‘नाम जस्तै सुवासिला सुवास नेम्वाङ ’

भाद्र २७, २०८०

नेपालको संसदीय इतिहाससाग जोडिएको एउटा नाम हो, सुवास नेम्वाङ । उनी आफ्नो नाम जस्तै सुवासित थिए । कानूनी पृष्ठभूमिका नेम्वाङ जति तर्कशील थिए उत्तिकै शालिन, भद्र र मिजाशिला राजनीतिज्ञ हुन् । त्यसैले समकालिन राजनीतिमा उनी सबैका प्रिय पात्र थिए । ३२ बर्षको संसदीय यात्रामा अविचलित व्यक्तित्व सुवास नेम्वाङले अन्तरिम संसददेखि संविधान जारी गरेको संविधानसभाको समेत नेतृत्व गरे । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधान निर्माण कालखण्डको सवैभन्दा कठिन समयमा संसदको नेतृत्व गर्ने अवसर उनले पाए । इलामको सुन्तलाबारीमा २००९ साल फागुन २८ मा आमा अपिन्द्र कुमारी र बुबा रामवहादुरका जेष्ठ सन्तानको रुपमा जन्मिएका सुवासले राजनीति र कानुनी क्षेत्रमा महत्वपुर्ण योगदान गरेका थिए । बुबा रामवहादुर नेम्वाङ न्यायाधीस भएकाले उनले पनि कानूनको अध्ययन अघि बढाउंदै आफूलाई राजनीतिमा समाहित गरे । 

नेम्वाङका जीवनको ५ दशक भने सक्रिय राजनीतिमा बित्यो । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुकातर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति भए । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा मालेमा संगठित सदस्य बनेका थिए । २०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुंदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनित भए । एमालेको साताौ महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । एमालेको पदाधिकारीमा पहिलो पटक छानिएका नेम्वाङ २०७८ सालमा दशाौ महाधिवेशनबाट उपाध्यक्ष बनेका थिए । उनको संसदीय यात्रा २०४८ बाटै शुरु भएको हो । विक्रम संवत् २०४८ र २०५२ सालमा नेम्वाङ राष्ट्रिय सभाका सदस्य रहे । २०५२ सालमै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनेका थिए । 

२०५६ सालको संसदीय चुनावमा इलामबाट विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, त्यसपछि सामान्य प्रशासनमन्त्री बने । २०५७ सालमा उनी संसद्को सार्वजनिक लेखा समितिको सभापति थिए । लेखा समितिले त्यतिवेला उठाएका बिषय र गरेका निर्णयलाई नेपालको संसदीय इतिहासमा महत्वपुर्ण मानिन्छ । २०६२/६३ को दोस्रो जनआन्दोलनपछि गठित अन्तरिम संसदमा उनी सभामुख भएका थिए । यस्तै २०६४ र २०७० सालको चुनावमा इलामबाटै निर्वाचित नेम्वाङ संविधानसभाको अध्यक्ष बने । २०७४ साल र २०७९ सालको आम चुनावमा नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । समग्र गरी उनी चार पटक सभामुख भए । उनी वरिष्ठ अधिवक्ता समेत थिए । 

उनले नेपाल ल क्याम्पसमा १३ बर्ष अध्यापन गरेका थिए । त्यस्तै, नेपाल वारको महासचिव समेत भएका थिए । नेम्वाङलाई कानूनी क्षेत्रमा समेत निष्कंलक र सादगी व्यक्तित्वको रुपमा लिने गरिन्छ । विधिको शासन, संसदीय अभ्यास र प्रक्रियाका अब्बल व्यक्तित्व नेम्वाङले अन्तरिम संसददेखि संविधानसभासम्म दलहरुबीच समझदारी कायम गर्न मध्यमार्गी भूमिका निर्वाह गरेका थिए । वामपन्थी राजनीति हुादै लोकतान्त्रिक आन्दोलन र संसदीय घटनाक्रममा अविचलित योद्धा उनै नेम्वाङले पुर्‍याएको योगदानको सुवास लामो सम्म रहने निश्चित छ ।   


प्रतिक्रिया