सत्तारोहणमा देउवाको अनिच्छा !

वैशाख ३१, २०७८ | काठमाडौं

वरिष्ठ नेता रामचन्द्र पौडेलको बारम्बारको दवावपछि गत चैत २१ गते बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गर्‍यो । बैठकको निर्णयपछि पनि सभापति देउवा भन्दै थिए– ‘कम्युनिष्टहरुको भर छैन । माधव नेपालहरु कुनै पनि दिन ओलीसँग मिल्न सक्छन् ।’

बैशाख १९ गते प्रधानमन्त्री ओलीले अचानक संसदमा विश्वासको मत लिने निर्णय गर्दै २७ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिश गरे । माओवादी केन्द्रले त्यसको २ दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्‍यो र बैकल्पिक सरकार गठनको तयारी थालियो । त्यसमा दरो साथ एमालेका नेपाल र झलनाथ खनाल समूहको रह्यो । कतिसम्म भने आवश्यक परे विश्वासको मतका लागि संसद अधिवेन बस्नु अगावै आफू निकटका सांसदहरुको राजीनामा गराउने आश्वासन पनि नेपाल समूहले दियो ।

विवश्वासको मतलाई लिएर जनता समाजवादी पार्टीमा स्पष्ट २ धार भयो । काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन महन्थ ठाकुरलाई बारम्बार आग्रह गरे । तर, ठाकुरले तटस्थ बस्ने अडान लिए र त्यसमा टसको मस भएनन् । कुनै समय एउटै पार्टीमा बसेर काम गरेका देउवाले ठाकुरको अडानको अर्थ र त्यसका लागि उनलाई मिलेको आड भरोसा नबुझ्ने कुरै भएन ।

प्रधानमन्त्री ओलीलाई झण्डै दुई तिहाईको मतबाट ९३ मा झार्न विपक्षी मोर्चा सफल भएपनि ठाकुर समूहलाई आफूतिर उभ्याउन असफल भयो । यस्तोमा एमालेकै असन्तुष्ट समूहको राजीनामा नभइ नयाँ सरकार गठनको बाटो लगभग बन्द भइसकेको थियो । बहुमतको सरकार गठनका लागि सघाउन गरेको आग्रह ठाकुरले स्पष्ट शब्दमै अस्विकार गरेपछि देउवा तिलमिलाउनु स्वभाविक थियो ।

ठाकुर तिनै नेता हुन् जसलाई गएको निर्वाचनमा जिताउन देउवाले महोत्तरी क्षेत्र नं ३ मा काँग्रेसका लोकप्रिय नेता बजरंग नेपालीलाई टिकट दिएनन् । काँग्रेसका पुराना नेता गणेशचन्द्र नेपालीका छोरा बजरंगलाई टिकट नदिएकोमा देउवाले आलोचना पनि सहन पर्‍यो ।

मधेशको माग सम्बोधन गर्नका लागि संविधान संशोधनको माग राख्दै आएका ठाकुरले यो पनि बिर्से कि देउवा प्रधानमन्त्री भएका बेला संसदमा संविधान संशोधनको प्रस्ताव लैजाँदा २०७४ भदौ ५ गते एमाले, राप्रपा, नेमकिपा र राष्ट्रिय जनमोर्चा विपक्षमा उभिंदा संशोधन प्रस्ताव फेल भएको थियो ।

ठाकुरले बहुमतीय सरकार निर्माणमा सघाउन नसकिने सङ्केत दिइसकेपछि देउवाले आफू निकटका नेताहरुलाई ‘अब बहुमत भ्यागुताको धार्नीजस्तै हुने भयो’ भन्न थालिसकेका थिए । भारतीय जनता पार्टीका प्रभावशाली नेता सुब्रहमण्यम स्वामीले नेपालका प्रधानमन्त्री ओलीले संसदबाट बहुमत गुमाएको भोलिपल्टै ‘ओली भारतको छनौट थिए । प्रचण्ड प्रधानमन्त्री भएको भए चीनले जित्थ्यो’ भनी ट्वीट गरे । महन्थ ठाकुरले तटस्थताको नीति पनि त्यसैको परिणाम भएको सुब्रहमण्यमको कथन थियो ।

