हवाई दुर्घटनाः ८० प्रतिशत मानवीय त्रुटि

माघ ४, २०७९ | काठमाडौं

विश्वमा करिब ८० प्रतिशत हवाई दुर्घटना मानवीय त्रुटिका कारण हुने गरेको एक अध्ययनले देखाएको छ । नेपालमा पनि दुर्घटनापश्चात गठित आयोगका प्रतिवेदनले अधिकांश दुर्घटनामा मानवीय त्रुटि भएको निष्कर्ष दिने गरेका छन् । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनापछि हवाइ सुरक्षाको बिषय भइरहेका बहसका क्रममा कतिपय विज्ञहरुले विमानका चालक दललाई दोष दिनु भन्दा पनि समग्र व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखेका छन् । 

अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटिए) का अनुशार ७ दशकअघिसम्म विश्वमा ८० प्रतिशत हवाई दुर्घटना प्राविधिक कारण र २० प्रतिशत दुर्घटना मानविय कारण हुने गरेकोमा अहिले ठीक उल्टो अवस्थामा पुगेको छ । हाल ८० प्रतिशत हवाई दुर्घटना मानविय कारण र २० प्रतिशत प्राविधिक कारण हुने गरेको क्ष्ब्त्ब् को रिपोर्टमा उल्लेख छ । नेपालमा पनि हरेक पटक दुर्घटनापश्चात गठित समितिका प्रतिवेदनले बढी मात्रामा मानवीय त्रुटीका कारण हवाइ दुर्घटना हुने गरेको देखाएको छ ।

नेपाल नागरिक उड्डउन प्राधिकरणको एभिएशन सेफ्टी रिपोर्ट २०२२ अनुशार हालसम्म नेपालमा सिंगल इन्जिन, डबल इन्जिन, हेलिकप्टर, अन्तर्राष्ट्रिय हवाइ सहित १ सय ४ हवाई दुर्घटना भएको तथ्याङक छ । जसमा पछिल्लो दुर्घटनासहित ९ सय २१ जनाको ज्यान गएको छ । नेपालमा पहिलो पटक सन् १९५५ मा कालिंगा एयरको जहाज सिमारामा दुर्घटना भएको थियो । हालै काठमाडौंबाट पोखरा जाँदै गरेको यति एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा ७२ जनाको मृत्यु हुन पुग्यो । दुर्घटनाको कारण अध्ययन गर्न सरकारले ५ सदस्यीय छानविन आयोग गठन गरेको छ । ४५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको आयोगले सो दुर्घटनाको निष्कर्ष के निकाल्ने हो त्यो थाहा पाउन केहि समय पर्खनै पर्ला । तर नेपालमा दुर्घटनापश्चात गठित छानविन समितिले तयार पारेका प्रतिवेदन हेर्ने हो भने अधिकांश दुर्घटनामा मानविय त्रुटि दुर्घटनाको मुख्य कारक भनिएको छ ।

सन् २०१९ फेब्रुअरी २७ मा ७ जनाको ज्यान जाने गरि ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको एयर डाइनेस्टि हेलिकप्टर दुर्घटनामा मानवीय त्रुटिका कारण भएको छानविन प्रतिवेदनले देखायो । सन् २०१८ मार्च १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५१ जनाको ज्यान जाने गरि भएको अर्को युएस बंगलाको विमान दुर्घटनाको अध्ययान प्रतिवेदनले विमान दुर्घटनाको मुख्य दोषी पाइलट रहेको ठहर गर्यो । पाइलट मानसिक तनावमा रहेको र पाइलटले पटक पटक चुरोट सेवन गरेको प्रतिवेदन बाहिरियो ।

यस्तै सन् २०१९ मा नै लुक्लामा भएको समिट एयरको विमान दुर्घटना, सन् २०१८ को सिमकोटमा भएको मकालु एयर दुर्घटनालगायतका छानविन प्रतिवेदनलाई आधार मान्दा पनि मानवीय त्रुटिलाई मुख्य जिम्मेवार मानिएको छ । यस वर्षको जेठ महिनामा २२ जनाको मृत्यु हुने गरि भएको तारा एयरको विमान खराब मौसमका कारण दुर्घटना भएको भनी प्रारम्भिक निष्कर्ष निकालिए पनि अनुसन्धान सम्पन्न गरी प्रतिवेदन तयार गर्ने काम अझै हुन सकेको छैन ।

