चैत १५ को घटनापछि राजावादीको आन्दोलन मत्थर हुँदै

वैशाख १८, २०८२ | काठमाडौं
राजसंस्था फर्काउने भन्दै गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि समग्र आन्दोलन प्रभावित बन्यो । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतासँगै गणतान्त्रिक व्यवस्था उल्टाउने भन्दै सडकमा आएका दल र समूहको आन्दोलन मत्थर देखिनुले राजावादी अभियान कमजोर हुने संकेत देखिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहका अभिव्यक्ति र केही दल र समूहको सक्रियताले पछिल्ला महिनाहरुमा राजतन्त्र बहालीको मागसहित सडक तात्दै आएको छ । फागुन ७ गते पूर्वराजाले दिएको अभिव्यक्ति, त्यसको केही दिनपछि पोखराबाट काठमाडौं आउँदा गरिएको भव्य स्वागतसँगै राप्रपासहितका दल र समूहको सक्रियता निकै बढेको थियो । गत फागुन २५ गते पूर्वराजालाई समर्थन गर्न पुगेका दल र समूहको अगुवाइमा त्यसपश्चात् विभिन्न कार्यक्रम गरियो । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शनको पूष्ठभूमिमा राप्रपाले चैत २६ गते बल्खुमा प्रदर्शन ग¥यो भने वैशाख ७ गते निषेधित क्षेत्र तोड्ने कार्यक्रम आयोजना ग¥यो । तर, चैत १५ गतेको हिंसात्मक प्रदर्शन पछि भने सडक आन्दोलनमा सहभागिता कम देखिन थाल्यो र अहिले भनिदैछ, राजावादीको आन्दोलन अब मत्थर हुँदै जाने संकेत देखिएको छ ।
चैत १५ गतेको आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड हुनु र मानवीय क्षति हुनुले राजावादी आन्दोलनलाई नकारात्मक बनाएको हो । यही अवस्थामा राजतन्त्र पक्षधर र गणतन्त्र पक्षधरबीच आरोप प्रत्यारोपको शृङखला भने चलिरहेको छ । गणतन्त्रको विरोध गरेर मुलुकलाई पछाडी फर्काउने र लोकतन्त्रविरुद्ध कदम भएको भन्दै राप्रपा लगायत दलको आलोचना समेत भईरहेका छन् । राप्रपाका नेताहरुले भने राजतन्त्रको माग गर्नु लोकतन्त्रको विरोध नभएको दावी गरिरहेको पाइन्छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने, ‘राजतन्त्रको पक्षमा आफूहरुले राखेको मतलाई गलत अर्थमा नलिनु होला । राजतन्त्रको माग गर्नु लोकतन्त्रको विरोध होईन ।’
मुलुकमा देखिएको विकृति र विसंगतिलाई उठाएर राजावादी शक्ति सडकमा आएको बुझ्न कठिन छैन । पूर्वराजा शाहले पनि नयाँ बर्षको अवसरमा वर्तमान वेथितिलाई देखाउँदै चिन्तामात्र व्यक्त गरेर अहिलेको व्यवस्थाको औचित्यमाथि प्रश्न उठाएका छन् । यिनै पृष्ठभूमिमा अब राजावादी आन्दोलन कता जाला भन्ने सवाल देखिएको छ । राजसंस्था पुर्नस्थापना नभएसम्म आन्दोलन नरोकिने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको भनाइ छ । नजरबन्दबाट मुक्त भएपछि केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा सुवेदीले भने, ‘प्रदर्शन दवाउनकालागि सरकारले मानव अधिकारको समेत गम्भीर उल्लंघन गरेको छ । सरकारले आफूहरुमाथि ज्यादती गरेपनि आन्दोलनका कार्यक्रम रोकिने छैनन् ।’
यसबीचमा आन्दोलन समितिमा राप्रपा र राप्रपा नेपालसहितका दलको सहभागितालाई लिएर प्रश्न नउठेको होइन । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कमान्डर बनाएपछि आन्दोलनमा सहभागी हुन ती दल त्यति इच्छुक नदेखिनु त्यसको उदाहरण हो । प्रसाई र राप्रपाका नेता रविन्द्र मिश्र लगायत व्यत्ति अझै प्रहरी हिरासतमा छन् । राजावादी दल र समूहले मिश्र लगायत नेताको रिहाइ माग गरिरहेका छन् । यस्तै अवस्थामा आन्दोलनको नयाँ स्वरुपबारे उनीहरुले केही बताएका छैनन् । तर राजावादी शक्ति मध्येको एक राप्रपा नेपालले हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दामा सबै शक्तिहरु एक ठाउँमा उभिएर निर्णायक आन्दोलन गर्न आह्वान गरेको छ । गणतन्त्र स्थापनापछि राजतन्त्रको पुनस्थापनाका लागि पहिलोपटक संयुक्त जनआन्दोलन परिचालन समिति गठन भएको बताउँदै त्यसलाई समेत धमिल्याउने प्रयास समेत भएको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाको भनाई छ ।
गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि कतिपय विश्लेषकले घटनालाई राजनीतिक र कानुुनी पाटो दुवैबाट हेर्नुुपर्ने बताएका छन् । त्यसमाथि चैत १५ को घटनामा पूर्वराजा शाहलाई दोष दिएर गणतन्त्रवादीले राजतन्त्र पक्षधरको मुद्दालाई विषयान्तर गर्न खोजेको टिप्पणी समेत भएको छ । शान्तिपूर्ण आन्दोलन गर्ने भनिएपनि तीनकुने घटनाले राजावादी दल र समूहलाई धक्का लागेको छ । त्यसैले उनीहरुलाई शान्तिपूर्ण रुपमा अघि बढ्नुपर्ने दबाब थपिएको छ । त्यसमाथि उनीहरुको मागको औचित्य नरहेको राजनीतिक विश्लेषकहरुको भनाइ छ । विश्लेषक केशव दाहालले भने, ‘लोकतान्त्रिक गणतन्त्र आएको १७÷१८ वर्ष भैसकेपछि पनि राजा चाहिन्छ भनेर गैसकेको परिघटनालाई फेरी उल्ट्याउन खोज्नु मुलुकको अग्रगामी गतीलाई अवरोध गर्नु र भाँझो हाल्नु हो ।,सरकारले संघिय लोकतान्त्रीक गणतन्त्रलाई ठिक हिसावले नेतृत्व गर्न नसक्दा मानिसमा निराशा बढ्यो र त्यो निराशालाई राजावादिहरुले व्यवस्थासँग जोडेर अनावश्यक भास्य निर्माण गर्न खोजेको देखिन्छ् ।’
राजतन्त्रको एजेन्डामा राप्रपा र राप्रपा नेपालसहितका दल एक ठाउँमा उभिन नसक्दा आन्दोलनले गति लिन नसकेको बुझाइ पनि पाइन्छ । नेताहरुबीचको टकरावले उनीहरुलाई संयुक्त आन्दोलन गर्न रोकिरहेको स्वयम् ती दलका नेताहरुले बताउने गरेका छन् । यही मेसोमा गत सोमवार राप्रपा नेपालको कार्यक्रममा राजावादी दलका नेताहरु सहभागी भएर एकताको सन्देश दिन त खोजेका छन् तर उनीहरु अब कसरी अघि बढ्छन् त्यो भने निश्चित छैन ।