पाँच पूर्व प्रधानमन्त्री फेरि सांसद बन्ने प्रतिस्पर्धामा

मंसिर ३, २०७९

२०१५ सालको पहिलो आमनिर्वाचनबाट शुरु भएको मुलुकको संसदीय इतिहाससँग जोडिएका थुप्रै राजनीतिज्ञमध्ये कार्यकारी नेतृत्व गरेका ५ जना पात्रले आगामी निर्वाचनमा समेत प्रतिस्पर्धा गर्दैछन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि पाँचौं पटक मुलुकको बागडोर सम्हालिरहेका वर्तमान प्रधानमन्त्री शेरवहादुर देउवा, दुई/दुई पटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल र केपी ओली तथा एक/एक पटक प्रधानमन्त्री भएका झलनाथ खनाल र माधवकुमार नेपाल फेरि पनि सासंद बन्ने होडमा छन् । अहिलेका प्रधानमन्त्री देउवाले निर्वाचनमा पराजय भोग्नुभएको छैन भने अन्य चार जनाले भने पराजित भएको इतिहास छ ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले नेतृत्व गरेको नेपाली कंग्रेसमा लगातार दोस्रो पटक सभापति भएका देउवा सातौं पटक सांसद बन्ने प्रतिस्पर्धामा छन् । वि.स २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ मा गरी लगातार चुनाव जितेका उनी डडेल्धुराबाट सांसद बन्ने कसरतमा छन् । समकालिन राजनीतिज्ञमध्ये पहिलो पटक प्रधानमन्त्री भएका देउवाले आफू सातौं चोटी प्रधानमन्त्री हुने योग रहेको बताइसकेका छन् । उनले वि.स २०५२ देखि २०५४, २०५८ देखि २०५९ सम्म, २०६१ देखि २०६२, २०७४ देखि २०७५ सम्म मुलुकको प्रधानमन्त्री भएर नेतृत्व सम्हालेको इतिहास छ । गत २०७४ मा झण्डै दुइ तिहाइ बहुमत पाएको नेकपा विभाजन भएपछि देउवा २०७८ असार २९ देखि प्रधानमन्त्री हुँदै चुनावी सरकारको नेतृत्व समेत गरिरहेका छन् । २०७४ सालको निर्वाचनमा सरकारको नेतृत्व गरेका देउवा दोस्रो पटक पनि चुनावी सरकारको प्रधानमन्त्री हुन् ।

देउवा प्रधानमन्त्री बनेको १२ बर्षपछि अर्थात् २०६४ मा भएको संविधानसभाबाट पहिलो पटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक यात्रामा भने निर्वाचनको पराजय जोडिएको छ । २०७३ सालमा अर्को पटक प्रधानमन्त्री भएका दाहाल चार पटक निर्वाचन लडिसकेका छन् । उनले यी चार पटक नै आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् । २०७४ सालमा चितवन क्षेत्र नं ३ बाट विजयी उनी अहिले गोरखा क्षेत्र नं २ बाट चुनाव लड्दै छन् । पहिलो संविधान सभामा काठमाडौं क्षेत्र नं १० र रोल्पा क्षेत्र नं २ बाट विजयी भएका दाहालले २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र १० बाट काँग्रेसका राजन केसीसँग पराजीत हुन पुगे भने सिरहाबाट विजयी भए । उनले यसअघि २०६५ देखि २०६६ सम्म पहिलो पटक प्रधानमन्त्रीको रुपमा मुलुकको नेतृत्व गरे भने दोस्रो पटक २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री पदमा रहेर मुलुकको नेतृत्व गरिसकेका छन् ।

दुई पटक प्रधानमन्त्री भइसको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आसन्न निर्वाचनको उम्मेदवारीसहित सातौ पटक मैदानमा छन् । २०४८ यता भएका निर्वाचनमा उनले एक पटक भने पराजय व्यहोरेको इतिहास छ । २०४८ सालको संसदीय निर्वाचनमा उनी गृह जिल्ला झापा क्षेन नं ६ बाट विजयी भएका थिए । यस्तै २०५१ सालको अर्को संसदीय चुनावमा पनि उनी सोहि निर्वाचनबाट विजयी हुन पुगे । २०५६ मा झापा २ र झापा ६ दुबैबाट विजयी भएका थिए । २०६४ चैत २८ गतेको संविधानसभा निर्वाचनमा भने झापा ७ बाट उठेका ओलीले त्यतिवेला प्रतिद्धन्दी विश्वदिप लिङ्देनसँग करिब २ हजार मतान्तरसहित पराजीत हुनु परेको थियो । यस्तै २०७० सालको अर्को संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं ७ बाट विजयी उनी २०७४ को आम निर्वाचनमा पुन झापा क्षेत्र नं ५ बाट विजयी भए । पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री बनेका ओली पुन २०७४ फागुनमा कार्यकारी भूमिकामा आएका थिए ।

यस्तै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग पनि २०४८ यता एक पटक मात्र चुनाव हारेको रेकर्ड छ । उनले २०६४ सालको संविधानसभा निर्वाचनमा एकपटक पराजय व्यवहोर्नुपरेपछि त्यसपछिका निर्वाचनमा कहिले चुनाव हार्नु परेको छैन । अन्य निर्वाचनमा एमालेबाट चुनाव लड्दै आएका नेपाल यस पटक छुट्टै पार्टीबाट चुनाव लड्दै छन् । उनले करिब २ वर्ष प्रधानमन्त्री पदमा रहेर देश हाकेको इतिहास छ । उनी २०६६ जेठ ११ गतेदेखि २०६७ माघ २२ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।

यस्तै एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पनि २०४८ यताका चुनावमा २०५६ को निर्वाचनमा पराजीत भएयता पराजय व्यहोर्नु परेको छैन । त्यसबेला उनले नेपाली काँग्रेसका उम्मेदवार वेनुपराज प्रसाइसँग करिब १ सय मतले मात्र पराजय व्यवहोर्नु परेको थियो । उनले २०६७ माघ २३ देखि २०६८ भदौ ११ गतेसम्म मुलुकको प्रधानमन्त्री पदमा रहेर काम गरिसकेका छन् ।

चार पटक प्रधानमन्त्री भएका लोकेन्द्रवहादुर चन्द र एक पटक प्रधानमन्त्री भएका बाबुराम भट्टराई भने यो पटकको निर्वाचनमा प्रतिस्पर्धामा छैनन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सुर्यवहादुर थापा, सुशील कोइरालाको भने निधन भइसकेको छ । २०७० सालको संविधानसभा निर्वाचनमा कार्यकारी प्रमुख बनेका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी भने गैरदलीय पृष्ठभूमिका हुन् ।

२०४८ यता पालैपालो नेतृत्वदायी भूमिकामा रहेर देशको नेतृत्व गरिसकेका देउवा, दाहाल, ओली, खनाल र नेपालले निर्वाचनमा पुन: प्रतिस्पर्धा गरिरहँदा राजनीतिमा पुस्तान्तरणको बहस तीव्र रुपमा भएको छ । तीन दशकमा आलै पालो यी पाँच अनुहारबाट देश सञ्चालन हुँदै आएकोमा अबको भावी प्रधानमन्त्री यीनै पूराना अनुहारमध्येबाट हुने हो वा नयाँ अनुहारको उदय हुने हो सर्वत्र चासो छ ।


प्रतिक्रिया