एमालेका लागि आगामी दिन कति सहज !

जेष्ठ ३, २०८०

९ महिनापछि बसेको केन्द्रिय कमिटी बैठकमा भएका बहस र त्यसका आधारमा गरिएको निर्णयलाई हेर्दा एमालेले उपनिर्वाचनको नतिजालाई गम्भीरतापूर्वक लिएको देखिन्छ । उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये चितवन र तनहुँमा अघिल्लो चुनावको तुलनामा बढी मात्रामा पार्टीको भोट घटेको एमालेको निष्कर्ष छ । मिसन ग्रासरुट अभियान चलिरहँदा भएको उपनिर्वाचनको नतिजाले वर्तमान सरकारको विकल्प आफ्नो पार्टी हुन नसकेको उसको ठम्याई छ । एमाले सचिव योगेश भट्टराई उपनिर्वाचनको नतिजाबारे केन्द्रिय कमिटी बैठकमा चिन्ता व्यक्त भएको बताए । गत मंसिर र बैशाखमा भएको निर्वाचनबाट एमालेलाई आशातित नतिजा नआएकोले अब नयाँ रणनीतिका साथ अघि बढ्ने उनको भनाई थियो ।

राष्ट्रिय राजनीतिमा नयाँ शक्ति र अनुहारको उदय भइरहँदा परम्परागत र पुराना भनिएका अन्य दलजस्तै एमालेभित्र पनि शुद्धिकरणको बहस भएका छन् । खासगरी गत निर्वाचनहरुमा शहरी इलाकामै आफ्नो जनाधार खस्किएको निष्कर्षमा पुगेको एमालेले संगठन विस्तारका लागि बार्षिक कार्ययोजना नै पारित गरेको छ । मिसन ग्रासरुटको समिक्षा र बैठकमा भएका छलफलका निष्कर्षका आधारमा कार्ययोजना बनाइएको नेताहरुले बताएका छन् । एमाले सचिव पद्मा अर्याल नविकरण भइसकेका सदस्यको रेकर्ड अद्यावधिक गराउने समय तोकिएको र अभियानका शिलशिलामा छुटेकालाई प्रत्यक्ष भेटेर गराउने गरी अघि बढेको बताउँछिन् ।

अन्य दलको तुलनामा संगठनको दृष्टिले चुस्त ठानिएको एमाले स्वयम्ले केन्द्रिय कमिटीभित्रको बहसमा पार्टीका कमिटीहरू भद्दा भएको निष्कर्ष निकालेको छ । अब पार्टी कमिटीलाई चुस्त बनाउन बर्षभरि कार्यक्रम गर्ने एमालेको तयारी छ । त्यसका लागि प्रदेशदेखि वडा कमिटीसम्म अधिवेशन गर्ने निर्णय भएको एमाले नेताहरुले बताएका छन् । केन्द्रिय कमिटीले बनाएको कार्ययोजनालाई कागजमा सीमित नगरी वास्तविक अर्थमा कार्यान्वयन गर्नुपर्ने देखिएको नेताहरुको भनाइ छ । एमाले नेता विन्दा पाण्डेले आजका मितिसम्म चलेको हिसावले निर्णयका लागि निर्णय हुने बताइन् । पार्टी पंक्तिलाई योजनाबद्ध तरीकाले अघि बढे गरेका निर्णय कार्यान्वयनमा खासै कठिन नभएको उनको भनाई छ ।

संगठन विस्तारसँगै एमालेले जनप्रतिनिधिहरू र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन पार्टीका संरचनालाई क्रियाशील बनाउने योजना समेत बनाइएको छ । डेलिभरीमार्फत् सुशासन, सुशासनसंगै डेभलपमेन्टको अवधारणामा अब सेवा प्रवाहको कार्यक्रम सञ्चालन गरिने एमालेले जनाएको छ । संगठन विस्तारमा केन्द्रित हुनुपर्ने एमालेको निष्कर्षको पृष्ठभूमिमा मंसिरको मुख्य निर्वाचन र वैशाखको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नयाँ दलले पाएको सफलताले आगामी चुनावमा पार्टीलाई पर्न सक्ने चुनौतीको पूर्वानुमान खास कारण देखिन्छ । त्यसैले एमालेले अब पार्टीभित्रै शुद्धिकरण गर्दै जनमुखी बनाउने नीति लिइएको नेताहरुले बताए । एमाले नेता विशाल भट्टराई राष्ट्रियता परित्याग गरेर अर्काको देशका लागि लाखौं रुपैयाँ खर्च गर्ने नेपाली मनोविज्ञान भ्रष्टकिरणका लागि पुल बनेको र आफ्ना पार्टीका सचिव समेत मुछिएपछि निलम्वन समेत गरीसकेको उनको भनाई छ । नेतृत्व समाजकै उपज भएकाले त्यस्ता समस्या देखिए पनि शुद्धिकरण गर्दै जनमुखी पार्टीका रुपमा विकास गर्ने उनी बताउँछन् ।

मंसिर ४ गतेको निर्वाचनमा समानुपातिकतर्फ २८ लाख भन्दा बढी मतसहित ३४ सिट जितेको एमालेले प्रत्यक्षतर्फ भने ४४ सिट जितेको थियो । पार्टी विभाजनको मार खेपेपनि चुनावमा खासै असर नपरेको सन्देश दिन सफल एमालेले अब संगठन विस्तारलाई कसरी सञ्चालन गर्छ र आगामी दिनमा पार्टीलाई कुन ढंगमा बढाउन सक्छ भन्ने आधारमा उसले खोजेको शक्ति निर्माणको चाहना पुरा हुन सक्छ ।  


प्रतिक्रिया