एनपीएलमा विराटनगरको अपराजित यात्रा रोकियो, चितवनसँग ४८ रनले पराजित
मंसिर १०, २०८२ | काठमाडौं
नेपाल प्रिमियर लिगमा विराटनगर किङ्ग्सको अपराजित यात्रा रोकिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज चितवन राइनोजसँग ४८ रनले पराजित भएसँगै विराटनगरको अपराजित यात्रा रोकिएको हो ।
चितवनले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६ दशमलव ५ ओभरमा अल आउट हुँदै १ सय २६ रनमा समेटिएको हो । विराटनगरलाई सस्तैमा समेट्ने क्रममा चितवनका रञ्जित कुमारले २१ रन खर्चिएर ५ विकेट लिएका थिए । आजको खेलको नतिजापछि चितवनले ३ खेलबाट ४ अंक बनाएको छ भने बिराटनगरले ४ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । आजको खेलमा विराटनगरले पावर–प्लेमा सुरुवाती चार विकेट गुमाएपछि दबाबमा खेल्न बाध्य भएको थियो ।
आफ्नो इनिङ्ग्सको अन्त्यतिर विराटनगरका लागि प्रतिश जीसीले १२ बलमा ३० रन थपेका थिए । त्यसअघि सुरुवाती ब्याटिङ्ग गरेको चितवनले ५ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो ।
चितवनका लागि रवि बोपाराले ३८ बलमा सर्वाधिक ६५ रन जोडे । यस्तै, सैफ अली जैबले ३२ र देव खनालले २८ रन बनाउँदा, कप्तान कुशल मल्लले २० रन जोडेका थिए । आजको खेलको नतिजापछि चितवन तेस्रो स्थानमा उक्लिएको छ भने विराटनगर दोस्रो र काठमान्डु गोर्खाज चौथौ स्थानमा पुगेका छन् ।









