‘मनसुनमा पर्याप्त वर्षा नहुँदा पानीको हाहाकारदेखि पर्यावरणीय सन्तुलन बिग्रंदो’

श्रावण २३, २०८० | काठमाडौं

मनसुन अवधिमा हुनुपर्ने वर्षा नभएपछि जनजीविकासंग प्रत्यक्ष असर पर्ने खालका समस्या खडा हुने देखिएको छ । पर्याप्त वर्षा नहुँदा धानबालीको पकेट क्षेत्र मानिएको मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा सबै भन्दा कम ५९ प्रतिशत मात्र रोपाइँ भएको छ । यस्तै पानीको सतह घटेपछि मधेश प्रदेशमै खानेपानीको पनि हाहाकार सुरु भएको छ । मनसुनको अवधिमा औषत भन्दा कम वर्षा भएपछि जलविद्युत उत्पादनमा समेत समस्या देखिने भएको छ ।

पानी नपरेर रोपाइँको सिजनमा धान रोप्न नसकेर र केही रोपाइँ भएका धान सुक्ने अवस्था भएपछि आफूहरु मर्कामा परेको जनकपुरको धबौलीस्थित शहिदनगर नगरपालिकाका किसान फल्तु गोसाईले बताए । ‘हाम्रो गाउँघरमा पानी नपरेको हुनाले हामी किसान सबै मर्कामा परेका छौं । रोपाइँ अलि अलि भएको छ । तर, रोपेको धान पनि सबै सुकिसकेको छ ।’ उनले भने ।

उनको समस्याले तराई क्षेत्रका अधिकांश किसानको प्रतिनिधित्व गर्छ । कैलाली, कञ्चनपुर, सुर्खेत, बाँके, भैरहवा, दाङ, सिमरा, जनकपुर, धनकुटा लगायतका स्थानमा औषत भन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको बुलेटिनमा उल्लेख छ । सो बुलेटिन अनुसार ती क्षेत्रमा मनसुन सुरु भएपश्चात जुलाई अन्तिमसम्म सरदर भन्दा ५० प्रतिशत कम वर्षा भएको छ ।

यस्तै, मुलुकभर मनुसन सुरु भएदेखि हालसम्म ४४ दशमलव ५ प्रतिशत वर्षा भएको छ । मनसुन अवधिमा नेपालमा सरदर १ हजार ४ सय ७२ मिलिमिटर वर्षा हुने गर्दछ । जुलाई अन्तिमसम्ममा नेपालमा ६ सय ५५ दशमलव ५ मिलिमिटर मात्र वर्षा भएको छ ।

तथापी केही स्थानमा भने औषत र सो भन्दा बढी वर्षा भएको छ । डडेलधुरा, दिपायल, जुम्ला, लुम्ले, पोखरा, काठमाडौं, जिरी, ओखलढुंला, धरान, विराटनगर, ताप्लेजुङ्, तथा जोमसोममा औषत र सो भन्दा बढी वर्षा भएको छ ।

विगत केही दशकहरूमा नेपालमा मनसुनको ढाँचा र समग्र वर्षामा परिवर्तन हुँदै आएको छ । मनसुनमा समेत खडेरीका कारण धेरै किसानले खेती नै लगाउन पाएनन् । ‘अहिले तराईका प्राय क्षेत्रमा धाँज फाटिएको देखिएको छ । कृषिलाई यसले असर गर्‍यो । अझै बढी भयो भने खानेपानीकै हाहाकार हुन्छ ।’ जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेल भनिन् ।

नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि हो, जसले अधिकांश जनसंख्यालाई रोजगारी समेत दिएको छ । तर, घट्दो वर्षाले कृषि उत्पादकत्वमा ठूलो असर पारेको छ । सिंचाइको लागि पानीको उपलब्धता कम हुँदा बाली उत्पादनमा कमी आएको छ । सिंचाई नहुँदा फसल समेत राम्रो उत्पादन भएको छैन । साउनको तेस्रो सातासम्म कुल धान रोपिने क्षेत्रफलको ८२ प्रतिशतमा मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । पर्याप्त वर्षा भएको अवस्थामा समेत विदेशबाट खाद्यन्न आयात गरिहेको हालको अवस्थामा कम वर्षाले उत्पादनमा हृास आउँदा विभिन्न समस्याहरु आउने मन्त्रालयले जनाएको छ ।

