खेलकुद पूर्वाधार राष्ट्रिय गौरवको आयोजनामा समेट्नु सुखद

मंसिर ७, २०८० | काठमाडौं

सरकारले काठमाडौंको मूलपानी तथा चितवन र विराटनगरमा निर्माणधिन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर निर्माण अघि बढाउने निर्णय गरेको छ । गत कार्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने घोषणा गरेको हो । योसँगै सरकारले अहिलेसम्म राष्ट्रिय गौरवका भनेर वर्गीकरण गरेका आयोजनाको संख्या २७ पुगेको छ । खेलकुद पूर्वाधारलाई राष्ट्रिय गौरवको आयोजनामा समेट्नु सुखद भएपनि लक्ष्य अनुसार रंगशाला निर्माण हुने हो वा होइन भन्ने प्रश्न उब्जिएको छ ।

सरकारले २०६८ सालमा १७ वटा आयोजनालाई राष्ट्रिय गौरवका रुपमा अघि बढाएको थियो । देशको विकास र समृद्धिका लागि न्यूनतम् भौतिक पूर्वाधारको आवश्यकता पूर्ति गर्न भन्दै त्यसपछिका सरकारले पनि राष्ट्रिय महत्वका आयोजना भनेर गौरवका आयोजना थप्दै गएका छन् । पछिल्लो पटक सरकारले काठमाडौंको मूलपानीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान, मोरङको विराटनगरस्थित बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरस्थित अलपत्र रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ । यसपछि त्यस्ता आयोजनाको संख्या २७ पुगेको छ । पहिलो पटक राष्ट्रिय गौरवको आयोजनामा खेलकुद पूर्वाधारलाई समावेश गर्ने निर्णय समग्र खेल क्षेत्रका लागि सुखद भएको खेल अधिकारीहरुले बताएका छन् । राष्ट्रिय गौरवको आयोजना घोषणा गर्न सजिलो भएपनि त्यसको कार्यन्वयन र निर्माण सम्पन्न पश्चात रेखदेखमा ध्यान दिन जरुरी रहेको राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले बताए ।

धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको चर्चा व्यापक भएपनि अलपत्र अवस्थामा छ । सो रंगशाला निर्माणका लागि सरकारले २०७५ सालमा २० विघा ६ कठ्ठा जग्गा उपलब्ध गराएको थियो । काम अघि बढ्न नसकिरहेका बेला सो रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश भएसँगै यसले पूर्णता पाउने चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको भनाई छ ।

मुलपानीस्थित तल्लो मैदानमा हाल ड्रेसिङ रुम, भीआईपी र भीभीआईपी ब्लक तथा दुुई वटा सामान्य प्याराफिट गरि ५ वटा ब्लक बनिसकेको छ । पार्किङस्थल लगायत अन्य काम सम्पन्न हुुन बाँकी छ । मुलपानी मै अर्को मैदान पनि छ । सो मैदानमा भने एकदिवसीय अन्तर्राष्ट्रिय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता समेत सञ्चालन भइसकेको छ ।

उता, विराटनगर महानगरपालिका वडा नम्बर १९ स्थित बैजनाथपुरमा निर्माणाधिन रंगशाला १५ विघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । सो रंगशाला २०५४ सालमै तत्कालिन सरकारले बहुुउदेश्यीय रंगशाला बनाउने भन्दै घोषणा गरेर २०५५ सालमा जग्गा अधिग्रहण गरेको थियो तर काम अघि बढ्न सकेको छैन । त्यसैले सरकारबाट परिपत्र आए लगत्तै रंगशाला निर्माणका लागि आवश्यक सबै प्रक्रिया थाल्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए ।

सरकारले यसअघि घोषणा गरेका कतिपय राष्ट्रिय गौरवका आयोजनाको निर्माण प्रगति निराशाजनक छ । कति आयोजना सुरु भएको एक दशक बितिसक्दा पनि प्रगति न्यून छ । ठूला रणनीतिक योजना निर्माणमा ढिलाइ नगर्ने, बजेट अभाव हुन नदिने र गुणस्तरमा कुनै सम्झौता नहुने गरी आयोजनाहरुलाई गौरवमा समावेश गर्ने गरिएको हो । यसरी गौरवमा समेटिएका आयोजनाबाट देशले चाँडै लाभ लिन सक्ने अपेक्षा गरिएको हुन्छ । तर सरकारले बजेट, निर्माणको व्यवस्थापकीय पक्ष र गुणस्तरमा ध्यान नदिइ भटाभट गौरवका आयोजना घोषणा मात्र गर्दा यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।

पछिल्लो समय नेपाली क्रिकेटले हासिल गरेको उपलब्धिपछि सरकारले निर्माणाधिन अवस्थामा रहेका रंगशालालाई गौरवको आयोजनामा समावेश गरेको हो । पर्याप्त अध्ययन र तयारी विनै गौरवका आयोजना घोषणा गर्ने र अनुगमन नगर्ने प्रवृत्तिका कारण निर्माण कार्यमा ढिलाई हुने गर्छ । कतै तीन वटा रंगशालाले पनि त्यही नियति भोग्ने हो कि भन्ने चिन्ता र चासो प्रकट भएका छन् । 


प्रतिक्रिया