‘गणितको नतिजा सुधार हुन सकेन’

असार ३१, २०८०

माध्यमिक शिक्षा परीक्षा एसईईको विगत दुई वर्षको नतिजाको तुलनामा २०७९ सालको नतिजा सुधारिएको राष्टिय परीक्षा बोर्डले दाबी गरेको छ । यसअघिका नतिजाको तुलनामा यसवर्ष विद्यार्थीले केही मेहेनत गरेको देखिन्छ । प्रयोगात्मक परीक्षाको नम्बर पाउने विषयमा धेरै विद्यार्थीले नतिजा राम्रो गरेका छन् । तर सैद्धान्तिक विषय विशेष गरी गणित विषयको नतिजा सुधार हुन सकेको छैन ।

माध्यमिक शिक्षा परीक्षा २०७९ सालको नतिजा सुधारिएको सरोकारवाला पक्षहरुले बताएका छन् । यसअघि कोभिडका कारण भौतिक रुपमा कक्षाकोठामा प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्न नपाएका विद्यार्थीले यो बर्ष उपस्थितिमै अध्ययन गर्न पाउंदा नतिजा सुधारिएको कतिपयको बुझाई छ । तर मुख्य मानिएका अनि बढी मेहेनत गर्नुपर्ने विषयमा राम्रो नतिजा हासिल गर्ने विद्यार्थीको संख्या कम छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्ब राज कंडेल सबै विषयको नतिजा सन्तोषजनक भए पनि गणित, विज्ञान र ऐच्छिक विषयमा भने उत्साहप्रद नतिजा नभएको बताउंछन् ।

यस वर्ष ३ दशमलव ६ शुन्य देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ जना अर्थात् कुल विद्यार्थी संख्याको ४ दशमलव ६३ प्रतिशत छन् । जुन गत वर्ष १ दशमलव ८४ प्रतिशत अर्थात ९ हजार ६सय ३३ जना थिए । यो नतिजा हेर्दा पनि नतिजा सुधारिएको देखिन्छ । यस्तै ३ दशमलव २ शुन्य देखि ३ दशमलव ६शुन्य जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ११ दशमलव ३६ अर्थात् ५५ हजार ६९ जना रहेको छ । जुन गत वर्ष ८ दशमलव ४० अर्थात् ४१ हृजार ६ सय २७ जना थिए । यीनै तथ्यांक केलाउने हो भने पनि नतिजामा सुधार देखिएको छ । विश्व निकेतन माविका प्रधानाध्यापक कंडेल अहिलेको पाठ्यक्रम बोझिलो समेत रहेको बताउंछन् । विषयगत शिक्षक नहुंदा पनि मुख्य विषयमा राम्रो नतिजा आउन नसकेको उनको बुझाई छ ।

प्रयोगात्मक अंक दिइने विषयमा विद्यार्थीले उच्च ग्रेड ल्याएका छन् भने प्रयोगात्मक अंक प्रदान नगरिने विषयमा धेरै विद्यार्थीले ई ग्रेड ल्याएका छन् । शिक्षाविद विद्यानाथ कोइराला प्रयोगात्मक परीक्षाको नम्बर नदिइने विषयमा प्राप्तांक घटेको बताउंछन् । विद्यार्थी, अभिभावकको चाहना अनुसार पठनपाठनको व्यवस्था गर्न सके नतिजा राम्रो हुन सक्ने उनको भनाई छ ।

अनिवार्य गणित विषयमा सबैभन्दा धेरै अर्थात् एक लाख ५५ हजार ४ सय ५८ जना विद्यार्थीले ई ग्रेड ल्याएका छन् । प्रयोगात्मक अंक दिन मिल्ने विषय अनिवार्य अंग्रेजी र विज्ञानमा ई ग्रेड ल्याउने विद्यार्थीको संख्या ४ सय ७ र एक हजार ७ सय २१ जना मात्रै छन् । लेटर ग्रेडिङ निर्देशिका अनुसार परीक्षार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फ ल्याएका अंकलाई जोडेर ग्रेड निर्धारण गरिन्छ । जसका कारण सैद्धान्तिकमा थोरै अंक प्राप्त गर्नेले पनि प्रयोगात्मकतर्फको अंकको सहयोगका कारण राम्रो ग्रेड प्राप्त गरेको देखिन्छ । आगामी वर्षदेखि भने हरेक विषयमा सैद्धान्तिकतर्फ अनिवार्य ३५ अंक ल्याउनै पर्ने व्यवस्था लागु हुदैछ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा दुई वर्षको नतिजाको तुलनामा सुधार भएको बताउंछन् ।

पछिल्लो समय परीक्षाका लागि स्तरीकृत प्रश्नपत्रको व्यवस्था गरिएको छ । मध्मम ६०, कठिन २० र सहज २० प्रतिशत समेटेर प्रश्नपत्र निर्मांण गरिन्छ । जसका कारण पनि धेरै विद्यार्थीको नतिजामा सुधार आएको देखिन्छ । माध्यमिक शिक्षा परीक्षा एसईईका परीक्षा नियन्त्रक विष्णु नारायण श्रेष्ठ अन्य विषयमा प्रयोगात्मक परीक्षाको अंकका कारण समग्र नतिजा राम्रो देखिए पनि गणितमा कमजोर नै रहेको स्वीकार्छन् ।

यसअघिका वर्षको नतिजामा पनि गणित विषयमा सबै भन्दा धेरै विद्यार्थी कमजोर देखिएका थिए । यस पटक पनि अन्य विषयको तुलनामा गणित विषयमा नै विद्यार्थी कमजोर देखिएका छन् । कतिपय विद्यालयमा शिक्षक दरबन्दी अनुसारको व्यवस्था नहुंदा पनि यो अवस्था सिर्जना भएको हो । त्यसकारण गणित विषयमा विद्यार्थी कमजोर हुनाको कारण पत्ता लगाएर सोही अनुसार नियामक निकायले व्यवस्था गर्नुपर्ने देखिएको छ । 


प्रतिक्रिया