बाघको आक्रमणबाट रौतहटमा एक युवकको मृत्यु

रौतहटको चन्द्रपुर–६ चिम्निटोलका २७ वर्षीय संगम श्रेष्ठ बाघको आक्रमणमा परि मृत्यु भएपछि उनको शव खोज्न गएका सुरक्षाकर्मी र स्थानीय । तस्बिर : शिव पुरी/ रेडियो कान्तिपुर ।  

आश्विन १४, २०७७ | रौतहट

बाघको आक्रमणबाट रौतहटको चन्द्रपुर नगरपालिका–६ चिम्नि टोलका २७ वर्षीय संगम भण्डारीको मृत्यु भएको छ । मंगलबार साँझ साथीहरुसँग घाँस काट्न जंगल गएका भण्डारी त्यहीँ बेपत्ता भएका थिए । 

सुरक्षाकर्मी र स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा चारकोसे झाडी भित्र जंगलमा बाघले घिसार्दै गरेको अवस्थामा बुधबार उनको शव फेला पारेको हो । स्थानीय प्रविन श्रेष्ठ र अशोक थापासहित ४ जना घाँस काट्न दिउँसो जंगल गएका थिए । 

लमाह जंगलस्थित तुरतेरे धारा नजिक संगम अचानक हराएका थिए । त्यसपछि राति थापा र श्रेष्ठ सहित १४/१५ जना गाउँले खोज्न गएका थिए । संगम हराएकै स्थानमा खोज्न गएको टोलीमाथि राति करीब ९ बजे बाघले आक्रमण गरेको थियो । 

बाघको पन्जाले चिथोरेर प्रविन र अशोकको दुबै कान, छाती, गालामा चोट लागेको थयो । ‘हामी रुखमा चढेर ज्यान जोगाउन सफल भयौं, ’प्रविनले भने, ‘बाघको आँखामा एकोहोरो टर्च लाईट बालेर रुखमा चढेर बस्यौं । लामो समयपछि बाघ पछि हट्यो र हामी रुखबाट हाम फालेर भाग्यौं ।’ 

संगमलाई फेला पार्न नसकेपछि आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरीको वन रक्षक, साझेदारी वनको टोली र स्थानीय समेत करीब एक सयको सख्यामा खोज्न जंगल गएको थियो ।

राति गाउँलेमाथि आक्रमण गरेकै स्थानमा रगतका टाटा फेला पारेपछि पछ्याउँदै जाने क्रममा बाघले संगमलाई घिसार्दै लैजाँदै गरेको थियो । 

सुरक्षाकर्मी र गाउँलेको टोली होहल्ला गर्दै पिछा गरेपछि घट्नास्थलबाट झण्डै एक किलोमिटर उत्तर लमाह खोला नजिक लास छाडेर बाघ भागेको थियो । घिसार्ने क्रममा शरीरको मासुको टुक्रा यतातत्र छरिएको अवस्थामा फेला पारेको थियो । 

बाघले उनको देब्रे खुट्टा खाईसकेको थियो । लास गन्हाईसकेको थियो । राति आक्रमण गर्ने पाटे बाघ रहेको घाईते प्रविनले बताए ।


प्रतिक्रिया