रसुवा बाढीपछि करीब २९ करोड रुपैयाँको प्रारम्भिक बीमा दाबी

फाइल फोटोः बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेंसी–रसुवागढी सडक   

श्रावण ५, २०८२ | काठमाडौं

रसुवाको ल्हेन्दे खोलामा आएको बाढीका कारण भएको क्षति मध्ये करीब २९ करोड रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न सात बीमा कम्पनीमा २८ करोड ९२ लाख ६० हजार बराबरको प्रारम्भिक बीमा दाबी परेको छ । शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा पाँच करोड २० लाख बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख बराबरको सात वटा दाबी परेको प्राधिकरणले जनाएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीमा एक करोड २८ लाख बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ लाख बराबरको छ वटा बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कूल ६३ वटा बीमा दाबी परेको छ । रसुवाको ल्हेन्दे खोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी जलविद्युत् आयोजना लगायत अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।


प्रतिक्रिया