नेपालमा माइस टुरिजम विकासमा कानूनी अड्चन बाधक

आश्विन ४, २०८० | काठमाडौंं

पर्यटन क्षेत्रमा प्रचलित एउटा अवधारणा “माइस टुरिजम” हो । मेला, सभा–सम्मेलन र विवाह समारोहका लागि पर्यटक भित्र्याउनुलाई माइस टुरिजमको परिभाषाभित्र राखिएको छ । माइस पर्यटनलाई महत्व र प्राथमिकता दिएर इन्डोनेसिया, थाइल्याण्ड, फिलिपिन्स लगायत देशले हरेक वर्ष लाखौ पर्यटक भित्र्याउँदै आएका छन् । पर्यटन क्षेत्रका लागि प्रसिद्ध मानिएको नेपालमा भने माइस पर्यटनले खासै महत्व पाएको छैन । जानकारहरुका अनुसार कानूनी अड्चनका कारण माइस पर्यटन नेपालमा प्रभावकारी हुन सकेको छैन ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् १९८७ मा नेपालमा आयोजित तेस्रो सार्क शिखर सम्मेलनका क्रममा नेपालमा माइस टुरिजमको अवधारणा ल्याईएको थियो । ३५ वर्षअघि देखि नेपालमा माइस टुरिजमको अवधारणा सुरु भएपनि यसका लागि आवश्यक पर्ने नीतिहरु तयार हुन सकेका छैनन् । नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सास्कृतिक सम्पदा लगायत पर्यटकीय स्थलको अवलोकन गर्न वर्षेनी ठूलो मात्रामा पर्यटक आउने गरेका छन् ।

 सन् २०२२ मा ६ लाख १४ हजार १ सय ४८ पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । सन् २०२३ को ९ महिनामा ४ लाख ७६ हजार ४ सय ८१ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या हेर्दा नेपालमा पर्यटन क्षेत्र लयमा फर्किदै गएको अवस्थामा माइस टुरिजमबाट समेत पर्यटक भित्र्याउन सकिने देखिन्छ ।

नेपालमा निर्माण भएका अन्तराष्ट्रिय सम्मेलन केन्द्रहरुको सदुपयोग गर्दै पर्यटकीय स्थलमा माइस टुरिजमका लागि चाहिने पूर्वाधार बनाउनुपर्ने सम्वद्ध अधिकारीहरुको भनाइ छ । माइस टुरिजम ग्लोबलका सञ्चालक मनोज गिरी सरकारले यो क्षेत्रमा काम गर्न ढिलाइ गर्न नहुने बताउँछन् । उनी भन्छन्, “दुई सय जनाको कन्फ्ररेन्स यहाँ गर्ने हो भने त्यसको सन्देश हामीले पठाउनै पर्दैन् । अन्तराष्ट्रिय संचारमामाध्यमले आँफैले पठाउँछ, त्यो सम्भावना छ । त्यसका लागि हामीसँग हजार जनाको भन्दा बढी अट्ने हल भएकाले गर्दा यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।”

जनसंख्या र अर्थतन्त्रका आधारमा दुई ठूला छिमेकी मुलुक भारत र चीनबाट थप पर्यटक भित्र्याउन माइस टुरिजम बलियो आधार हुन सक्ने देखिन्छ । प्राकृतिक सौन्दर्य र सम्पदाले भरिपूर्ण नेपालमा माइस टुरिजमलाई केन्द्रित गरी नीति नियम तय गर्न सकिए साना व्यवसायी देखि ठूला व्यवसायीले लाभ लिन सक्ने निश्चत छ । पूर्वाधारको कमी तथा नीतिगत कमजोरीका कारण यो अवधारणालाई अघि बढाउन नसकिएको व्यवसायी बताउँछन् । होटल एसोसिएसनका अध्यक्ष विनायक शाहले भने, “माईस टुरिजमको सम्भावनाका विषयमा जुन छलफल ग¥यौं यसको निचोडको बारेमा सम्बन्धीत निकायमा गएर अगाडि बढाउने हाम्रो उद्देश्य छ ।

 शहरी विकास मन्त्रालयले देशका विभिन्न भागमा गरी १२ वटा सम्मेलन केन्द्र निर्माण गरिसकेको छ भने एक वर्षभित्र थप २२ वटा केन्द्र निर्माण सम्पन्न हुने तयारीमा छ । ती सम्मेलन केन्द्रको उचित प्रयोग गरी प्रचार–प्रसार र विस्तार गर्न सके माइस टुरिजमलाई अघि बढाउन सकिने अन्तराष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक विद्रोह दाहाल बताउँछन् । नेपालमा बनेका सम्मेलन केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न छुटै छाता संस्था बनाएर अघि बढ्न सकिने दाहालको भनाइ छ ।

माइस टुरिजमका लागि आवश्यक सेवा सुविधा नेपालमा उपलब्ध छ भन्ने सन्देश प्रवाह गर्न सके यस क्षेत्र विस्तार गर्न सकिने पर्यटन बोर्डले जनाएको छ । बोर्डका सह–प्रवक्ता मणिराज लामिछाने नेपालमा पनि अन्तराष्ट्रिय स्तरको इभेन्ट आयोजना गर्न सक्ने दक्ष जनशक्ति रहेकाले विस्तार अन्तराष्ट्रिय क्षेत्रले प्राथमिकता राख्न थालेको तर्क गर्छन् । उनले भने, “अहिलेचाँहि अन्तराष्ट्रिय स्तरको जनशक्ति नेपालमा उत्पादन भईसक्नु भएको छ । यसले गर्दा अहिले त्यस्तो संशय छैन । त्यस्तै पछिल्लो समय नेपाललाई पनि बिस्तारै उहाँहरुले आफ्नो सूचीमा राख्नुभएको छ ।”

पर्यटनको प्रचुर सम्भावनालाई व्यवहारमा उतार्न नेपालमा आवश्यक नीति नियम र व्यवहारिक पक्षलाई ध्यान दिनुपर्ने देखिन्छ । माइस टुरिजमका लागि पनि राज्यका तर्फबाटै त्यस्तै प्रभावकारी कदमको अपेक्षा गरिएको छ । 


प्रतिक्रिया