नेपाली फुटबल फर्कियो, खेलाडीको फर्म फर्काउन बाँकी

मंसिर २, २०७७ | काठमाडौं

खेलकुदमा एउटा ब्रम्हवाक्य छ– जितले सबै कमजोर पक्षको पनि ढाकछोप गर्छ । र, हारले सबै उदाङ्गो पारिदिन्छ । विश्वकप २०२२ को छनोटको तयारी स्वरुप बंगलादेशसँग मैत्रीपूर्ण म्याच खेलेको नेपाली फुटबल टोलीको कमजोरी पनि ढाकामा यसपटक छताछुल्ल भयो । कोरोना महामारीका कारण ८ महिनासम्म घरमै रहेका खेलाडीहरु मैदान त फर्किए तर खेलको स्तर फर्किएन । भन्नलाई त कोरोना महामारीले गर्दा खेलाडीको स्तर खस्कियो भन्न सकिएला तर बंगलादेश पनि महामारीको चपेटामा नेपालभन्दा बढी नै परेको थियो । 

बंगलादेशी खेलाडीलाई कोरोना प्रभाव नपर्ने र नेपाली खेलाडीलाई मात्रै पर्ने भन्ने नहोला । आधुनिक फुटबलमा कुनै एक खेलाडीको उपस्थिति र अनुपस्थितिले खासै असर नगर्ने हुँदा अनुभवी खेलाडीको अनुपस्थितिलाई हारको दोष लगाउने ठाउँमा पनि नेपाल छैन । पहिलो मैत्रीपूूर्ण खेलमा नेपालले मिडफिल्डमा बल नै खेलाउन सकेन । आफ्नो खेल र मुभ बनाउन चुकेको नेपालले बंगलादेशलाई उसको मुभमा पनि बाधा खडा गर्न सकेन ।

जोनल मार्किङमा चुकेका नेपाली खेलाडीहरु त्यसमा पनि डिफेण्डरहरु नराम्ररी बिट हुन पुगे । डिफेन्समा अन्नत तामाङ र अजित भण्डारीको जोडी जम्न सकेन । लेफ्टमा खेल्दै आएका अजितलाई राइटबाट खेलाउनु पनि राम्रो च्वाईस भएन । ४–२–३–१ को खेल शैलीलाई ढाकामा उतारेको नेपाली टोलीले के बिर्सियो भने वान फर्वाड राखेर खेल्दा मिडफिल्डमा बढी दबाब हुन्छ र नेपाली मिडफिल्डले त्यो दबाब झेल्न सकेन ।

त्यसो त प्रशिक्षक बालगोपाल महर्जनले पनि झण्डै २ वर्षपछि राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका हुन् । साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई हेरेयता उनी सिनियर टोलीको जिम्मेवारीमा थिएनन् । उता, नेपाली टोली पनि १ वर्षपछि अन्तर्राष्ट्रिय म्याच खेलेको हो । गत नोभेम्बरमा भुटानमा कुवेतविरुद्ध उत्रिएयता नेपाली टोलीले पनि आफ्नो परीक्षण गर्न पाएको थिएन । 

त्यसैले आफूसँग उपलब्ध प्रतिभावान खेलाडी चिन्नमा पनि महर्जनले ढिलो गरे । जसको प्रभाव दोस्रो खेलमा देखियो । अघिल्लो सेटका ५ खेलाडी परिवर्तन गरेपछि नेपालले मंगलबार पहिलो हाफबाटै आक्रमणको शुरुवात गरेको थियो । पहिलो खेलमा निरीह देखिएको नेपाली टोली मंगलबार भने उच्च मनोबलसाथ मैदान ओर्लिएको थियो । पहिलो म्याचमा शुरुबाटै डिफेन्सिभ खेल पस्किंदा बल पोसेसन पनि नेपालको कमजोर रह्यो । दोस्रोमा बल पोसेसनसँगै मिडफिल्डमा होल्ड गर्न पनि टोली सक्षम भयो । 

तर, त्यतिले मात्रै नेपाललाई सिरिज जोगाउन पर्याप्त भएन । यो सिरिजमा उदाङ्गिएको कमजोर पक्ष सुधार्ने र सबल पक्षलाई तिखार्ने काम भएमात्रै नेपालले ५ वर्षपछि बंगलदोशसँग पराजित भएको क्षणको बदला लिनसक्छ । किनभने खेलाडीलाई मैदाज फर्काउन सफल भएपनि यो सिरिज खेलाडीको फर्म फर्काउन सफल भएन । 


प्रतिक्रिया