प्रधानमन्त्रीलाई खुलापत्र

पुस २१, २०७७ | काठमाडौं

आदरणीय प्रधानमन्त्रीज्यू नमस्कार,

पछिल्ला दिनमा राजनीतिक भेटघाट र भाषणबाजीको कार्यक्रममा यहाँको चटारो र सक्रियताले यहाँ पूर्ण स्वस्थ हुनुहुन्छ भन्ने लख काट्न सजिलो भएकाले स्वास्थ्य अवस्था जान्ने चेष्टा गरिन । बरु, देशलाई पो सञ्चो छैन र त्यसको कारक कुनै न कुनै कोणबाट यहाँ हुनुहुन्छ । राष्ट्रवादी नेताको छवि र आफ्ना कार्यकर्ताहरुका ‘बा’ को आलोकमा यहाँले संसदीय निर्वाचन अघि बनाउनु भएको राजनेताको छवि धुलिसात भएको देख्दा मलाई औधी दु:ख लागेको छ ।

चुनावअघि डडेल्धुराको सभापछि यहाँसँग झण्डै पौने घण्टा सामूहिक भेटघाट गर्ने अवसर जुरेको थियो । त्यतिबेला यहाँले सुनाउनु भएको आफ्नै कथा मलाई कुनै तिलस्मी पात्रको भन्दा कम लागेको थिएन । 

झापामा जिउँदै गाढ्न भनेर खाल्डो खनिसक्दा एक जना प्रहरी जवानको मनमा पलाएको दयाले जीवनदान पाउनु भएको प्रसङ्ग, मिर्गौला फेरेर बोनसको जिन्दगी बाँचेको र त्यसलाई देश र जनताका नाममा समर्पित गर्ने यहाँको दृढ सङ्कल्पका साथै साउदीका राजकुमारको पुस्तकमा उल्लेख भएको चितुवा र मृगको उदाहरण सुन्दा त्यहाँ रहेका पत्रकारहरुसँगै म पनि यहाँकै विचार र कर्मका कारण मुलुकको मुहार फेरिने स्वैरकल्पनामा उडेको थिए ।

सगरमाथा भन्दा पनि अग्लो कल्पित प्रख्यातिको शिखरबाट तपाईं यति चाँडै धरातलीय यथार्थमा बजारिनु होला भन्ने अनुमान शायदै कसैले गरेको थियो । तपाईं त बिस्तारै उठ्नु भयो तर, देश नराम्ररी थलिएको छ प्रधानमन्त्रीज्यू । देश थलिएका बेला नागरिकको मन र मस्तिस्क दुबै क्लान्त छ ।

प्रधानमन्त्रीज्यू,

यहाँले जुन सपना बाँड्नु भयो त्यो तपाईंको नितान्त निजी र स्वकीय थियो । रेल, पानी जहाज, घरघरमा पाइपलाइनको ग्यास लगायत सपना जनताका थिएनन् । ती त यहाँका मन बहलाउने नारा मात्रै थिए । नेपाल र नेपालीका प्राथमिकता किन तपाईंको नजरमा परेन् प्रधानमन्त्रीज्यू ? नागरिकको प्राथमिकता र पहूँच समेत बोध नगर्ने व्यक्ति कसरी राजनेता र भविष्यद्रष्टा हुनसक्ला र प्रधानमन्त्रीज्यू ? जनताले झण्डै दुई तिहाइ मत दिएर सुम्पिएको बोधगम्य अभिभारा बोक्न र निर्वाह गर्न नसक्दा तपाईं त बरु क्षणिक मनोरञ्जनमा रम्नु भयो होला तर मुलुकका लागि दारुण प्रतीत भयो ।

अवस्था कतिसम्म बिग्रिएको छ भने मुलुकको हालखबर जान्न र बुझ्न हैन हँस्सीमजाकका लागि नागरिक यहाँको भाषण सुन्छन् । तपाईंका उडन्ते र हावादारी तर्कमा कार्यकर्ताले त ताली ठोक्लान् तर नागरिकले पुर्पुरो ठोक्नु पर्ने बेला आइसकेको यहाँले कहिले बुझ्नु हुन्छ प्रधानमन्त्रीज्यू ? उखान टुक्का र कथा हाल्न यहाँलाई कसैले जित्दैन । त्यसैले आज म पनि यहाँलाई एउटा कथा सुनाउँछु । 

कथा महाभारतको हो । वानप्रस्थाश्रममा गएका धृतराष्ट्र, गान्धारी, कुन्ती र विदुरले युधिष्ठिरलाई भनेर आफ्नै पारामा बस्ने अनुमति माग्छन् । वनमा उनीहरु अरुको सहाराबिना बस्न थालेपछि धृतराष्ट्रले गान्धारीलाई आँखामा बाँधेको पट्टटी खोल्नका लागि राजी गराउँछन पनि । तर, लामो समयसम्म पट्टी बाँधेकी गान्धारीले पट्टी खोल्ना पनि २ दिनसम्म केही पनि राम्ररी देख्दिनन् । बिस्तारै उनको आँखाको ज्योति आउँछ । तर, त्यसको २ दिनपछि नै उनीहरु वनमा सल्केको डढेलोमा परेर ज्यान गुमाउँछन् ।

प्रधानमन्त्रीज्यू,

छँदा खाँदाको जननिर्वाचित प्रतिनिधिसभा भंग गरेको कार्यलाई एकदम मनासिब हो भनेर यहाँलाई उचाल्नेहरु बालुवाटार बाहिर पनि उत्तिकै होलान् । तर, तिनले तपाईंको आँखामा बाँधेका पट्टी खोल्न जति अबेर गर्नुहुन्छ त्यति नै यहाँले त्यसपछि दृश्य देख्नका लागि बढी संघर्ष गर्नुपर्ने हुन्छ । 

देश फेरि अर्को संघर्षका लागि शायदै तयार होला । राजनीति सम्भावनाहरुको खेल हो । त्यही सम्भावना पहिल्याउने काममा यहाँलाई सफलता मिलोस् भन्ने कामना छ । इतिहासले दिएको उर्वर र सम्यक् अवसरलाई सदुपयोग गर्नबाट वञ्चित नेताको रुपमा यहाँ अभिलिखित हुन नपरोस् भन्ने सबैको चाहना हो । किनकी जुन अवसर यहाँलाई प्राप्त थियो त्यो अब बिरलै अरुले पाउलान् । तपाईं एक व्यक्तिको रुपमा असफल हुने छुट छ तर झण्डै दुई तिहाइ मत पाएर बनेको प्रधानमन्त्री असफल हुन पाउँदैन । 

अझ, संविधान, लोकतान्त्रिक मूल्य र मान्यतालाई तिलाञ्जली दिंदै एक्लो बृहस्पति भएर त हिँड्न पाउँदै पाउँदैन । भनिन्छ अज्ञानता परम आनन्द हो । तर, देशका प्रधानमन्त्रीलाई अज्ञानता पटक्कै सुहाएको छैन र, सुहाउँदैन पनि । राजनीतिक नेतृत्वमा दर्शन भएन भने नागरिक सामू नाश हुने शिवाय अर्थोक केही हुँदैन । 

हामी अहिल्यै नाश हुन चाहन्नौं प्रधानमन्त्रीज्यू । तपाईं र देश दुबैको भलो देख्न चाहने, उही पवन आचार्य । 


प्रतिक्रिया