संक्रमणका बीच विद्यालय सञ्चालन गर्ने सरकारको तयारी चुनौतीपूर्ण

मंसिर ७, २०७७ | काठमाडौं

कोरोना संक्रमणका कारण चैत्र ११ गते देखि बन्द रहेका विद्यालय पुन: सञ्चालनका लागि सरकारले कार्यढाँचा जारी गरेको छ । संक्रमणको रोकथामका लागि बन्द रहेका तथा क्वारेन्टिन वा आइसोलेशनका रुपमा प्रयोग भएका विद्यालयको प्रक्रियागत विषयमा प्रष्ट मार्ग निर्देश गर्न कार्यढाँचा जारी गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उल्लेख गरेको छ । 

कार्यढाँचा जारी भएसंगै निजी विद्यालयले जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्डको परिधिभित्र रहेर सञ्चालन गर्न सक्ने नसक्ने विषयमा विभिन्न सरोकारवाला निकायसंग छलफल अघि बढाइसकेका छन् । विद्यार्थीको स्वास्थ्य पहिलो प्राथमिकतामा रहने भन्दै कोरोनाको अवस्था हेरेर मात्र विद्यालय सञ्चालन गर्ने निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल प्याव्सनका अध्यक्ष टीकाराम पुरीको भनाई छ ।

कोरोना संक्रमणका कारण स्थगित शैक्षिक क्रियाकलाप सञ्चालनका लागि भन्दै मन्त्रालयले असारयता मात्र २ वटा निर्देशिका र एउटा कार्यढाँचा जारी गरिसकेको छ । कोरोना संक्रमणको शुरुवाती चरणमा छिटफुट संक्रमित देखिंदा माध्यमिक शिक्षा परीक्षा समेत स्थगित गरेर सम्पूर्ण विद्यालय, तालिम केन्द्र बन्द गर्‍यो तर अहिले कोरोना संक्रमण र मृत्युदर उच्च भएका बेला भने स्थानीय तहको समन्वयमा विद्यालय खुलाउने सरकारको तयारी अपरिपक्व रहेको सरोकारवालाहरुको भनाई छ । अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी ।विद्यालय पुन: सञ्चालनका लागि सरकारले पर्याप्त तयार र छलफल नै नगरेको दाबी गर्नुहुन्छ ।

२०७७ असोज २२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयमा कोभिड–१९ को जोखिम नभएका र जोखिम कम हुँदै जाने स्थानीय तहमा भौतिक दुरी कायम हुने गरी उपयुक्त मोडालिटी अपनाई विद्यालय पठनपाठन सञ्चालन गर्न गराउन सैद्धान्तिक स्वीकृति दिइएको छ भन्ने उल्लेख छ । स्थानीय तहले कोरोना संक्रमणको अवस्था हेरेर अनुमतिको सञ्चालन दिनेछन् । अथवा विद्यालय पुन: सञ्चालनको अधिकार स्थानीय तहलाई दिइएको छ । विद्यालयले वैकल्पिक सिकाई विधि र प्रत्यक्ष उपस्थितिमा कक्षाकोठामा पठनपाठन गराउने दुबै विधिलाई समानान्तर रुपमा अघि बढाउनु पर्ने शिक्षाविद विद्यानाथ कोइरालाको भनाई छ ।

कार्यढांचामा विद्यालय सञ्चालन पुर्वतयारी, विद्यालय सञ्चालनका अवधिमा गर्नुपर्ने कार्यहरु लगायतका मार्ग निर्देशनहरु समेटिएका छन् । कार्यढाँचा अनुसार पठनपाठन सुरु भए कति सुरक्षित हुन्छन् त विद्यार्थीहरु ? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा मूलुकभरका विद्यालय खुलाउने कार्यढाँचाको उद्धेश्य नभएको जीकिर गर्नुहुन्छ । संक्रमण कम भएका पालिकामा खुलाउँदै लैजाने र संक्रमण देखिए फेरि बन्द गर्न सकिने उहाँको भनाई छ ।

मेयरहरु संक्रमण नियन्त्रणका लागि पुन: लकडाउनको पक्षमा उभिएपछि काठमाडौं उपत्यकाका विद्यालयहरु तत्काल सञ्चालनको अवस्थामा छैनन् । तर उपत्यका बाहिरका अधिकांश जिल्लामा विद्यालय सञ्चालनको तयारी तीब्र छ । संक्रमण कम भएको भन्दै सञ्चालनमा आएको हुम्लाको नाम्खा गाउँपालिकास्थित महाबौद्ध विद्यालयका ३२ जना विद्यार्थीमा एकै पटक कोरोना संक्रमण देखिएपछि महामारीका बीच विद्यालय सञ्चालन कत्ति अनुपयुक्त रहेछ भन्ने प्रष्ट हुन्छ । 

कोरोना महामारीबाट बच्ने उपाय अवलम्बन गर्न नजान्ने बालबालिकालाई विद्यालयको ढोका खोलिदिएर संक्रमणको भुमरीमा हाल्नु भन्दा अहिले जारी वैकल्पिक शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाउनु महामारी नियन्त्रणका लागि उपयुक्त कदम हुन सक्छ । हैन भने महामारीको जोखिममा रहेका बालबालिकाले बोकेर संक्रमण घरघरमा नपुर्‍याउलान भन्न सकिन्न । 


प्रतिक्रिया