सामुदायिक विद्यालयले गुणस्तर कायम गर्न के गर्ने ?

असार १२, २०७९

मूलुकभरका एकाध बाहेक सामुदायिक विद्यालयले विद्यालय शिक्षाको गुणस्तर कायम राख्न सकेका छैनन् । तालिमप्राप्त शिक्षक, विद्यार्थीका लागि खाजा, पाठ्यपुस्तक, झोला लगायतको व्यवस्थाका बाबजुद सामुदायिक विद्यालयले गुणस्तर कायम राख्न नसक्नु चर्चा र चिन्ताको विषय बन्ने गरेको छ । रुपन्देहीको बुटवलको कालिका मावि , चितवनको नारायणी मावि, हेटौंडाको आधुनिक मावि , काठमाण्डौंको ज्ञानोदय मावि लगायत विद्यालयले आफ्नो गुणस्तर तल झर्न नदिन सदैव प्रयास जारी राख्दै आएका छन् । हरेक वर्षको एसईई परीक्षाको नतिजामा समग्र सामुदायिक विद्यालयको तुलनामा नीजि विद्यालयले राम्रो नतिजा ल्याउँछन् । विद्यालयमा शिक्षक जिम्मेवार नबन्दा, समय नदिंदा र विद्यार्थी पढाईमा लगनशिल नहुँदा गुणस्तर कायम गर्न नसकेको सामुदायिक विद्यालयसंग आवद्ध व्यक्तिहरुको भनाई छ । काठमाण्डौंको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल गुणस्तर उकास्न शिक्षकको इच्छाशक्ति आवश्यक हुने बताउनुहुन्छ ।

नीजि विद्यालयले शैक्षिक सत्र शुरु भएदेखि विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याएर अहिले प्रथम त्रैमासिक परीक्षा लिने तयारी गरीसकेका छन् । तर सामुदायिक विद्यालयका विद्यार्थीले अझै पाठ्यपुस्तक पाएका छैनन् । नेकपा एमालेका सांसद योगेश भट्टराई सामुदायिक विद्यालयको गुणस्तर खस्किनु समयमा पाठ्यपुस्तक नपुग्नु पनि एउटा कारक तत्व रहेको बताउनुहुन्छ । उहाँ सरकारको लाचारीपनले अझै विद्यार्थीले पाठ्यपुस्तक नपाएको दाबी गर्नुहुन्छ ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरुले सामुदायिक विद्यालयको समग्र गुणस्तरको विषय उठान गरे । उनीहरुले सरकारले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि सरकारले चालेको कदमका बारेमा सोधेका थिए । सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको गुणस्तर कायम गर्न सरकार लागि परेको बताउनुभयो ।

ग्रामीण र दुर्गम स्थानका सामुदायिक विद्यालयमा हरेक वर्षजसो विद्यार्थीको संख्या घट्दो क्रममा छ । शहरी क्षेत्रमा विद्यार्थीको चाप बढ्दो छ । तर चाप भएका विद्यालयहरुमा पनि शिक्षकको उचित व्यवस्थापन हुन सकेको छैन । सरकारले सामुदायिक विद्यालयका लागि शिक्षकहरुको तलब भत्ता, भवन, पुस्तकालय, दरबन्दी दिइरहेको छ । सामुदायिक विद्यालयमा गरिएको अंग्रजी माध्यमको पढाईले पनि यतातिर विद्यार्थीको आकर्षण बढाउन सकेको छैन । विश्व निकेतन माविका प्रधानाध्यापक कँडेल विद्यार्थी केन्द्रीत शिक्षा बनाउन सके मात्र गुणस्तर कायम हुने बताउनुहुन्छ । काठमाण्डौंकै बालुवाटारस्थित पञ्चकन्या आधारभूत विद्यालयले केही वर्ष यता निक्कै फड्को मारेको छ । शिक्षकहरुको इच्छाशक्तिका कारण विद्यालयको गुणस्तर सुधार भएको प्रधानानध्यापक विनिता रन्जितको भनाई छ । उहाँ विद्यालयका सबैले आ आफ्नो वहन गरे समग्र विकास हुने जीकिर गर्नुहुन्छ । विद्यालयहरुमा विषय अनुसारको दरबन्दीको व्यवस्था गर्न नसक्नु, विद्यार्थी अनुपात दरबन्दी मिलान गर्न नसक्नुले सामुदायिक विद्यालयको पठनपाठनमा असर परेको पाइन्छ । राजनीतिक दलको खेल मैदानका रुपमा सामुदायिक विद्यालयका शिक्षकले प्रयोग हुनु अर्को दुखद पक्ष हो । कतिपय सामुदायिक विद्यालयका शिक्षकहरु शिक्षक कम र राजनीतिक कार्यकर्ताका रुपमा बढी चिनिन्छन् । त्यसकारण पनि सामाजिक राजनीतिक द्वन्द्वका कारण पनि कयौं सामुदायिक विद्यालयले शैक्षिकस्तरलाई माथि उठाउन सकेका छैनन् । यी विविध विषयलाई सरकारले नियन्त्रण गर्न सके मात्र सामुदायिक विद्यालयमा स्वस्थ शैक्षिक वातावरणको सिर्जना हुनेछ । नत्र सरकारको हाम्रा विद्यालय हामी बनाउ भन्ने नारा नारामै कायम रहनेछ । 


प्रतिक्रिया