सुनौलो भविष्य सहकारीको ६ करोड ५४ लाख हिनामिना

श्रावण ५, २०८२
लमजुङको बेंशिसहरस्थित सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थामा सञ्चालक समितिको मिलोमतोमा बचतकर्ताको ६ करोड ५४ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ । बेंशिसहरस्थित मनाङ चौतारी चोकमा मुख्य कार्यालयमा रहेको सो सहकारीका सञ्चालक समितिले नक्कली ऋणी बनाएर ऋण लगानी गरेको, सहकारी सञ्चालक समितिका पदाधिकारी र सदस्यले आँफैले कमसल धितो राखेर लिएको ऋण नतिरेका कारण सहकारी डुबेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले जनाएको छ ।
कार्यालय प्रमुख भेषराज रिजालका अनुसार सहकारीका अध्यक्ष ऋषिराम अधिकारी, सचिव सन्तोष बस्नेत, पूर्व अध्यक्ष पदम राउत, हरि प्रसाद पौडेल, किशोर बस्नेत लगायतको मिलोमतोमा रकम हिनामिना भएको छ । सो बारे सहकारी रजिष्ट्रारको कार्यालयले प्रहरीमा मुद्दा समेत दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर तेली साहले सहकारी कार्यालयले प्रहरीमा मुद्दा बुझाएको बताउँदै अनुसन्धान शुरु गर्ने बताउनुभयो । बेंशिसहरको विभिन्न स्थानमा व्यवसाय सञ्चालन गर्दै आएका भारतीय नागरिकले ऋण लिएर नतिरेर भागेपछि सहकारीलाई समस्या भएको हो ।