मानव बेचबिखन जर्जर !

माघ २०, २०७९

मुलुकमा पछिल्लो समय मानव बेचबिखनको अवस्था जर्जर रुपमा देखा परेको छ । राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदनले मुलुकमा गत वर्ष मात्रै मानव बेचबिखनसम्बन्धी १ सय ४५ वटा मुद्दा दर्ता भएको देखाएको छ । जसलाई पछिल्ला दुई आर्थिक वर्ष यताकै बढ्दो आँकडाका रुपमा लिइएको छ ।

आर्थिक वर्ष २०७६/ ७७ र २०७७/ २०७८ मा क्रमश १ सय ३६ र १ सय ३४ उजुरी परेकोमा सो संख्या गत आर्थिक वर्षमा झनै बढेको हो । गत वर्ष मानव बेचबिखन सम्बन्धी १ सय ४५ उजुरी दर्ता भएका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोमा दर्ता भएका उजुरीमध्ये २ सय ११ व्यक्तिहरु मानव बेचबिखनबाट पीडित भएका छन् । मानव बेचबिखनमा परेका व्यक्तिहरुमध्ये ९४ दशमलव ७ प्रतिशत महिला र ५ दशमलव २ प्रतिशत पुरुष रहेको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलको भनाइ छ ।

महिला, बालबालिका, पुरुष सबै अन्जानमै यसको शिकार बन्ने गरेको जानकारहरु बताउँछन् । गिरोहले फरक फरक लालचसहित उनीहरुलाई देह व्यापार, मानव अंग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रमका लागि मानिसको अवैध व्यापार गर्ने गरिएको पाइएको छ । आधुनिकीकरणसँगै मानव बेच्ने स्वरुपहरुमा पनि परिवर्तन हुँदै गएको छ । रोजगारीको लालचमा डान्स बार, क्याविन रेष्टुरेन्ट लगायतमा मानव बेचबिखन अझ बढेको हो । बदलिदो मानवीय जीवनशैली र वैदेशिक रोजगारको नाममा पनि यस्ता घटना बढ्दै गएको राष्ट्रिय मानव अधिकार आयोगकी मानव अधिकार अधिकृत यशोधा बन्जाडेको तर्क छ ।

नेपालमा मानव बेचविखनको अवस्था नियन्त्रणका लागि मानव बेचबिखन तथा ओसारपसार नियमावली २०६५ पनि छ । तर प्रभावकारी नहुँदा घटनाहरु कम हुनुको साटो वर्षेनी बढ्दै गएको तथ्याङकले देखाउछ । गत वर्ष दर्ता भएका सो घटनामा अभियुक्त ठहरिएका २ सय ९१ मध्ये १ सय ८० जनालाई पक्राउ गरिएको छ । मानव बेचबिखनको आरोपमा पक्राउ पर्ने महिलाको संख्या पनि डर लाग्दो छ । गत आर्थिक वर्ष ७६ महिला मानव बेचबिखनमा संलग्न रहेको पाइएको छ । जसमध्ये ४५ महिला पक्राउ परेका छन् भने ३१ महिला अझै फरार सूचिमा छन् । बढ्दो वेरोजगारका कारण पनि मुलुकमा मानव बेचबिखनका घटनाले प्रशय पाएको मानव अधिकारकर्मी इन्द्र अर्यालको तर्क छ । मानव बेचबिखनका घटना नियन्त्रणमा आयोगको सुझावसहितको प्रतिवेदन कार्यान्वयनमा सरकारले गम्भिरतापूर्वक लिनुपर्ने उहाँको सुझाव छ ।

नेपाल सरकारले महिलाहरु असुरक्षित भएको भन्दै कतिपय मुलुकमा कामदारका रुपमा महिलालाई जान रोक लगाएको छ । खाडी मुलुक साउदी अरेविया, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमन , बहराइन, इराक, लिबिया र लेबनानसहितका ९ वटा देशमा महिला कामदार पठाउन नेपालबाट रोक लगाइएको छ । तर मानव वेचविखनको घटनामा बाह्य भन्दा आन्तरिक बेचविखनको अवस्था बढेको प्रतिवेदनले देखाएको छ । मुलुकका विभिन्न शहरी क्षेत्रमा दोहरी साँझ, डान्सवार, मसाज सेन्टर लगायत क्षेत्रमा सो घटना बढी हुने गरेको प्रतिवेदनमा भनिएको छ । आन्तरिक बेचविखनको अलावा भारत, चीन लगायतका देशहरुमा मानव बेचबिखन हुने गरेको छ । भारतमा देह व्यापार, श्रमिको रुपमा र चीनमा विवाह, साँस्कृतिक कार्यक्रम, घुमफिर , रोजगारीका बहानामा बेचबिखन तथा ओसारप्रसार हुने गरेको प्रतिवेदनले दर्शाएको छ । यस्तै गत आर्थिक वर्षमा जबरजस्ती करणीका २ हजार ३ सय ८० घटना भएको छ भने ३ सय १४ बालयौन दुरुपयोगको घटना हुन पुगेको प्रतिवेदनमा उल्लेख छ । मानव वेचविखन रोक्नका लागि सचेतनासहित प्रभावकारी रुपमा अभियान सञ्चालन गर्नुपर्ने देखिएको छ । 


प्रतिक्रिया