दूध आयात गर्ने सरकारको तयारी, किसान भने असन्तुष्ट

वैशाख ३०, २०८० | ललितपुर

दुग्ध व्यवासायीले बजारमा दूधको माग पूरा हुन नसकेको भन्दै दैनिक करिब १ लाख २० हजार लिटर दूध भारतबाट आयात गर्न माग गरेका छन् । दैनिक ३० देखि ४० हजार लिटर दूध संकलनमा कमी आएकाले दूध र दहीबाहेक अन्य दुग्ध पदार्थको उत्पादन रोक्का भएको व्यवसायीको भनाइ छ । व्यवसायीको आग्रहपछि सरकारले भारतबाट दूधको आयात गर्ने तयारी गरिरहँदा किसानले असन्तुष्टी जनाएका छन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डले दैनिक करिब १ लाख २० हजार लिटर दूध भारतबाट आयात गर्न सिफारिस गरेसँगै किसानले आपत्ति जनाएका छन् । बोर्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दूध आपूर्ति हुन नसकेको भन्दै ३ महिनाका लागि दैनिक सो मात्रामा दूधको आयात खोल्न सुझाव दिइएको छ । पछिल्लो पटक दूधको खपत घटेको र आन्तरिक उत्पादनले नै पुग्ने किसान अगुवाको भनाई छ । दूधको उत्पादन बढाउन प्रोत्साहन गर्नुको सत्ता आयातको माग गर्नु दूधको मूल्य घटाउने चलखेल भएको चितवन दूध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेको आरोप छ । हाल मुलुकमा माग र खपतको यकिन तथ्यांक नभइकन हचुवाको भरमा दूध आयातको माग गरिएको उनले बताए ।

दुग्ध विकास संस्थान (डिडिसी), नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग संघ लगायतका व्यवसायीले दूधको तत्काल आयात खोल्न माग गरेका छन् । दूधको अभावले बटर, पनिर, चिज, घ्यू लगायत वस्तुको माग पूर्ति गर्न नसकेको भन्दै आफूहरुले दूधको आयात माग गरेको व्यवासायीको भनाई छ । सुख्खा सिजनमा दैनिक ३०–४० लिटर दूधको संकलनमा कमी आउने भएकाले सोही मागलाई पूर्ति गर्नका लागि १ लाख २० हजार दूध आयातका लागि माग गरिएको दुग्ध विकास संस्थानका उप–महाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताए ।

सरकारी तथ्यांक अनुसार मुलुकमा औसतमा वर्सेनी २० लाख बढी मेट्रिक टन दूध उत्पादन हुन्छ । आर्थिक वर्ष २०७५/०७६ मा २० लाख ९२ हजार मेट्रिक टन दूध उत्पादन भएको थियो । वर्ष ०७६/७७ मा २१ लाख ६८ हजार मेट्रिक टन उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा २४ लाख ७९ हजार मेट्रिक टन दूध उत्पादन भएको थियो । उत्पादित दूधको करिब ५० प्रतिशत उत्पादकले नै उपभोग गर्छन् । औपचारिक क्षेत्रले १७ प्रतिशत काँचो दूध संकलन र प्रशोधन गरी विक्री वितरण गर्छन् । बाँकी ३३ प्रतिशत अनौपरिक क्षेत्रले किसानबाट काँचो दूध खरिद गरि प्रशोधन र विक्रीवितरण गरेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । हाल प्रतिव्यक्ति ८२ लिटर दूध उपभोग भएको तथ्यांकले देखाउँछ । यसलाई बढाएर प्रतिव्यक्ति ९१ लिटर पुर्‍याउनु पर्ने लक्ष्य रहेको बोर्डको भनाई छ । दुग्ध व्यवासायीले दूधको माग पुरा गर्न नसकेको र हाल दूध उत्पादनको सिजन नभएको भन्दै बोर्डसँग करिब १ लाख २० हजार लिटर दूधको माग गरे अनुसार आयातको लागि मन्त्रालयलाई सिफरिस गरिएको बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले जनाए ।

दैनिक करिब १ लाख २० हजार लिटर दूध आयात गर्ने सरकारले तयारी गरिरहँदा किसानले भने दूध आयात गरिएमा आन्दोलनसमेत गर्ने चेतावनी दिएका छन् । मुलुकको उत्पादनलाई बजारीकरण गरि आयात प्रतिस्थापन गर्नमा जोड दिनुपर्नेसमेत किसानले सुझाव दिएका छन् । त्यसैले सरकारले दूधको उत्पादन र मागको यकिन तथ्यांक पहिचान गरि आयात गर्ने वा नगर्ने निर्णय लिनु पर्ने देखिएको छ ।  


प्रतिक्रिया