कन्काईको बाढीले बाँध फुटायो, १०५ घर डुबानमा

श्रावण ६, २०७७ | बिर्तामोड

 लगातारको बर्षापछि कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिकास्थित जनताको तटबन्ध भत्काएको छ । तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गाउँपालिकाको दुइटा बस्ती डुबानमा पारेको छ ।

गाउँपालिकाको १ नम्बर स्थित मिलनबस्तीका ८३ घर र २ नम्बर वडास्थित सडकबारीका २२ घर डुबानमा परेका हुन् । सोमबार दिउँसोदेखि डुबानमा परेका एक सय ५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । मिलनबस्तीका ८३ परिवारलाई स्थानीय सितुमारी प्राथिमा तथा सडकबारीका २२ परिवारलाई स्थानीय लक्ष्मी प्राविमा राखिएको थियो । 

बस्तीमा पानीको मात्रा केही घटेकाले मिलनबस्तीका ६० परिवार भने मंगलबार बिहान घर फर्किएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिनुभयो । मिलनबस्तीका २१ परिवार भने घर फर्किन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

बाढीले कनकाई नदी किनारको ३ सय मिटर बाँध भत्काएको हो । पूर्व फर्खिएको नदीको बहाबले चार दिनदेखि लगातार कटान गरेको थियो । बाँध भत्काएर बस्तीतर्फ सोजिएको बाढीले करिब एक हजार बिघा धान खेती समेत डुबाएको छ । ‘बाढीले कटान सुरु गरेपछि हामीले तत्काल रोक्ने प्रयास गर्‍यौं । तर, त्यो सम्भव भएन’ २ नम्बरका वडाध्यक्ष नेत्रबहादुर खड्काले भन्नुभयो । 

सडकबारीका ५५ घर डुबानको उच्च जोखिममा छन् । भत्किएको बाँध तत्काल निर्माण गर्न नसके गाउँपालिकाको मिलनबस्ती, सडकबारी, सालमारा, लसुनगञ्जलगायतका बस्तीका सयौं घरपरिवार डुबानमा पर्ने अध्यक्ष साहले बताउनुभयो ।  


प्रतिक्रिया