कहिल्यै नसुध्रिने नेवानि

आश्विन २५, २०७७

बुढापाका भन्छन्– सबैलाई पुग्ने गरी भाग लगाउन परे सबैभन्दा लोभीलाई डाडू पन्यू थमाउनु । मालसामानको सुरक्षा गर्नुपरे चोरलाई ढुकुटीको चाबी सुम्पिनु । तर, ६ दशक लामो इतिहास बोकेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेवानि) मा भने दुबै थरीलाई जिम्मेवारी सुम्पिए पनि सुधारको कुनै सङ्केत देखिएको छैन । नानीदेखि लागेको बानी छुटाउन गाह्रो भएको छ नेवानिलाई ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गत वर्ष मन्त्रालयको नेतृत्व सम्हाले लगत्तै नेवानिको सुधारका लागि ५ सदस्यीय विज्ञहरुको कार्यदल गठन गरे । कार्यदलको नेतृत्वमा थिए पूर्वपर्यटन सचिव सुशील घिमिरे । 

झण्डै ३ महिना लगाएर कार्यदलले नेवानि सुधारका १३ वटा क्षेत्रमा ४६ पृष्ठ लामो सुझाव प्रतिवेदन बुझायो । सुझावका मुख्य बुँदा थिए नेवानिलाई स्वायत्त पार्नुपर्ने र त्यहाँ हुने नियुक्ति राजनीतिक निर्णय र भागबण्डामा नगरी खुला र प्रतिस्पर्धाका आधारमा हुनुपर्ने । 

यस्तो सुझाव दिएको ७ महिना नबित्दै कार्यदलका संयोजक घिमिरे स्वयं नेवानिको कार्यकारी अध्यक्षमा नियुक्त भए त्यो पनि बिना प्रतिस्पर्धा । गएको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेवानिको महाप्रबन्धकमा ४ वर्षका लागि प्रकाश पौडेललाई नियुक्त गर्‍यो । घिमिरे नेतृत्वको पाँच सदस्यीय कार्यदलका एक सदस्य हुन् पौडेल पनि ।

करनी र कथनीमा अन्तर देखिएको यो एकमात्र प्रतिनिधि घटना हैन । अझ नेवानिमा त यो नियमित प्रकृया नै भएको छ । निगम सुधारका लागि भन्दै कार्यदलहरु गठनको श्रृंखला मन्त्री फेरिए पिच्छे चल्छ । प्रतिवेदन पनि आउँछन् तर कार्यान्वयन मात्रै हुँदैनन् । त्यस कारण नेवानि सर्वाधिक घाटामा रहने संस्थाको सूचीमा अटाएको छ । जसको ऋण मात्रै ४६ अर्ब नाघिसकेको छ ।

सन् २००२ मा पूर्वमुख्य सचिव दामोदर प्रसाद गौतमको उच्चस्तरीय समितिले निगम सुधारका लागि विभिन्न बुँदामा सुझाव दिएपनि कार्यान्वयन भएन । त्यसयता हरेकजसो मन्त्रीले काम देखाउनका लागि निगम सुधारका लागि सुझाव दिन कार्यदल र समिति गठन त गर्छन् तर सुझावलाई पाखा लगाएर र थन्काएर आफ्नो दुनो सोझ्याउने काम गर्दै आएका छन् ।

घिमिरे नेतृत्वको कार्यदलले निगमको आन्तरिक किचलो र कलहलाई पनि सुधार गरेर लैजानुपर्ने सुझाव दिएको थियो । तर, सरकारले कार्यकारी अध्यक्ष भएको स्थानमा कार्यकारी अधिकारसहितको महाप्रबन्धक नियुक्त गरेर आन्तरिक किचलो र शक्ति संघर्षका लागि कुरुक्षेत्र निर्माण गरिदिएको छ । सुगतरत्न कंशाकार र पाइलट कुलबहादुर लिम्बुको शक्ति संघर्षबाट चुलिएको निगमभित्रको आन्तरिक किचलोको आगो आगामी दिनमा थप दन्किने निश्चित छ ।

दुई वर्ष अघिपछि स्थापना भएको नेपाल वायु सेवा निगम र थाइ एयरवेजको विकास र विस्तारको रफ्तार हेरियो भने पनि राष्ट्रिय ध्वजाबाहक निगम कसरी धरासायी हुँदैछ बुझ्न कठिन हुँदैन । निगमको आवश्यकता भन्दा पनि कमिसनका लागि जहाज किन्ने र विचौलिया छनोटमा रमाउने राजनीतिक नेतृत्व र त्यसैलाई पृष्ठपोषण गर्ने कर्मचारीतन्त्रको चेपुवामा नेवानि पिल्सिरहेको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा जहाज भएको नेवानिको अहिले ३ वटा जहाज मात्रै उड्छन् । आन्तरिकतर्फको स्थिति त झन् दयनीय छ । दुर्गमका ग्राहकलाई सेवा दिने अभिभार बोको निगमसँग २ वटा मात्रै ट्वीनअटर विमान छ । आन्तरिक उडानका लागि भन्दै २०७१ सालयता पटकपटक गरी ल्याइएका ६ वटा चिनियाँ जहाजमध्ये एउटा काम नलाग्ने भइसकेको छ । 

बाँकी ५ वटा पनि नउडाउने निर्णयमा निगम पुगिसकेको छ । त्यसको एउटै कारण भने ती जहाज उडाउँदा हुने वार्षिक ५० करोड सञ्चालन घाटा नै हो । यस्ता दीर्घ समस्याले थलिएको निगम सुधारका लागि आवश्यक छ त दृढ इच्छाशक्ति र अठोट । नसुध्रिने बानी परेको निगम व्यवस्थापन र अटेरी राजनीतिक नेतृत्वमा तत्काल परिवर्तन आउने सम्भावना नरहेकाले निकट भविष्यमै कुनै सुधारको अपेक्षा गर्नु भूल हुनेछ । 


प्रतिक्रिया