प्रदेश २ को आगामी आर्थिक बर्षको अनुमानित आय व्यय ३३ अर्ब ५६ करोड ९ लाख

असार १, २०७७ | जनकपुर

प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको लागि ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजारको बजेट आज सार्वजनिक गरेको छ । 

प्रदेश सभामा आज आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा चालु तर्फ१५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत र पुँजिगततर्फ १७ अर्ब ९८ करोड ८२ लाख अर्थात ५३ दशमलव ६७ प्रतिशत बजेट विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापन तर्फ १६ करोड छुट्याइएको छ ।

बजेट खर्च आन्तरिक स्रोत राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार र नेपाल सरकारबाट अनुदान १३ अर्ब ४० करोड ५९ हजार छुट्याइएको छ । प्रदेश सरकारको खर्च नभएर नगद मौजदात रहेको ६ अर्ब ९१ करोड २९ हजार रुपैयाँ बजेटमा समेटिएको छ ।

आर्थिक वर्ष ०७५/७६ को भुक्तानि हुन बाँकी बक्यौताका लागि सरकारले ८६ करोड ५० लाख, प्रदेश २ को ६४ निर्वाचन क्षेत्रमा नाला सहित २ लेनको ५ किलोमिटर सडक निर्माणका लागि ६७ करोड २० लाख रुपैयाँ बिनियोजन गरीएको छ ।

कोरोना रोकथामका लागि स्वीकृत कार्यक्रमको २ अर्ब रुपैयाँ मध्ये ३३ करोड रकम राहत बाँडेको प्रदेश सरकारले प्रादेशिक स्वास्थ्य प्रयोगशाला निर्माणको लागि ७० करोड २७ लाख विनियोजन गरेको छ । 

कोरोना महामारी रोकथामको लागि प्रादेशिक अस्पताल जनकपुरमा ४५ करोड ५३ लाखको लगानीमा स्तरउन्नत्ती गर्न विनियोजन गरिएको छ । यस्तै सप्तरीको भारदा अस्पतालाई स्तरउन्नती गर्न ६ करोड ८९ लाख र पर्सा पोखरिया अस्पताल ४ कारोड ४ लाख विनियोजन भएको छ । 


प्रतिक्रिया