बलात्कारी विरुद्ध कडा कानुन अपरिहार्य

आश्विन १२, २०७७ | काठमाडौं

बझाङको मस्टा गाउँपालिका २ की १२ वर्षीया बालिकाको शव अर्धनग्न अवस्थामा गत बुधबार सिममाडौं मन्दिरमा फेला परेको थियो । घटनामा संलग्न मस्टा २ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गर्‍यो । अनुसन्धानका क्रममा बोहराले गत साउन २६ मा खिकालाकै १४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनालाई गाउँमै गुपचुप पारियो । अपराध गुपचुप मिलाउँदा अर्को बलात्कार भएको प्रहरीले नै ठहर गरेको छ ।

बाराको सुवर्ण गाउँपालिका ५ ओरैया टोलकी १२ वर्षिया बालिकामाथि असोज १ गते २६ वर्षिय एक युवकले बलात्कार गरे ।

भदौ २९ गते सप्तरीको डाकनेश्वरी नगरपालिका ७ की १७ वर्षिया किशोरीको सामूहिक बलात्कार भयो । घटनापछि गाउँमा बसेको पञ्चायतले पीडित र उनको परिवारलाई प्रहरीमा नजान र ५५ हजार रुपैयां लिएर मिलापत्र गर्न दवाव दिएपछि किशोरीले आत्महत्या गरेकी थिइन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्याका दोषी अझै खुलेआम घुम्दैछन् ।

यी त पछिल्लो समय सार्वजनिक भएका घटना मात्र हुन् जसले जोकोहीको आङ सिरिङ पार्छ ।

प्रहरीको तथ्यांक अनुसार गत साउनमा मात्र १६ वर्ष मुनीका एक सय २९ जना बालिका बलात्कृत भएका छन् । नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार यी यस्ता घटनामा वद्धि भएको छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले साउनमा मात्र १६ वर्ष मुनीका एक सय २९ जना बालिका बलात्कृत भएको बताउनुभयो ।

बलात्कारीलाई मृत्युदण्डको बहस फेरि एक पटक सूरु भएको छ । प्रतिनिधिसभामा कांग्रेस सचेतक पुष्पा भुसालले निर्मला पन्तको बतात्कारपछि हत्या घटनापछि श्रृङखलाबद्ध रुपमा यस्ता घटना भएपनि पीडितले राज्यको अनुभूति गर्न नपाएको बताउनुभयो । १६ वर्ष मुनीका गरिब, दलित र दुरदराजका बालिकामाथि भएका यस्ता घटनाको संख्या घटाउन कडा कानुन बनाएर जानुपर्नेमा जोड दिनुभयो ।

बलात्कारका घटनामा जनप्रतिनिधि, समाज, परिवारले नै मिलापत्र गर्न खोज्दा बालिकाले आत्महत्या नै रोजेको घटना पनि सार्वजनिक भएका छन् । नेकपा सांसद विन्दा पाण्डे यस्ता घटनाले बढोत्तरी पाएको भन्दै सबै दलका महिला सांसदबीच छलफल गरेको बताउनुभयो ।

समाज जटिल अवस्थामा गएका बेला यस्ता घटनाले प्रश्रय पाउने गरेको मनोविज्ञहरुको भनाई । विश्व नै अहिले असामान्य अवस्थामा रहेकाले बालिकामाथि जघन्य अपराधका घटना भएको उनीहरुको भनाई छ । त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डाक्टर शिशिर सुब्बा समाजको वर्तमान अवस्थाले पनि यस्ता घटना बढेको बताउनुहुन्छ ।

आपराधिक घटनाका विषयमा ऐनहरु भए पनि राज्य कडा रुपमा प्रस्तुत हुन नसकेको आरोप लाग्ने गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ यस विषयलाई विषेश व्यवस्थाको पहल गर्ने बताउनुभयो ।

सरकारले समाज र पछिल्लो घटनाक्रमको सुक्ष्म विश्लेषण गर्दै नयाँ कानुन बनाउने वा संशोधन गर्ने क्रम पनि सुरु गरेको छ, जसको उदाहरण हो एसिड प्रहारको घटनालाई लिएर अध्यादेश आउनु । बालिका बलात्कारका दोषीलाई मृत्युदण्डसम्मको सजाय माग भएको छ । नेपालमा संगीन अपराधमा समेत मृत्युदण्डको सजायको व्यवस्था छैन । तर पनि बलात्कारी र बलात्कार जस्तो संगीन अपराध लुकाउन सहयोग गर्नेलाई अब भने हल्काफुल्का कानुनको सहायतामा कम सजाय सुनाएर समाजमा छाती फुलाएर हिड्ने वातावरण भने दिन हुन्न । नत्र भने कसैको कामबासनाको शिकार बन्दै अझै वर्षौसम्म हाम्रा कलिला बालिकाहरुले अनाहकमा ज्यान गुमाईरहनेछन् ।  


प्रतिक्रिया