मिरुलको जंगलमा २ बोरा सकेट बम

फाल्गुन २८, २०७६ | रोल्पा

रोल्पाको थबाङ गाउँपालिकामा दुई बोरा सकेट बम फेला परेको छ । स्थानीय घाँसीले बुधबार थबाङ–३ मिरुलस्थित रापा जंगलमा बम फेला पारेका हुन् । बम फेला पारेपछि घाँसीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बम रहेको क्षेत्रलाई नियन्त्रणमा लिई सुरक्षित पारेको छ । 

घाँसीले विहान १० बजे नै बम फेला पारेको खबर गरेपछि सदरमुकामस्थित जिल्ला सुरक्षा समितिले बिहीबार बम निष्क्रिय पार्ने योजना बनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बम भएको क्षेत्रलाई प्रहरी नियन्त्रणमा लिइएको बताउनुभयो ।

स्थानीयले घाँस खोज्न वनमा गएका बेला शंकास्पद वस्तु देखेपनि त्यसबारे प्रहरीलाई खबर गरेका थिए । बम रहेको स्थानलाई त्यहाँबाट करीब १ सय मिटर टाढा रहेको मिरुल रानागाउँस्थित प्रहरी इकाईले नियन्त्रणमा लिएको छ ।

प्रनाउ गुरुङका अनुसार बम राखिएको बोरा निकै पुरानो र च्यातिएको जस्तो देखिएकाले तत्कालीन सशस्त्र द्वन्द्वका बेला विद्रोहीले बम राखेको हुन सक्ने अनुमान गरिएको छ । हाल बम राखिएको क्षेत्रको सुरक्षार्थ रानागाउँस्थित प्रहरी हवल्दार डम्बरबहादुर चलाउनेको नेतृत्वले गरिरहेको छ । 

उक्त क्षेत्रबाट थबाङ–३ मिरुलको वडा कार्यालय पनि नजिक छ । सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले बम फेला पारिएपछि सुरक्षा समितिको बैठक बसेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको थियो । 

समितिका अनुसार बम निष्किय पार्न रोल्पास्थित नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बिहीबार घटना स्थल पठाउने निर्णय भएको छ । सदरमुकाम लिबाङदेखि मिरुल करिब ५० किलोमिटर उत्तरमा पर्छ । शान्ति प्रक्रियापछि जिल्लाका विभिन्न स्थानमा बम, बारुद र हतियार भेटिएका छन् । यहींबाट सुरु भई करीब १० वर्ष चलेको माओवादी सशस्त्र द्वन्द्वका क्रममा विद्रोहीले व्यापक मात्रामा विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।


प्रतिक्रिया