नेपाली राजनीतिमा छिमेकीको चलखेलको अर्थ कति शक्तिशाली र महत्वपूर्ण हुन्छ भन्ने कुरो देउवा जत्तिको नेताले नबुझ्ने कुरै भएन । आगामी भदौमा पार्टीको महाधिवेशन गर्न नसके काँग्रेसको अस्तित्व रक्षा गर्न नसकिने र त्यसका लागि संविधानको धारा २ सय ६९ को राजनीतिक दल सम्बन्धी व्यवस्था नै संशोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि सिंगो एमालेसहित अन्य दलको पनि समर्थन जुटाउन पर्ने बाध्यताबारे देउवा बेखबर थिएनन् नै । त्यसैले पनि सिंहदरबारभन्दा सानेपातिरै देउवाको जोड रह्यो । पार्टीलाई गएको निर्वाचनमा ६३ सिटमा खुम्च्याएको भन्ने आरोप खेप्दा खेप्दा हत्तु देउवा १२ औं महाधिवेशनमा सभापतिमा निर्वाचित भइ आगामी निर्वाचनमा काँग्रेसलाई ठूलो पार्टी बनाउने योजनामा छन् । यसका लागि प्रतिपक्षमा रहनु जत्तिको फाइदाजनक अवस्था कहिल्यै नरहने कुरा उनले बैशाख २७ गते प्रतिनिधिसभामा सरकारका विरुद्ध प्रहार गरेको धाराप्रवाह वचनवाण नै ज्वलन्त उदाहरण हो ।

कोरोना महामारी नियन्त्रणमा सरकारको लाचारीलाई प्रशासनिक र राजनीतिक रुपमा सरकारको असफलताका रुपमा भजाएर चुनावमा जनमत तान्न सकिने सजिलो उपाय छाडेर भारतले नरुचाएका पुष्पकमल दाहाल र उपेन्द्र यादवको फेरो समातेकै भरमा सत्ताको वैतरणी तरिन्न भन्नेमा देउवा ढुक्क थिए । त्यसैले अविश्वासको प्रस्ताव दर्ता गराउन एमालेको नेपाल– खनाल समूहको उक्साहट र माओवादी केन्द्र अनि उपेन्द्र यादवको भरोसामा पनि देउवा विश्वस्त हुन सकेनन् । उनी भन्थे–‘ बहुमत नै पुग्दैन । कहाँबाट अविश्वासको प्रस्ताव ल्याउने ?’

नत्र आफू प्रधानमन्त्री भएका बेला एमालेको सहयोग बिना तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग पारित हुन्न भन्ने थाहा हुँदाहुँदै प्रस्ताव दर्ता गराउन हड्बडाएका देउवा यसपटक एमालेको एउटा खेमाको सहयोगमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन इच्छुक देखिएनन् । सरकार निर्माणको खेलमा आफू कच्चा खेलाडी नबने देउवाको मनशाय थियो त्यो । नत्र त ज्योतिषीले नै ७ चोटि प्रधानमन्त्री हुन्छस् भनेका छन् भनेर २०७४ कार्तिकमा धनगढीको पत्रकार सम्मेलनमा कुर्लिने देउवा यसपटक त्यति सक्रिय देखिएनन् । सरकार निर्माणमा दौडधुप गर्नुको साटो त्यस सम्बन्धमा भएका सबै छलफललाई बुढानिलकण्ठस्थित आफ्नै निवासको कम्पाउण्डभित्र सीमित गरेर सिर्फ प्रतिपक्षी धर्म निर्वाह गरे । किनकी प्रतिपक्षी त जहिले पनि गभर्मेन्ट ईन वेटिङ हो ।  


प्रतिक्रिया