नेपालमा ऊर्जाको माग पूर्तिका लागि जलविद्युत एउटा मुख्य स्रोत हो । तर, वर्षा कम हुँदा नदी र जलाशयको पानीको स्तरलाई समेत असर गर्ने जोखिम देखिएको छ । मुलुकका अन्य ड्याम साइटमा पानी भरिएपनि कुलेखानी ड्याम साइट अझै नभरिएकाले हिउँद याममा भने विद्युत उत्पादनमा केही हृास आउन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । कुलेखानीमा १ सय मेगावाट क्षमताको विद्युत उत्पादन हुँदै आएको छ । ‘कुलेखानी ड्याममा समयमा पानी पर्याप्त परेन भने सुख्खायाममा प्रणाली सञ्चालनमा गाह्रो हुन्छ ।’ प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले थपे, ‘हिउँद याममा दैनिक १ सय मेगावाट क्षमताको विद्युत उत्पादन घट्न सक्छ ।’

कम वर्षाको प्रभाव मानव गतिविधिहरु भन्दा बाहिर फैलिएको छ । यसले नेपालको विविध पारिस्थितिय प्रणालीलाई पनि असर गर्ने विश्लेषण भएका छन् । वन्यजन्तुहरूले समेत पानी पिउनका लागि चुनौतीको सामना गर्नुपर्ने जलवायु विज्ञ बताउँछन् । जसका कारण जनावरहरूको व्यवहार र बासस्थानमा परिवर्तन आउन सक्छ । नदीमा पानीको सतह कम हुँदा जलमा आश्रित जनावरलाई समेत असर गर्ने जोखिम बढेको छ । माछाको स्थानान्तरण, प्रजननमा बाधा पुर्‍याउने, नदी र खोलाहरूको समग्र जैविक विविधतालाई समेत असर गर्छ । ‘जंगली जनावरसँगै घरपालुवा जनावरले समेत जुन स्रोतबाट पानी उपभोग गर्दै आएका हुन्छन्,’ जलवायुविद् सुजाता तामाङले भनिन्, ‘त्यो दिगो नहुन सक्छ ।’

कम वर्ष भएसँगै उत्पन्न हुन सक्ने समस्यालाई पहिचान गरी आगामी रणनीति अहिलेदेखि नै तर्जुमा गर्नुपर्ने देखिएको छ । कतिपय स्थानमा पानीको सतह घटेर खानेपानीको समेत हाहाकार हुन थालेको छ । वर्षा कम हुँदा पानीको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने हुने विज्ञहरु बताउँछन् । जसअन्तर्गत वर्षाको पानी सकंलन, पानी संरक्षण र पानी पुनःप्रयोग जस्ता प्रभावकारी अभ्यासहरू लागू गर्नाले सुख्खा अवधिमा पानीको उपयोगलाई अनुकूलन गर्न मद्दत पुग्ने जनाइएको छ ।

त्यस्तै, खडेरी प्रतिरोधी र जलवायु प्रतिरोधी बालीलाई प्रवर्द्धन गर्नाले किसानहरूलाई मौसम परिवर्तनको ढाँचा अनुकूल खेती गर्न मद्दत पुग्न सक्ने देखिएको छ । ‘पानीको स्रोत हुने सिमसार क्षेत्र जोगाउनुपर्छ’, जलवायु विज्ञ तामाङले भनिन्, ‘बोटविरुवा लगायतका वातावरणीय क्षेत्रलाई जोगाउनु आवश्यक छ ।’

कृषि, जलविद्युत उत्पादन र समग्र सन्तुलनलाई असर गर्ने चुनौती खडा भएको छ । ती चुनौतीका सामना गर्न प्रभावकारी जल व्यवस्थापन रणनीतिहरू लागू गर्ने, कृषि अभ्यासलाई विविधीकरण गर्ने, नवीकरणीय ऊर्जा स्रोतहरूमा लगानी गर्ने लगायतका उपाय अवलम्वन गर्न विज्ञले सुझाएका छन् । 


प्रतिक्रिया