भण्डारीसँगको भेटका विषयमा अध्यक्ष ओलीको ब्रिफिङ

श्रावण ५, २०८२
एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँगको भेटका बारेमा ब्रिफिङ गर्नुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा आज प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले भेटका बारेमा बताउनुभएको हो । अध्यक्ष ओलीको भनाइ उद्यृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीकै आग्रहमा भेट भएको बताउनुभयो ।
छलफलका क्रममा पूर्व राष्ट्रपति भण्डारी र ओलीले दुबैको बीचमा केही पनि मतभेद नरहेको बताउनुभएको थियो । समसामयिक राजनीति, एमाले विरुद्ध लगाइएको निशाना र विधान अधिवेशन लगायत विषयमा छलफल भएको गौतमले जानकारी दिनुभयो ।
यसैबीच, नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकमा विधान संसोधन लगायत एजेन्डामा छलफल सुरु भएको एमालेले जनाएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिका विषय, सरकारको एक वर्ष तथा सचिवालय र पोलिटव्यूरो बैठकका निर्णय सुनाएसँगै बैठक सुरु भएको हो । बैठकमा महासचिव शंकर पोखरेलले साँगठनिक अवस्थाका बारेमा जानकारी गराउनुभएको छ । पार्टीको यसअघि बसेका बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइसकेको छ । एमालेले भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्दैछ ।