर्दैछ । बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनामा नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
डबल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको हो । नेपालले यसअघिको खेलमा गत शुक्रबार भुटानलाई ६–१ गोल अन्तरले हराएको थियो ।
नेपाल प्रतिद्वन्द्वी भुटानलाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । भुटान पनि नेपालको चुनौती पन्छ्याउँदै पहिलो खेलमा भोगेको हारको बदला लिने योजनामा हुनेछ । भुटानले भने हालसम्म नेपालसँग १ तथा बंगलादेशसँग २ खेलमा हार व्यहोर्दा श्रीलंकामाथि भने विजयी भएको थियो ।
प्रतियोगितामा बंगलादेश ४ खेलमा १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ । भुटान ३ अंकका साथ तेस्रो स्थानमा छ भने लगातार चार खेलमा पराजित श्रीलंका अंकविहीन हुँदै पुछारमा रहेको छ ।
प्रतियोगिताको अर्को खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकाको सामना गर्नेछ । प्रतियोगिताको अन्तिम दिन भने सबैभन्दा पहिले भुटान र श्रीलंका भिड्नेछन् । नेपालले अन्तिम खेलमा आगामी सोमबार बंगलादेशको सामना गर्नेछ ।
चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फम्र्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।