अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशका कृषकको प्रमुख बालीलाई बढी मूल्य

वैशाख ७, २०८१ | काठमाडौं

प्रमुख बालीहरू वर्षे धान, मकै, गहुँ र कोदोमा गण्डकी प्रदेशका कृषकले बढी मूल्य पाउने गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनले औल्याएको छ । सो कार्यालयले केही दिनअघि सार्वजनिक गरेको कृषि गणना अन्तर्गत सामुदायिक प्रतिवेदन अनुसार नेपालमा वर्षे धानको प्रतिक्विन्टल औसत मूल्य ३ हजार १ सय ११ रुपैयाँ रहेकोमा गण्डकीमा भने धानको मूल्य सबैभन्दा उच्च ३ हजार ८ सय ६५ रुपैयाँ छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयद्धारा बैशाख २ गते सार्वजनिक प्रतिवेदन अनुसार प्रदेशगत तुलनामा सबैभन्दा बढी गण्डकी प्रदेशमा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६५ रुपैयाँ रहेको छ । त्यस्तै दोस्रोमा वाग्मती प्रदेशका कृषकले प्रतिक्विन्टल ३ हजार ५ सय ५ रुपैयाँ पाउने गरेको तथ्याङ्कले देखाएको छ । तेस्रो नम्बरमा भने कर्णाली प्रदेशका किसानले ३ हजार ३ सय १८ रुपैयाँ प्रतिक्विन्टल धानको मूल्य पाउने गरेको कार्यालयको तथ्याङ्क छ ।

 त्यस्तै कोशी प्रदेशका कृषकले प्रतिक्विन्टल ३ हजार २ सय ९१ रुपैयाँ पाएका छन् भने लुम्बिनीका कृषकले प्रतिक्विन्टल २ हजार ८ सय ९५, रुपैयाँ धानको मुल्य पाउने गरेको सो कार्यलयले जनाएको छ । त्यस्तै सुदूरपश्चिमका कृषकले भने २ हजार ८ सय ११ रुपैयाँ पाएका छन् । साथै सबैभन्दा कम मधेश प्रदेशका कृषकले प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँ प्रतिक्विन्टल धानको मुल्य पाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । वर्षे बालिको मूल्यमा गण्डकी प्रदेश अग्र स्थानमा रहेपनि उत्पादकत्वमा भने सबैभन्दा अगाडि मधेश प्रदेश रहेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । 

वर्षे धानको राष्ट्रियस्तरको उत्पादकत्व ३४ दशमलव १ क्विन्टल प्रतिहेक्टर रहेकोमा मधेशमा धानको उत्पादकत्व ३७ दशमलव ३ क्विन्टल प्रतिहेक्टर रहेको सरकारी तथ्याङ्कले देखाएको हो । त्यस्तै कर्णाली प्रदेशको उत्पादकत्व ३० दशमलव ७ क्विन्टल प्रतिहेक्टर भएको पाइएको छ । के कारणले उत्पादकत्वमा भिन्नता देखिएको हो भन्ने प्रश्नमा कृषि विज्ञ डा.रामकृष्ण श्रेष्ठले पछिल्लो समय खेतीपातीको तरीकामा परिवर्तन भएसँगै तराईका अधिकांश ठाउँमा ठूला मेसिन लगाएर बाली लगाउने र कतिपय ठाउँमा धेरै समयसम्म बारी बाँझै राख्नु भएको बताए ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०७९ को वैशाख ६ गतेदेखि २०७९ जेठ १९ गतेसम्म ४५ दिन स्थलगत रुपमा कृषि गणना गरेको थियो । विभिन्न स्थानीय तहका ६ हजार ३६ वडाबाट विवरण सङ्कलन गरिएको कार्यालयको भनाई छ । तथ्याङ्क सङ्कलनबारे राष्ट्रिय तथाङ्क कार्यलयका उप–प्रमुख एवम् प्रवक्ता डा. हेमराज रेग्मीका अनुसार देशभरीका सबै पालिकाहरुका वडाहरुमा पुगेर सामुदायिक प्रश्नावली तयार पारेको र समुदायमा भएका कृषिसँग सम्बन्धीत विषयहरु सङ्कलन गरेर छानियका कृषक परीवार करिब ३ लाख २५ हजारको घर घरमा पुगेर विवरण तयार पारि तथ्याङ्क सार्वजनिक गरिएको हो ।

