मनसुनमा कम वर्षा हुने, किसानलाई पूर्व तयारी गर्न विज्ञहरुको सुझाव

जेष्ठ ९, २०८० | ललितपुर

सामान्यतयः आकाशे पानीको भर पर्नुपर्ने बालीका लागि मनसुनको समय महत्वपूर्ण मानिन्छ । पानी कम पर्दा त्यसको प्रत्यक्ष असर बाली उत्पादनमा पर्ने विज्ञहरुले बताउँदै आएका छन् । यो वर्षको मनसुनको समयमा पानी कम पर्ने देखिएकाले मुख्यगरी धान बालीमा असर पर्ने विज्ञहरुले बताएका छन् । त्यसैले उनीहरुले पर्याप्त पानी नहुँदा निम्तिने असरबाट जोगिनका लागि पूर्व तयारी गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

नेपालमा सामान्यतय जुन १३ देखि अक्टोबर २ सम्म मनसुन रहन्छ । मनसुनको ४–५ महिना कृषि उत्पादनका लागि उपयुक्त मानिन्छ । सोही समयमा मुलुकको मूख्यबाली धान खेती गरिन्छ । सरकारी तथ्यांक अनुसार देशभर ३० लाख ९१ हजार हेक्टर खेतियोग्य जमिनमध्ये करिब १५ लाख हेक्टर क्षेत्रफलमा धान रोपाई वर्षेनी हुन्छ । तर यो वर्ष मनसुनमा औसतभन्दा करिब ३५ देखि ५५ प्रतिशत न्यून पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालको हकमा मनसुनको समयमा कृषि क्षेत्र बढी प्रभावित हुने मौसमविद् रोजन लामिछाने बताउँछन् ।

सरकारी तथ्याङ्क अनुसार देशभर ३० लाख ९१ हजार हेक्टर क्षेत्रफल खेतियोग्य जमिनमध्ये करिब ६ लाख हेक्टर क्षेत्रफलमा मात्र सिँचाई सुविधा पुगेको छ । बाँकी २४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा आकाशे पानीको भरमा खेती हुन्छ । गत वर्ष १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो र ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष भने त्यसको तुलनामा उत्पादन घट्ने अनुमान गरिएको छ । पानी नपरेमा धानको विउ रोपाईमा असर पर्नुका साथै उत्पादनमा करिब १० प्रतिशत गिरावट आउने अनुमान गरिएको छ । खेतीको मुख्य समयमा सधै जसो मल र विउको समस्या किसानले खेप्ने गरेका छन् । तर यो वर्ष आकाशे पानीले समेत साथ नदिने भएपछि उत्पादन घट्ने कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ महादेव प्रसाद पौडेलले बताए ।

सरकारी तथ्यांक अनुसार मुलुकमा वर्सेनी औसतमा ५० लाख मेट्रिक टन धान उत्पादन हुन्छ । मुख्यगरी झापा, मोरङ, सुनसरी, धनुषा, पर्सा, रुपन्देही, बर्दिया, कैलाली, कन्चनपुर लगायतका जिल्लामा धानको उत्पादन बढी हुन्छ । ७ वटा प्रदेश मध्ये धानको उत्पादन बढी हुने मधेश प्रदेश हो । सो प्रदेशमा १४ लाख मेट्रिक टन बढी धान उत्पादन हुन्छ । यस्तै, कोशी र लुम्बिनी प्रदेशमा १२ लाख मेट्रिक टन बढी धान उत्पादन हुन्छ । यस्तै, बागमती र सुदुरपश्चिम प्रदेशमा ५ देखि ६ लाख मेट्रिक टन उत्पादन भएको तथ्यांकमा उल्लेख छ । गण्डकीमा करिब ४ लाख मेट्रिक टन र कर्णलीमा करिब साढे एक लाख मेट्रिक टन धान उत्पादन हुन्छ । मुलुकका अधिकांश क्षेत्रमा पूर्णरुपमा सिँचाई सुविधा नपुगेकोले आकाशे पानीकै भरमा धान रोपाई गर्नुपर्ने बाध्यता छ । त्यसैले यो बर्ष कम पानी पर्ने भएपछि त्यसका लागि किसानले पूर्व तयारी गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

किसानले मल र विउ नपाउनु सधैको समस्या हो । त्यसमाथि यो वर्ष कम पानी पर्ने अनुमान भएसँगै किसानले धानको विउ छनौटमा विशेष ध्यान दिनुपर्ने देखिएको छ । यस्तो अवस्थामा आकाशे पानी संकलन गर्न र कम पानी भएपनि बाली लगाउन सकिने धानको छारुवा खेति गर्न कृषि वैज्ञानिक रामबहादुर केसीको सुझाव छ । राधा–४, धैया धान र सुख्खा धान–१, सुख्खा धान–२ देखि सुख्ख धान–६ सम्म प्रयोग गर्न सक्ने उनको सुझाव छ । यसका साथै धानको वैकल्पिक बालीका रुपमा मकै, कोशेबाली भटमास, सिमी लगायत बाली रोप्न सकिने केसीले बताए ।

मुलुकमा करिब ६० प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेति गरिन्छ । मनसुनमा कम पानी पर्ने अनुमान गरिएको हुँदा धान उत्पादनमा आउने कमीले समग्र कृषि क्षेत्रलाई असर पार्ने देखिएको छ । जसका कारण नेपाली बजारमा हुने चामलको माग धान्न फेरि पनि धान वा चामलका लागि आयातमा बढी निर्भर हुनुपर्ने बाध्यता नहट्ने निश्चित छ । 


प्रतिक्रिया