कसरी सम्भव भयो ? शैक्षिक सत्र अगावै विद्यार्थीको हातमा पाठ्यपुस्तक !

वैशाख ५, २०८०

रुपन्देहीको तिलोत्तमा ५ स्थित श्रीशान्ती नमुना माविको कक्षा ५ मा अध्ययनरत विद्यार्थी गौरब भण्डारी निक्कै खुशी छन् । उनले यसपाली समयमै नयाँ पुस्तक पाएका छन् । उनी जस्तै अन्य विद्यार्थी पनि समयमै पाठ्यपुस्तक पाएर दंग छन् । तिलोत्तमा ४ स्थित नवज्योती माविमा कक्षा ८ मा पुगेका सुशान्त न्यौपाने पनि नयाँ पाठ्यपुस्तक पाएर दंग छन् । विद्यालयमा भर्ना भएदेखि नै नयाँ पाठ्यपुस्तक पाएपछि उनले खुशी व्यक्त गरे ।

विद्यालय उमेर समूहका बालबालिका पढ्नबाट नछुटुन् भनेर सरकारले हरेक वर्ष शैक्षिक सत्र शुरु भएसंगै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने गरेको छ । सत्ता गठबन्धन दलको न्युनतम साझा कार्यक्रममा पनि यस पटक पाठ्यपुस्तकको विषय प्राथमिकताका साथ राखिएको थियो । यसअघिका नयाँ शैक्षिक सत्रमा प्राय: अभिभावक र विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दथे । तर यस पटक शैक्षिक सत्र शुरु भएसंगै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सफल भएको जनक शिक्षा सामग्री केन्द्रको दाबी छ । कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाई र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक अनिल झाले आवश्यक पाठ्यपुस्तक छपाई कार्य सकेको बताए । यस पटक कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा नीजि मुद्रणलाई दिइएको थियो । विभिन्न १३ वटा मुद्रण कम्पनीले एक करोड २४ लाख ७७ हजार थान पाठ्यपुस्तक छपाई गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यस्तै कक्षा ६ देखि १० सम्मको एक करोड २५ लाख ८३ हजार थान जनक शिक्षा सामग्री केन्द्रले छापेको हो । मन्त्रालयका प्रवक्ता दिपक शर्माले यस पटक प्राथमिकतामा राखेकाले समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेको बताए ।

गत वर्षको शैक्षिक सत्रको अवधिमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दुईजना शिक्षा मन्त्री पायो । देवेन्द्र पौडेल र शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए । प्रतिनिधिसभाको बैठकमा पूर्व शिक्षा देवेन्द्र पौडेलले विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउनु भनेको मुलूककै लागि सकारात्मक सन्देश रहेको बताए । यस्तै पूर्व शिक्षा मन्त्री शिशिर खनालले पनि केही गाँठो फुकाउँदै समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको प्रति आभार व्यक्त गरे ।

यसअघिका वर्षहरुमा सरकारले समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने गृहकार्य गरे पनि सफल हुन सकेको थिएन । यस पटक जनक शिक्षा सामग्री केन्द्रमा ३ वटा मेसिन थप्दा पनि छपाई सहज भएको केन्द्रका प्रवन्ध निर्देशक झाको भनाई छ । यसका साथै चालु पुँजी पनि उपलब्ध भएकाले सहज भएको झाले बताए । पुष ५ गतेदेखि केन्द्रले पाठ्यपुस्तक छपाई कार्य शुरु गरेको थियो ।

कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाई र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले विभिन्न ९ वटा वितरण केन्द्रबाट पाठ्यपुस्तक वितरण गर्दै आएको छ । केन्द्रका प्रवन्ध निर्देशक झा सम्भवत यो नै पहिलो पटक पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेको हुन सक्ने बताउँछन् । त्यसो त राज्यले यस पटक झैं हरेक शैक्षिक सत्रमा पाठ्यपुस्तक पुर्‍याउन सक्नुपर्ने हो । यस पटक सबै पक्षको बल, समन्वय र सहकार्यले विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका हुन् । अन्य क्षेत्रमा पनि यसरी नै आवश्यकता पहिचान गरी प्राथमिकतामा राख्दै काम गरे मुलुकमा देखिएका बेथितिको अन्तय हुनेमा कुनै शंका छैन । 


प्रतिक्रिया