एनपीएल क्रिकेटमा पश्चिम र पूर्वका दुई टिम आपसमा भिड्दै

रेडियो कान्तिपुर संवाददाता

मंसिर ८, २०८२ | काठमाडौं

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन् । सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै, पूर्वका दुई टोली जनकपुर बोल्ट्स र विराटनगर किंग्स पनि एकआपसमा भिड्दैछन् । हिजो एक दिनको विश्रामपछि आज एनपीएलमा दुई खेल हुन लागेको हो । पहिलो खेल पूर्वको समूह जनकपुर र विराटनगरबीच हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल १२ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा आज साविक विजेतासमेत रहेको जनकपुर पहिलो जितको खोजीमा मैदानमा उत्रिदैछ । जनकुपरले यसअघि उद्घाटन खेलमा काठमाण्डु गोर्खाजसँग हार व्यहोरेको थियो । विराटनगर भने लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाजविरुद्ध जित निकालेको थियो ।

अपरान्ह ४ बजेदेखि सुरु हुने दोस्रो खेलमा भने साविक उपविजेता सुदूरपश्चिमलाई कर्णाली याक्सले चुनौती प्रस्तुत गर्दैछ । प्रतियोगितामा अपराजित सुदूरपश्चिमले दुई खेलमा काठमाण्डु र पोखरालाई पराजित गरेको थियो । यसैबीच, प्रतियोगिताको १० खेल सम्पन्न भइसक्दा विराटनगर ४ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सुदूरपश्चिम समान दुई खेलमा समान ४ अंक बनाए पनि नेट रनको आधारमा पछाडि छ । कर्णाली याक्स पनि रन रेटकै आधारमा तेस्रो स्थानमा छ । कर्णालीपछि समान दुई अंक बनाए पनि रनरेटका आधारमा चितवन, काठमाण्डु र लुम्बिनी क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छ । हालसम्म अंकविहीन साविक विजेता जनकपुर सातौँ र पोखरा आठौँ स्थानमा छन् ।


प्रतिक्रिया