यी पक्षहरुको विश्लेषणका आधारमा हेर्दा मकैमा पनि गण्डकी प्रदेशका कृषकले राम्रो मूल्य पाएका छन् । नेपालमा वर्षे मकैको प्रतिक्विन्टल औसत मूल्य २ हजार ३ सय ६५ रुपैयाँ रहेको सो क्षेत्रका जानकारको भनाई छ । प्रदेशगत तुलना गर्दा मकैको सबैभन्दा बढी मूल्य गण्डकीमा २ हजार ४ सय ४३ रुपैयाँमा रहेको सरकारी तथ्याङ्कले प्रष्ट्याएको छ । सबैभन्दा कम भने सुदूरपश्चिममा प्रतिक्विन्टल २ हजार २ सय ४६ रुपैयाँ रहेको जनाएको छ । 

त्यस्तै मकैको उत्पादकत्वको तुलनामा मधेश प्रदेश सबैभन्दा अगाडि र गण्डकी प्रदेश पछाडि छ । त्यस्तै गहुँको औसत मूल्य भने प्रतिक्विन्टल ३ हजार ८ सय ९६ रुपैयाँ मधेशका किसानले पाएका छन् । अन्य बालिको तुलनामा गहुँको उत्पादकत्वमा मधेश प्रदेश अग्र स्थानमा रहेको छ । त्यसैगरी कोदोमा पनि गण्डकीकै कृषकले बढी मूल्य पाएको सरकारी तथ्याङ्कले देखाएको हो । मन्त्रालयको प्रतिवेदन अनुसार कोदोको प्रतिक्विन्टल औसत मूल्य ४ हजार ३ सय ३ रुपैयाँ रहेकोमा गण्डकीमा ४ हजार ७ सय ५३ रुपैयाँ तोकिएको छ । गण्डकीमा किसानले पाएको मूल्य र बालीनाली राम्रो हुनुमा प्रदेश सरकारको ठूलो भूमीका हुने गण्डकी प्रदेश कृषि विकास निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मी बताउँछन् ।

गण्डकीमा जस्तै अन्य प्रदेशमा बालीनाली राम्रो नहुनु र कृषकले राम्रो मूल्य नपाउनुमा कृषि कार्यकालागी दक्ष कामदारको अभाव मुख्य कारण ठानिएको छ । पछिल्लो ३ वर्षयता कृषि कामदार घटेको र मधेस प्रदेशका धेरैजसो ठाउँमा कृषिजन्य कार्यमा खटिनेहरूको संख्यामा कमी आएको बताइन्छ । विवरण सङ्कलनका क्रममा मधेस प्रदेशमा गणना गरिएका २ हजार ४ सय १७ वडामध्ये ६२ प्रतिशत अर्थात् ७ सय १३ वडामा कृषि कामदारको अभाव देखिएको पाईएको हो । नेपालको प्रमुख उत्पादित बालीमध्ये सबैभन्दा धेरै धान खेती हुने गरेको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यलयले गण्ना गरेको वडाहरुमध्ये सबैभन्दा बढी ४ हजार १ सय ७३ वडामा प्रमुख बालीको रुपमा धान खेती हुने गरेको छ । त्यसैगरी दोस्रो प्रमुख बालीका रुपमा १ हजार ३ सय ६० वडामा मकै खेति गर्ने गरेको पाईएको हो । प्रमुख बालीको रुपमा गहुँ खेती गर्नेमा भने २ सय १९ वडा रहेको सरककारी तथ्याङ्कले देखाएको छ । त्यसैगरी कोदोलाई प्रमुख खेती लगाउने १ सय १९ वडा रहेका छन् । फापर भने १५ वडामा प्रमुख बालीको रूपमा खेती गर्ने गरेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया