एकीकृत समाजवादीभित्र बढ्दो वैचारिक विचलन

वैशाख १६, २०८० | काठमाडौं

एकिकृत समाजवादीभित्र पछिल्लो समय बैचारिक विचलन देखिन थालेको छ । विस २०७८ भदौं ९ गते दर्ता भएको सो पार्टी करिब डेढ वर्षको अन्तरालमा न सांगठनिकरुपमा अब्बल बन्न सक्यो न कम्युनिष्ट घटकको बैकल्पिक शक्ति नै  पार्टीभित्र सत्ता र शक्तिकालागि मरिहत्ते गर्ने नेताहरुको हबी भएको भन्दै पछिल्लो समय पार्टी छाड्नेको संख्यामा बढोत्तरी हुँदा सो पार्टीको राजनीतिक भविश्यमाथि विभिन्न अंकलबाजी सुरु भएका छन् ।

केहि साताअघि मात्रै तेस्रो बरियताका नेता मुकुन्द न्यौपाले साधारण सदस्य पनि नरहने गरि पार्टी परित्याग गरेपछि सो पार्टीभित्रको आन्तरिक कलह थप सतहमा आएको हो । अध्यक्ष माधव कुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल पछिको बरियतामा रहेका न्यौपाले एकाएक पार्टी परित्यागको घोषणा गर्दै बाहिरिए । गठबन्धनको आडमा शक्ती केन्द्रीत राजनीतिक बढ्दै भएको भन्दै न्यौपानेले पार्टीको भविश्य नभएको बताएका थिए ।

न्यौपाने केन्द्रीय स्तरको नेता भएका कारण उनको पार्टी परित्यागको विषय चर्चामा आयो । तर पछिल्लो समय एकिकृत समाजवादी पार्टी परित्याग गर्नेको संख्या थोरै छैन । गत भदौमा चुनावको मुखैमा सुदुरपश्चिम प्रदेश अध्यक्ष, दुई जना प्रदेशसभा सदस्यसहित केही नेता पार्टी छाडे । चुनावको संघारमा प्रदेशकै नेतृत्व गर्ने नेताहरुले पार्टीपरित्याग गर्दापनि आन्तरिक समस्या समाधन हुन नसकेपछि त्यसको असर जिल्ला र नगर कमिटिमा पनि देखियो । गत कार्तिकमा दोलखा जिल्ला स्तरिय नेताहरुले पार्टी परित्याग गरे । केहि दिनपछि सो जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर १ को सिंगो कमिटीले पार्टी परित्याग गर्यो । पार्टीका उपमहासचिव गंगालाल तुलाधर शीर्ष तहबाटै पार्टीको भविश्यमाथि प्रश्न उठाउँदा नेतृत्व गम्भीर हुनुपर्ने स्विकार गरेका छन् ।

यसो त, कांग्रेससहित पाँच दलीय गठबन्धनबाट स्थानीय, प्रदेश र संघमा चुनाव लडेको सो पार्टीले अपेक्षाकृत नजिता हासिल गर्न सकेन । स्थानीय तहमा २० स्थानमा जित हात पारेको पार्टीले प्रदेशमा प्रत्यक्षमा १५ र समानुपातिकमा ९ गरि २४ सिट ल्याएपनि संघमा १० सिटमा चित्त बुझाउनु पर्‍यो । सबैभन्दा विडम्बनाको विषय पुर्वप्रधानमन्त्रीको नेतृत्वमा रहेको पार्टी गत निर्वाचनबाट राष्ट्रिय दल बन्न सकेन । पछिल्ला निर्वाचन र पार्टीको सांगठिनक गतिविधिलाई हेर्दा पार्टीको भविश्य नभएको राजनीतिक विश्लेषक पुरन्जन आर्चाय बताउँछन् ।

दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको विकल्पका रुपमा अर्को कम्युनिष्ठ घटकका रुपमा आफुलाई उभ्याउने प्रयास गरेको सो पार्टीभित्र पछिल्लो समय सत्ता मोह प्रष्ट हुन्छ । यस अघि पाँच दल भत्काउदै सात दलीय गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री भएका पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो । कम्युनिष्ट राजनीतिकका जानकार डा.मुमाराम खनाल एकिकृत समाजवादीमा नेतृत्व र राजनीतिक दस्तावेज नभएको बताउँछन् ।

२०६५ नेकपा एमालेको तत्कालिन महासचिबबाट राजीनामा दिएपछि अध्यक्ष नेपाल पार्टीको दोस्रो र तेस्रो वरियताको नेताका हैसियतमा मात्रै थिए । एकिकृत समाजवादी स्थापना गरेसंगै करिब १३ बर्षपछि पुनः नेतृत्वमा आएका उनी आफ्नो शक्तिलाई वृहत्तर बनाउन चाहन्छन् । माओवादी केन्द्र र जसपासंग कार्यगत एकताको प्रयासमा रहेका उनी संसदमा शक्ति बढोत्तरी गर्ने योजना देखिन्छ । तर, अब मोर्चा र गठबन्धनलाई जनताले पत्याउन छाडिसकेको पुनःराजनीतिक विश्लेषक खनाल बताउछन् ।

हुन त नेपाली राजनीतिक दलमा आन्तरिक विचलन आउनु कुनै नौलो विषय होइन । पद र प्रतिष्ठाकालागि पार्टी छोड्नु, जोडिनु पनि नौलो होइन तर, पछिल्लो समय राजनीतिक दलमा झाँगिदै गएको सत्ता र शक्ति केन्द्रीत राजनीतिमा समाजवादी पार्टीले आफुलाई कति अब्बल सावित गर्ने हो त्यो हेर्न बाँकी नै छ । 


प्रतिक्रिया