बाढीले क्षति पुयाएको भौतिक संरचनाको पुनर्निर्माणमा चीनले सरकारले सहयोग गर्ने

श्रावण ५, २०८२
रसुवागढी नाका क्षेत्रमा बाढीले क्षति पु¥याएको भौतिक संरचनाको पुनर्निर्माणमा चीनले सरकारले सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन सियाओदोङ्गले अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने बताउनुभएको हो । अर्थमन्त्रीको सचिवालयका अनुसार अध्यक्ष चेनले रसुवागढी भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने समेत जानकारी दिनुभएको थियो । अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाको पुनर्निर्माणप्रति देखाएको प्रतिबद्धताका लागि चिनियाँ पक्षप्रति आभार प्रकट गर्नुभएको थियो ।
यसैबीच, बाढीले क्षति गरेको १२ दिनपछि स्याफ्रुबेंसी–रसुवागढी सडक एकतर्फी सञ्चालनमा आएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले विभिन्न ठाउँमा कटान गर्दा स्याफ्रुबँेसी–रसुवागढी सडक बन्द भएको थियो । झन्डै एक किलोमिटर सडक बाढीले बगाएको थियो भने स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म १६ किलोमिटर सडकमा आवतजावत ठप्प भएको थियो । सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेका अनुसार साना सवारीसाधनको आवतजावत सुरु भएको छ । ठूला र मालवाहक सवारीसाधनका लागि दोस्रो चरणमा सडक सुधारको काम गरिने न्यौपानेले बताउनुभयो ।