कोरोना महामारीपछि फिल्मकर्मी अझै ढुक्क हुन सकेनन्

जेष्ठ १, २०८० | ललितपुर

कोरोना संक्रमणको जोखिमका कारण धरासयी भएको नेपाली सिने उद्योग पछिल्लो समय केहि लयमा छ । वार्षिक अर्बौ लगानी हुने सिने उद्योगका जोखिम पनि उत्तीकै छ । पछिल्लो समय आर्थिक तरलताका कारण यस उद्योगको भविश्यमाथि विभिन्न अटकलबाजी पनि भएका छन् । प्रतिस्पर्धात्मक व्यापार, गुणस्तर भन्दापनि संख्यामा बढोत्तरी हुँदा हजारौं मानिस आश्रित सिने उद्योग कमजोर बन्दै गएको विश्लेषण भएका छन् । एकातिर विदेशी सिनेको दबदबा अर्कोतिर राज्यको उदाशिनताले उद्योगनै धरासयी हुने अबस्था आएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

कोभिड—१९ संक्रमणको जोखिम कम भएसंगै लयमा फर्किने आश गरेको नेपाली चलचित्र बजार उत्साहित हुन सकेको देखिदैन । चलचित्र विकास बोर्डको तथ्याङक हेर्दा गत वर्ष ५२ वटा नेपाली चलचित्र प्रर्दशनमा आउँदा आधा दर्जन जति चलचित्रले मात्रै सफलता हात पारे । ‘कबड्डी ४’ ले अधिक कमाएको तथ्य सार्वजनिक गरेको बोर्डले कयौं चलचित्रले लगानी पनि नउठाएको तथ्य सार्वजनिक गरेको थियो । कबड्डी ४ को ७ लाख ६६ हजार टिकट बिक्री हुँदा २१ करोड ३८ लाख रुपैयाँ बढी कमाएको थियो ।

बर्षको अन्तिममा प्रर्दशनमा आएको नेपाली फिल्म ‘छक्कापञ्जा ४’ले १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको बोर्डसंग तथ्याङक छ । गत बर्ष प्रर्दशनमा आएका चलचित्रको आँकडा हेर्दा कयौंले लगानी पनि उठाउन सकेनन् भने, कतिपय निर्माताले घाटा व्यहोरेका छन् । आर्थिक क्षेत्र धरासयी हुँदा त्यसको प्रभाव सिनेमा बजारमा देखिएको छ । नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान राज्यबाट उद्योग उपेक्षामा पर्दा धरासयी भएको बताए ।

बढ्दो प्रविधि र कलाकारहरुको महंगो पारिश्रमिकका बीच सरदर २ करोडमा नेपाली चलचित्र बन्ने गरेको सम्वद्ध व्यक्तिहरुको भनाइ छ । चलचित्र विकास बोर्डसँग लगानीसम्म उठाउन नसक्ने चलचित्रको लिष्ट लामै छ । वर्षौ मनोरञ्जनका क्षेत्रमा करोडौं रकम लगानी भएपनि राज्यले चलचित्र क्षेत्रलाई उद्योगका रुपमा रुपान्तरण गर्न नसकेको गुनासो बढ्दो छ । चलचित्र निर्माता कृष्ण मल्लको राज्य मात्रै गम्भिर नभइ स्वयम चलचित्र निर्माता पनि संवेदनशिल हुनुपर्ने तर्क छ । नेपाली दर्शकहरुको रोजाइलाई बुझेर मात्र चलचित्र निर्माण गर्नु नै बुद्धिमत्ता हुने उनले बताए ।

एकपछि अर्को सफल चलचित्र निर्माण गर्दै आएका निर्माता तथा कलाकार दिपकराज गिरी पनि नेपाली दर्शकको रोजाइमा भर पर्ने बुझाइ राख्छन् । संख्यात्मक रुपमा धेरै चलचित्र निर्माण गर्दा उद्योग स्थापित हुने भन्दा पनि व्यसायिक चलचित्र निर्माणले महत्व राख्ने उनको भनाई छ । उस्तै खालका कथा र विषय बस्तुमा चलचित्र बनाउने र हतारमा मुनाफा खोज्ने प्रवृत्तिका कारण उद्योग खस्कीएको कि भन्नेमा गिरीले पनि सहमति जनाए ।

२०७५ देखि २०७९ सालको अन्तिमसम्म पाँच बर्षको अवधिमा २ सय १५ चलचित्र प्रर्दशनमा आउँदा करिब २० चलचित्रले मात्रै नाफा कमाएको बताइन्छ । बर्षौ करोडौं लगानी डुब्दा पनि निर्माणको काम भने नरोकिएको चलचित्र समीक्षक सामीप्य तिमिल्सेनाले बताए ।

पछिल्लो बर्षमा हेर्ने हो भने, नेपाली सिने उद्योगमा चलचित्र निर्माणको संख्यामा बढोत्तरी छ । वार्षिक एक सयका हाराहारीमा नेपाली चलचित्रले निर्माणको अनुमति पाएको विकास बोर्डको तथ्याङक छ । गुणस्तरीय चलचित्र निर्माणमा सहयोग भुमिका निर्वाह गर्ने तालुकदार निकाय बोर्ड पनि हो तर, कति पय अवस्थामा बोर्डले निर्णायक भूमिका नखेल्दा चलचित्र निर्माताहरु टाट पल्टिने जोखिम बढ्ने टिप्पणी भएका छन् । बोर्डका अध्यक्ष भुवन केसी चलचित्रको गुणस्तर मापन गर्ने विषय स्वयम निर्मातासंग हुने भएकाले बोर्डले आधिकारिता मात्रै प्रदान गर्ने बताए ।

चलचित्र मनोरञ्जनको साधन मात्रै नभइ मुलुकलाई चिनाउने एउटा महत्वपुर्ण माध्यम पनि हो । नेपाली चलचित्रले विश्वमा यहाँको कला, संस्कृति तथा पर्यटकिय स्थल चिनाउन महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएपनि नाफा कमाउने उद्धेश्यले छोटो अवधिमा चलचित्र बनाउने होडबाजी चल्दै आएको देखिन्छ । त्यसैले फिल्मकर्मीले संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने हो कि ? 


प्रतिक्रिया