टी–२० विश्वकप एसिया छनोटमा नेपाल र युएई खेल्दै

आश्विन २६, २०८२ | काठमाडौं
आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा आज नेपाल र यूएई आमने सामने हुँदैछन् ।
चिर प्रतिद्वन्द्वीका रुपमा परिचित दुई टोलीको खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे हुने छ । ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने खेलमा नेपाल यूएईलाई हराउँदै विश्वकप खेल्ने सम्भावनालाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ ।
नेपाल समूह बी को विजेता बन्दै सुपर सिक्समा पुगेको हो भने यूएई समूह ए को विजेता भएर सुपर सिक्समा पुगेको हो । नेपालले पछिल्ला पाँच खेलमा यूएईलाई तीन पटक हराए पनि, पछिल्लो भेटमा भने यूएईसँग पराजित भएको थियो । सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउने भएकाले आजको खेल नेपाल र यूएई दुवैका लागि महत्वपूर्ण छ ।
सुपर सिक्समा नेपाल र यूएईसहित ओमानसँग समान २ अंक छ । सुपर सिक्सको अंक तालिकामा नेपाल नेट रनरेटमा भने अघि छ । नेपालले सुपर सिक्सको दोस्रो खेलमा भोलि कतारसँग खेल्ने छ । बुधबार ओमानसँग खेलेपछि सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्ने तालिका छ ।