राजनीतिक नैतिकताका हिसाबले उपेन्द्र यादवको मधेश प्रदेशमा हार !

वैशाख १७, २०८० | काठमाडौं

बारा २ को उपनिर्वाचनबाट जसपा अध्यक्ष उपेन्द्र यादवको संसद प्रवेशलाई धेरै कोणबाट विश्लेषण हुन थालेको छ । मधेश आन्दोलनको उपलब्धीलाई संस्थागत गर्ने नभइ सत्ताका लागि मात्र राजनीति गर्ने पात्रका रुपमा यादवको चित्रण हुन थालेपछि उनी सप्तरीमा पराजित भएको विश्लेषकहरु बताउँछन् । माओवादी नेतृत्वको सरकारमा सहभागि हुने तरखरमा रहँदै गर्दा मधेश प्रदेशमा उनको भूमिका प्रभावकारी हुन नसकेको मात्रै हैन मधेशको मसिहाका रुपमा अन्य शक्ति र व्यक्तिको उदय भइसकेकाले यादवको राजनीतिक भविष्यलाई लिएर पनि प्रश्न उठेका छन् ।

सत्ता गठबन्धनको टेको समाउँदै जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव संसद प्रवेश गर्दैछन् । संसदीय राजनीतिका सातिर खेलाडी यादवको पुनःसंसद प्रवेश गर्ने हुटहुटीलाई यसपटक बारा—२ का जनताले पूरा गरिदिए । गत मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी २ का जनताले नरुचाएका यादवले उपनिर्वाचनको अस्त्र प्रयोग गरेर आफ्नो संसदीय यात्रालाई निरन्तरता दिएका हुन् । पार्टी नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउँदै सोहि निर्वाचन क्षेत्रमा आफ्नो उपस्थितिलाई पक्का गरे । अचम्मको कुरा त के भने, उनलाई एक पटक जनताले अनुमोदन नगरेपनि उनले पटक—पटक संसद प्रवेशको प्रयासलाई जारी राखे । नव गठित दलका नेतासंग सप्तरी २ मा पराजित भएपछि राष्ट्रिय राजनीतिबाट अलग भएका भनिएका उनि पुनः संसद फर्किका छन् । यादवको संसदमा पुनारुदयले मधेशको राजनीतिमा कत्तिको प्रभाव पार्ने हो हेर्न बाँकी छ । तर, धेरैले राजनीतिक नैतिकताका आधारमा मधेश प्रदेशमा उनको हार भएको विश्लेषण गर्दै आएका छन् । विश्लेषक वलराम यादवले सप्तरीमा पराजय भोगेका यादव उपनिर्वाचनमा चुनावी प्रतिस्पर्धा गर्नु नै विरोधाभाष भएको बताउँछन् ।

२०६३ को अन्तरिम संविधानमा संघीयता उल्लेख नभएपछि मधेशमा चर्किएको आन्दोलनले यादवको प्रभाव केन्द्रीय राजनीतिमा देखिएको थियो । उनी नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम टुटफुट हुँदै जसपामा परिणत भएको छ । पार्टीको नाम परिवर्तन हुँदै गर्दा यादवको पछिल्लो राजनीतिक समीकरण मात्रै हैन मुद्दाका प्राथमिकता पनि फेरिएका छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनबाट संसदीय राजनीतिमा उदाएका यादव विभिन्न सरकारमा पटकपटक मन्त्री बनिसके पनि मधेशको मुद्दा सम्बोधनमा पर्याप्त चासो नदेखाएको आरोप लाग्दै आएको छ ।

उसो त मधेशमा शोषण, उत्पीडनलगायतका समस्याबाट उन्मुक्ति दिलाउन मधेश आन्दोलनले महत्वपूर्ण भूमिका खेलेपनि यसलाई संस्थागत गर्न मधेशकेन्द्रीत दलहरु चुक्दै गएको विश्लेषकहरुको ठम्याइ छ । यादवको जीतले स्वयं र पार्टीलाई फलदायी बनाएपनि मधेशमा सामाजिक र आर्थिक रुपान्तरणमा केही पनि बदलाव नआउने अर्को विश्लेषक सुरेन्द्र लाभ बताउँछन् ।

प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरि १६ सांसदको प्रतिनिधित्व रहेको मधेश प्रदेशको सरकार जसपाकै नेतृत्वमा छ । मधेश सरकारको नेतृत्व पाएको जसपा अहिले पुष्पकमल दाहाल नेतृत्वको ९ दलीय गठबन्धनमा छ । उसको प्रतिनिधिसभामा प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरि १२ सांसद भएपनि पार्टी अध्यक्ष यादव थपिएपछि अब संसदमा १३ सांसद पुगेका छन् । तर पटकपटक सत्तामा पुगेर पनि मधेशका मुद्धाप्रति वेखबर बन्दै सत्ताकेन्द्रीत राजनीतिमा रुमल्लिनुले मधेशका जनतामा निराशा बढ्दै गएको छ ।

सत्तारोहणमा लिप्त हुँदा मधेशका मुद्धा विसर्जन हुने मात्र होइन नेताको समेत पतन हुने सम्भावना रहने विश्लेषक यादवको भनाइ छ । पहिलो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव जितेका यादव दोस्रो संविधानसभामा सुनसरीबाट अनुमोदित भए । २०७४ को निर्वाचनमा सप्तरी २ बाट निर्वाचित भएका यादव गत मंसिरको निर्वाचनमा भने विजयी हुन सकेनन् । यद्धपी उपनिर्वाचनमा जित निकालेका यादव संसदमा प्रवेश गरेपनि उनले मधेश आन्दोलनका उपलब्धीलाई संस्थागत गर्ने गरि काम गर्छन् की सत्ताकेन्द्रीत राजनीतिबाट आफ्नो अस्तित्व जोगाउनेतर्फ अग्रसर हुन्छन्, त्यो भविष्यले नै निर्धारण गर्नेछ ।  


प्रतिक्रिया