इङलिस फुटवलमा आर्सनलद्धारा टटनहम पराजित
मंसिर ८, २०८२ | लन्डन
इङ्लिस प्रिमियर लिग फुटवलको शीर्ष टोली आर्सनलले पछिल्लो खेलमा टटनहम हर्टसपरलाई पराजित गरेको छ । इब्रेची इजीले ह्याट्रिक गरेपछि आर्सनलले टटनहममाथि ४–१ को जित हात पारेको हो । लिन्द्रो ट्रोसार्डले ३६ औं मिनेटमा अग्रता दिलाएको खेलमा आर्सनलका लागि इजीले ४१, ४६ र ७६ औं मिनेटमा गोल गरेका थिए ।
टटनहमले भने ५५ औं मिनेटमा एक गोल फर्काएको थियो । जितपछि आर्सनलले अंकतालिकामा ६ अंकको अग्रता लिएको छ । १२ खेलबाट २९ अंक जोडेको आर्सनल पहिलो स्थानमा रहँदा २३ अंकसहित चेल्सी दोस्रो स्थानमा छ । आर्सनलसँग हारेको टटनहम भने नवौं स्थानमा छ । यसैबीच, गएरातिको अर्को खेलमा एस्टन भिल्लाले लिडस् युनाइटेडलाई २–१ ले पराजित गरेको छ । जितपछि एस्टन भिल्ला २१ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।










