पर्सामा ४३ जना थुनुवा सहित थप १ सय ४२ कोरोना संक्रमित

श्रावण २३, २०७७ | वीरगन्ज

नारायणी अस्पतालको प्रयोगशालमा बिहीबार राति गरिएको परीक्षणमा थप एक सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा हुन् । 

वीरगन्जका मेयर विजय कुमार सरावगीका परिवारका थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार २२ महिला सहित थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये वाराका तीनजना र रौतहटका चारजना संक्रमित हुन् । 

कन्ट्याक्ट ट्रेसिङको क्रममा २९ जना नयाँ संक्रमित थपिएका हुन् । आर्मी ब्यारेकका थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।

१ सय ४२ जना संक्रमित मध्ये २८ जना वीरगन्ज महानगरपालिका–२८ सिर्सिया खल्वा टोलाका हुन् । गत साउन १८ मा महानगरपालिकाले सो वडामा ‘मास ट्रेसिङ’ गरि स्वाब संकलन गरेको थियो । वीरगन्ज– १० अशोकवाटिकामा १० जना र आदर्शनगरमा थप ३ जनामा संक्रमण देखिएको छ । १० जना संक्रमित वीरगन्जको श्रीपुर र मर्लीका बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मनोजीत कुँवरले विभिन्न मितिमा प्रक्राउ परेका थुनुवा र प्रहरीको स्वाब संकलन गर्दा ४३ जना थुनवा र एकजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयमा मुद्दा प्रक्रिया अगाडि बढेपनि विभिन्न मितिमा प्रक्राउ गरिएका थुनुवाहरुमा संक्रमण नफैलिओस भनेर अलग्गै राखिएको थियो ।

‘संक्रमण नफैलिओस भनेर दुईवटा वडा प्रहरी कार्यालय र इनर्वा प्रहरी चौकीमा थुनुवाहरुलाई राखेका थियाँै,’ डीएसपी कुँवरले भन्नुभयो, ‘तर, उनीहरु बाहिरबाटै संक्रमित भएर आएका रहेछन् ।’  


प्रतिक्रिया