सरकारी प्रतिवेदनले मानवीय त्रुटि विशेषगरि पाइलटलाई मात्र घटनाको मुख्य कारण देखाउनु दुखद् रहेको पूर्व क्याप्टेन एवं पाइलट प्रशिक्षक युवराज भट्टराईको तर्क छ । त्रुटिको जरो पत्ता लगाउने व्यवस्थापनदेखि सबै संयन्त्र चुस्त पार्नुपर्ने उनको सुझाव छ ।

सरकारले हरेक हवाई दुर्घटनापछि जाँच आयोग वा समिति गठन गर्ने गरेको छ । समितिले सरोकारवाला सबै निकायसँगै छलफल गरेर प्रतिवेदनसँगै सुझाव पनि तयार गर्छ र सरकारलाई बुझाउँछ । तर छानविन प्रतिवेदन कर्मकाण्डी मात्र हुने गरेको गुनासो उस्तै छ । बढ्दो हवाई दुर्घटनाले हवाई यात्रामाथि शंका उब्जिरहँदा नेपालका सिनियर पूर्व क्याप्टेन केबी लिम्बु भने सडक यातायाताको तुलनामा हवाई यातायात बढी सुरक्षित रहेको दाबी गर्छन् ।

प्राधिकरणको एभिएशन सेफ्टी रिपोर्ट अनुशार नेपालमा २६ विमान कम्पनी सञ्चालनमा छन् । जसमध्ये ९ विमान कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् भने ५ विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । जसमा १२ कम्पनी हेलीकोप्टरका लागि सञ्चालनमा छन् । नागरिक उडड्यन प्राधिकरणले नियमन र सेवा प्रदायक दुवै जिम्मेवारी लिएकाले हवाइ सेवामा सुधारका पहल अघि बढ्न नसकेको विज्ञहरुको भनाइ छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले पनि नेपालको यो कार्यशैलिमाथि प्रश्न उठाउँदै आएको छ । उसले हवाइ सुरक्षाबारे जाँच र अध्ययन गर्नसक्ने स्वतन्त्र आयोग नै गठन नै गर्न सुझाव दिँदै आएको छ । हवाई विज्ञहरुले पनि यस विषयसमा चासो राख्दै सो संयन्त्र गठन गर्न ढिलाई गर्न नहुने बताउँदै आएका छन् । तर नेपालले त्यसलाई खासै चासो दिएको पाइदैन । युरोपेली युनीयनले नेपालको हवाइ सेवा नियामक निकाय र नेपालमा दर्ता भएका वायुसेवा कम्पनीलाई सन् २०१३ देखि नै कालोसूचिमा राखेको छ । आइकाओले २०२२ मा गरेको हवाई सुरक्षा अडिटमा नेपालले ७० दशमलव १ अंक प्राप्त गरेको थियो । जसलाई विश्वव्यापी औसत भन्दा तीन प्रतिशत बढी रहेको रिपोर्टमा उल्लेख छ । यसै आधारमा युरोपेली यूनियनले नेपाललाई कालोसूचिबाट हटाउने प्राधिकारणले दाबी गरिरहेकै अवस्थामा एकैवर्ष २ वटा विमान दुर्घटना भएको हो । आइकाओको प्रतिवेदनले नेपालको हवाई सुरक्षा सुधार देखिएपनि पछिल्लो पटक भएका यी दुई विमान दुर्घटनाका कारण नेपाल इयूको कालो सूचिबाट हट्ने सम्भावनामाथि अर्को धक्का पुगेको उस्तै विश्लेषण भइरहेको छ ।

दुर्घटना भवितव्य हो , तर के कारणले भयो ? मानवीय वा प्राविधिक त्रुटी के हो ? मौसम बाधक हो कि पाइलटको कमजोरी तथा दक्ष जनशक्तिको अभाव हो ? त्यस्ता बिषयलाई सेवा प्रदायक कम्पनी, नागरिक उड्डयन प्राधिकरण लगायत निकायले गम्भीरताकासाथ लिनुपर्ने बेला भइसकेको छ । आइकाओले यसै वर्ष साउनमा सार्वजनिक गरेको एक रिपोर्टमा विश्वमा हवाई दुर्घटनाको अवस्था १० प्रतिशतले घटेको देखाइरहदा नेपालमा एकै वर्ष भएका दुई ठूला हवाइ दुर्घटनाले नेपाली आकाश सुरक्षित छैनन् कि भन्ने आशंकालाई बल पुर्‍याएको छ । 


प्रतिक्रिया