रास्वपाको एक वर्षः उदय र विवाद एक अर्काका पर्याय जस्तै

असार ८, २०८० | काठमाडौं

वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा स्थापनाको १ वर्ष पुरा भएको छ । गठन भएको पहिलो बर्षमै प्रतिनिधिसभाको चौथो ठूलो दल बन्न सफल सो पार्टीले यो अवधिमा राजनीतिक रुपमा थुप्रै उतारचढाव बेहोरेको छ । केही महिना मात्र सत्तामा गएको रास्वपा अहिले प्रतिपक्षीको भूमिकामा छ । राजनीतिक सिद्धान्त र वैचारिक दृष्टिकोणले स्पष्ट भइनसकेको सो पार्टीको राजनीतिक भविष्यलाई लिएर विभिन्न कोणबाट टिकाटिप्पणी र बहस भइरहेका छन् ।

टेलिभिजन कार्यक्रमबाट पाएको लोकप्रियतालाई उपयोग गर्दै रवि लामिछानेले आफ्नै संयोजकत्वमा गत वर्ष असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए । भ्रष्टाचार न्यूनीकरणलाई मुल मन्त्र बनाएर युवा जमातले पार्टी घोषणा गर्दा आम नेपालीको ध्यान खिचेको थियो । पार्टी गठनको ६ महिनामै संसदीय निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी २० सिट सहित प्रतिनिधिसभामा चौथो दल बन्यो र उपनिर्वाचनबाट एक सिट थप्न सफल भयो । सो पार्टीको दाबी अनुसार अहिलेसम्म १ लाख २५ हजार जनाले अनलाईनबाट सदस्यता लिइसकेका छन् भने ३ लाख ५० हजार हाराहारीमा प्रमाणिकरण हुन बाँकी छ । प्रवासमा बस्ने नेपालीहरु समेत जोडिने क्रम बढेको रास्वपाले जनाएको छ ।

एक बर्षको अवधिमा रास्वपा राष्ट्रिय राजनीतिमा थुप्रै उतार चढाव र विवादको शृङ्खलाबाट गुज्रिएको छ । सभापति लामिछाने नागरिकता विवादमा मुछिएपछि सांसद पद नै खारेजीमा पर्‍यो । भलै उपविर्नाचनमा अध्यधिक बहुमत सहित उनी पुनः सांसद बने । घुस टेप प्रकरणमा सांसद ढाकाकुमार श्रेष्ठ मुछिएपछि पार्टीको छवीमै गम्भिर प्रश्न उठेको थियो । यद्यपी पार्टीले उनलाई तत्कालै निलम्बन गर्‍यो । गत पुसमा करिब एक महिना गृहमन्त्री भएका लामिछानेको कार्यकालमा राष्ट्रिय परिचयपत्रमा रहेका विवरण रुजु गर्ने अधिकार निजी कम्पनीलाई दिने निर्णयले अर्को विवाद सिर्जना गरेको थियो । पछिल्लो १ वर्षमा रास्वपाको उदय र विवाद एक अर्काका पर्याय जस्तै बने । तर पार्टीका उपसभापति डोलप्रसाद अर्याल आफूहरु नयाँ दल भएको र भ्रष्टाचार विरोधी अभियान छेडेकाले पनि पार्टीप्रति आक्रमण हुनुलाई स्वभाविक रुपमा लिईएको बताउँछन् ।

वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएपनि रास्वपाले लिने विचार र सिद्धान्त स्पष्ट भईसकेको छैन । पार्टीको नीति तथा विचार विभागले तयार पारेको पार्टीको सैद्धान्तिक मस्यौदामा अहिले तिब्र बहस चलिरहेको छ । गणतन्त्र, संघीयता, शासकीय स्वरुप, धर्म निरपेक्षता, अर्थनीति लगायतका विषयमा पार्टीले कस्तो धारणा तय गर्छ आम चासोको विषय छ । अर्कोतर्फ पार्टीमा महाधिवेशन भईसकेको छैन । संगठनात्मक स्थिरता र पार्टीले लिने सैद्धान्तिक विचारले उसको भविष्य निर्धारण गर्ने राजनीतिक विश्लेषक डम्वर खतिवडा बताउँछन् ।

परम्परागत दलहरुको तुलनामा रास्वपाको संसदीय अभ्यास नौलो हो र सबै अनुहार समेत नयाँ छ । छोटो अवधिमा सत्तापक्ष र प्रतिपक्षीको भूमिका सो पार्टीले निर्वाह गरिरहेको छ । फरक विचार र पृष्ठभुमीबाट आएका सांसदहरुले प्रतिनिधीसभामा जनसवालका विषयहरुलाई महत्वका साथ उठाउने प्रयास गरिरहेका छन् । संसदमा आफूहरुले सशक्त भूमिका निर्वाह गर्न खोजेपनि अंक गणितका कारण कतिपय सन्दर्भमा सफल हुन नसकेको सो पार्टीकी सांसद सुमना श्रेष्ठको भनाई छ ।

उप–नीर्वाचनको सम्मुखमा कंग्रेस परित्याग गरेका डा. स्वर्णिम वाग्लेलाई पार्टी प्रवेश गराउँदै तनहुँबाट जिताउन सफल भएपछि रास्वपाको पार्टी पंक्ति उत्साहित छ । यसैबीच, पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले सेलिब्रेटी बैंकर अनिल केशरी शाहलाई पनि पार्टीमा प्रवेश गराएर प्रशिक्षण विभागको जिम्मेवारी दिएको छ । सत्ता राजनीतिक समिकरण जे भएपनि मुलुकमा मुख्यतय लोकतान्त्रिक र बाम घटकको बाहुल्यता छ । यस्तो अवस्थामा कतिपयले रास्वपालाई लोकतान्त्रिक दलको विकल्पको रुपमा समेत विश्लेषण गरिरहेका छन् । रास्वपा कंग्रेसका लागि चुनौती बन्न सक्ने कंग्रेसका युवा नेता एवं सांसद प्रदिप पौडेलको टिप्पणी छ ।

रास्वपाले राजनीतिमा युवाहरूलाई जोड्न र मतदानमा सहभागिता जनाउन उत्साह ल्याएको छ । संगै परम्परागत दलहरुप्रतिको वितृष्णा अन्त्य गर्ने एउटा गतिलो विकल्पको रुपमा देखिन खोजेको छ । आशा र निराशाकाबीच उदाएको राजनीतिक शक्तिको भविष्य भने उसले अंगीकार गर्ने नीति र व्यवहारबाटै प्रष्ट हुनेछ ।


प्रतिक्रिया