सुन्तला राष्ट्रिय फल, किसानको भने आफ्नै गुनासो

वैशाख ६, २०८१ | काठमाडौं

सुन्तलालाई सरकारले केही दिन अघि मात्र राष्ट्रिय फलको मान्यता दिएको छ । स्वदेशी उत्पादनलाई ब्राण्डिङ गर्ने उद्देश्यअनुसार राष्ट्रिय फल घोषणा गर्ने अन्तर्राष्ट्रिय अभ्यास अनुसार सुन्तलालाई सो मान्यता दिइएको हो ।

बजारको माग धान्न विदेशबाट सुन्तला ल्याउनुपर्ने बाध्यताका कारण बर्षेनी ठूलो रकम बाहिरिने गरेको सरकारी तथ्याङ्कले देखाउँछ । सुन्तला खेतीमा किसानको आकर्षण बढेपनि सरकारी निकायको पर्याप्त सहयोग नपाएको किसानले गुनासो गरेका छन् ।

गोरखा मनकामनाका सुन्तला किसान एवम् मनकामना मन्दिरका पूजारी समेत रहेका इन्सान थापाले यो वर्ष सुन्तला बेचेर झण्डै १९ लाख रुपैयाँ कमाएका छन् । थापाका अनुसार सरकारी निकायले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएपनि किसानलाई भने पर्याप्त मात्रामा आवश्यक ज्ञान सीप र प्रविधिक विषयमा जानकारी दिन सकेको छैन । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्दैमा किसानको अवस्था र उत्पादनमा परिवर्तन नआउने सो क्षेत्रका जानकारहरुको बुझाइ छ ।

सरकारी तथ्याङ्क अनुसार नेपालमा विभिन्न ७ प्रजातिका सुन्तला पाइन्छ । सामुन्द्रिक सतहबाट १ हजार ४ सय मिटरको उचाइको क्षेत्रमा फल्ने सुन्तला नेपालको ६६ जिल्लामा उत्पादन हुँदै आएको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालमा पछिल्लो तीनदशकको अवधिमा सुन्तला खेती गर्ने परिवारको सङ्ख्या र जमिनमा समेत वृद्धि हुँदै आएको छ ।

२०५८ को जनगणनामा २ लाख ६५ हजार सुन्तला कृषक रहेकोमा २०६८ मा २ लाख ८३ हजार हुँदै २०७८ को गणनासम्म आइपुग्दा ३ लाख ६३ हजार पुगेको छ । यस्तै सुन्तला खेती हुने जमिनको क्षेत्रफल भने यो अवधिमा झण्डै दोब्बरले बढेको छ ।

२०५८ मा ३ हजार २ सय हेक्टरमा रहेकोमा अहिले ६ हजार हेक्टरमा फैलिएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण बढिरहेका बेला सरकारले यसलाई राष्ट्रिय फलको मान्यता दिएको हो । सरकारले राष्ट्रिय फलको मान्यता दिएसँगै किसानहरुको अपेक्षा समेत बढेको छ ।


मुलुकका अधिकांश जिल्लामा सुन्तला उत्पादन हुने भएपनि बजारको माग धान्नका लागि विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । राष्ट्रिय फलफूल विकास केन्द्रको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा २३ करोड ८० हजार ८ सय ९७ किलो परिमाणमा ताजा तथा प्रशोधन गरिएको सुन्तला आयात भएको छ, जुन एक अर्ब २७ करोड रुपैयाँ मूल्य बराबरकोे हो ।

तर,सुन्तलाको निर्यात भने निकै न्यून छ । एकातिर देशभित्रै उत्पादित सुन्तला पर्याप्त भण्डारण गर्न नसक्दा किसानले क्षति भोग्दै आएका छन् भने उपभोक्ताले महङ्गो मूल्य तिरेर भारत र तेस्रो मुलुकबाट आयातित सुन्तला उपभोग गर्नुपर्ने अवस्था छ । सुन्तला भण्डारण गर्ने प्रक्रियालाई व्यवस्थित गर्न किसान र व्यापारीले नसक्दा उत्पादित सुुन्तला खेर जाने गरेको वरिष्ठ फलफूल वैज्ञानिक डा. उमेश आचार्यले बताए ।

हाल नेपालमा भदौ महिनादेखि फागुन महिनासम्म फल्ने विभिन्न प्रजातिका सुन्तलाको उत्पादन हुँदै आएको छ । तर सरकारी निकायको वेवास्ताका कारण प्रचारको अभावमा त्यसको विस्तार भने हुन सकेको छैन । स्वदेशी सुन्तलालाई भण्डारण गरेर राख्न सक्ने हो भने नेपालमा ९ महिना सम्म उपभोग गर्न सकिने कृषि क्षेत्रका अधिकारहरु बताउँछन् ।

विश्वका कतिपय देशमा विभिन्न फलफूललाई राष्ट्रिय फलको मान्यता दिने गरिएको छ । भारतले आँप, अफगानिस्तानले अनार, बंगलादेशले रुख कटहर, चीनले कीबीलाई राष्ट्रिय फलको मान्यता दिएका छन् । एक दर्जन बढी मुलुकले स्याउलाई राष्ट्रिय फल घोषणा गरेका छन् । विश्वमा सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने ब्राजिल हो भने चीन र भारत त्यसपछिको स्थानमा छन् ।   


प्रतिक्रिया