मुलुक कोरोना तेस्रो लहरको सन्निकट

श्रावण ७, २०७८ | काठमाडौं

नेपालमा हालसम्म कोरोना संक्रमण विरुद्ध कोभिसिल्ड, भेरोसेल र जोनसन एण्ड जोनसन कम्पनीको खोप प्राप्त भएको छ । भारतले उपलब्ध गराएको कोभिसिल्डको २४ लाख ४८ हजार डोज मध्ये २३ लाख बढी डोज प्रयोग भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सरकारले पछिल्लो समय चीनसंग खरिद गरेको ४० लाख डोज खोप मध्ये आज ८ लाख डोज भित्रिएसंगै भेरोसेलको २६ लाख डोज खोप हालसम्म नेपाल भित्रिएको छ । जसमध्ये २१ लाख बढी खपत भइसकेको छ । यस्तै कोभ्याक्स सुविधा मार्फत अमेरिकाले उपलब्ध गराएको जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८ सय ५० डोज मध्ये डेढ लाख प्रयोग भइसकेको छ । मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारी १३ लाखले समग्र खोपको मात्रा पुरा गरेको बताउनुहुन्छ

उपलब्धताका आधारमा प्राथमिकतामा परेका व्यक्तिलाई मात्र सरकारले कोरोना संक्रमण विरुद्धको खोप उपलब्ध गराउँदै आएको छ । कतिपय स्थानमा लक्षित वर्गले खोप नपाएको गुनासो पनि सुनिएको छ । कतिपय स्थानमा खोप वितरणको जिम्मा पाएका स्थानीय तहले पहुँचका आधारमा खोप वितरण गर्दा पनि प्राथमिकतामा परेकाहरु खोपबाटै बञ्चित भएका छन् । जनसंख्या र जनघनत्व र कोरोना संक्रमणको जोखिम बढी रहेका प्रदेशलाई प्राथमिकतामा राखेर सरकारले खोप वितरण गरीरहेको छ । यद्यपि मूलुकका सबै स्थानमा सकेसम्म चाँडै खोप पुर्‍याउने सरकारले तयारी गरेको मन्त्रालयका सह प्रवक्ता अधिकारीको भनाई छ ।

कोरोना संक्रमणको ग्राफ उकालो लाग्दा, मुलुक तेस्रो लहरको सन्निकट रहेको देखाउँछ । तेस्रो लहर चुनौतीपूर्ण हुने आँकलन गरेको मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई अक्सिजन, शैय्या र पुर्वाधारहरु चुस्तदुरुस्त राख्न निर्देशन समेत जारी गरेको छ । असारको अन्तिम सातादेखि कोरोना संक्रमण दर क्रमश: उकालो लाग्न थालेको छ । मोरङ, सुनसरी, झापा, काठमाण्डौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलालीमा हाल ५ सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै २६ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय भन्दा बढी छ । काठमाण्डौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा विमल शर्मा चालिसे अहिलेको परिस्थितिमा कोरोना संक्रमणबाट बच्ने एउटै मात्र अचुक औषधि खोप भएकाले लक्षित समूहलाई लगाउन आग्रह गर्नुहुन्छ ।

हालसम्म वागमती प्रदेशका १ लाख ३१ हजार ५ सय ५३ र गण्डकी प्रदेशका ६ हजार ५ सय ८९ जनाले जोनसन एण्ड जोनसन कम्पनीको खोप लगाएका छन् । कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले उपलब्ध गराएको जोनसन एण्ड जोनसन कम्पनीको खोपको प्रभावकारिताका बारेमा उब्जिएका आशंकामा डा चालिसे भन्नुहुन्छ

भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड, चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल र अमेरिकाबाट जोनसन एण्ड जानेसन कम्पनीको खोप गरी हालसम्म नेपालमा ६५ लाख ८२ हजार ८ सय ५० मात्रा कोभिड विरुद्धको खोप भित्रिएका छन् । सरकारले १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेको छ । 

नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले पनि निजी क्षेत्रलाई समेत कोरोना महामारी नियन्त्रण र रोकथाममा हातेमालो गर्न आग्रह गरीसक्नु भएको छ । तर, खोपका लागि अन्य राष्ट्रमा निर्भर हुनुपर्ने नेपाल जस्ता देशहरुले आवश्यकता अनुसारको खोप पाउन सकेका छैनन् । अनुभवले पनि के देखाउँछ भने यही अवस्थामा तेस्रो लहर देखिए हाम्रा स्वास्थ्य संरचनाले त्यसलाई थेग्न हम्मे हम्मे पर्छ । त्यसैले पनि कोरोना कहरबाट जोगिन स्वास्थ्य मापदण्डका सबै उपाय अबलम्वनमा नागरिक आफैं चनाखो हुनुको विकल्प छैन । 


प्रतिक्रिया