युद्धविरामकाबीच पाकिस्तानविरुद्ध भारतको अप्रेसन सिन्दूर जारी

वैशाख २८, २०८२ | काठमाडौं
युद्धविरामको सम्झौता भएपनि पाकिस्तानविरुद्ध अप्रेसन सिन्दूर भारतले अझै जारी राखेको छ । भारतीय वायु सेनाले आज माइक्रोब्लगिङ साइट एक्समा ट्वीट गर्दै अप्रेसन सिन्दूर जारी रहेको जानकारी दिएको हो ।
सो ट्वीटमा वायु सेनाले अप्रेसन जारी रहेको उल्लेख गर्दै विस्तृत विवरण पछि दिइने र अनुमानित तथा अपुष्ट सूचनाबाट टाढा रहन आग्रह समेत गरेको छ ।
साथै, भारतीय सेनाले आफ्ना निर्दिष्ट कार्य राष्ट्रिय उद्देश्य अनुरुप विवेकपूर्ण तरिकाले सफलतापूर्वक कार्यान्वयन गरेको उल्लेख गरेको छ । हिजो राती मात्रै भारत–पाकिस्तानबीच युद्ध विरामका लागि सहमति भएको थियो । यद्यपि, भारतको जम्मु, श्रीनगर, कुच र अमृतसर क्षेत्रमा युद्ध विराम गरेको केही घण्टापछि नै पाकिस्तानको ड्रोन देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि, अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलामा २६ जना मारिएपछि भारतले आतंकवादी समूह लक्षित गरी पाकिस्तानमा गत मंगलबार र बुधबार सैन्य कारबाही गरेको थियो ।