नेपालमा बढ्दो बाघको संख्याः संरक्षणमा अवसर र चुनौती दुवै

पुस २२, २०८१ | काठमाडौं

नेपालसहित विश्वका १३ देशमा मात्र बाघ पाइन्छ । बाघको संख्या घट्दो क्रममा रहेको भन्दै सन् २०१० मा रुसमा आयोजित १३ देश सम्मिलित बैठकले १० वर्षभित्र बाघको संख्या दोब्बरले वृद्धि गर्ने लक्ष्य निर्धारण ग¥यो । त्यही अनुसार नेपालले पनि बाघ संरक्षणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । 

बाघको संख्यामा सफलता पाइरहँदा अघिल्लो साता प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा बोल्दै नेपालमा बाघ धेरै भएको भन्दै दिएको अभिव्यक्ति चर्चाको विषय भएको छ । र, बाघ संरक्षणको सन्दर्भमा बहस जारी रहँदा जानकारहरुले भने बाघको व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।

सन् २००९ मा नेपालमा आयोजित ‘ग्लोबल टाइगर वर्कसपमा सहभागी १३ देशका २ सय ५० भन्दा बढी विशेषज्ञ, वैज्ञानिक र सरकारी प्रतिनिधिले लोप हुनुअघि नै बाघ जोगाउने कदम चाल्नुपर्ने सहमति गरेका थिए । त्यस्तै, सन् २०१० मा रुसमा आयोजित विश्व बाघ मञ्चको सम्मेलनले ‘ग्लोबल टाइगर रिकभरी प्रोग्राम’ तय गरी २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने नीति लिएको थियो ।

 तत्कालीन समयमा विश्वभर ३ हजार ६ सय ९ वटा मात्र बाघ रहेको जनाउँदै ती देशहरु संरक्षणका लागि सहमत भएका थिए । तर, अहिले बाघको संख्या विश्वव्यापी रुपमा ५ हजार ५ सय ७८ पुगेको छ । र, बाघ संरक्षण कार्ययोजना सम्बन्धी वन तथा वातावरण मन्त्रालयको प्रतिवेदन अनुसार हाल नेपालमा ३ सय ५५ वटा बाघ छन् । बाघ संरक्षणको क्षेत्रमा नेपालको उपलब्धिको प्रशंसा हुँदै आएको पृष्ठभूमिमा केही दिनअघि प्रधानमन्त्री ओलीले नेपालमा बाघको संख्याबारे दिएको अभिव्यक्तिलाई लिएर निकै चर्चा भयो । सो क्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘अहिले साँढे ३ सय भन्दा बढी बाघ छन्, यत्रो सनो देशमा साँढे ३ सय भन्दा बढी बाघ । हामीले पनि ठिक्क चाहिने खालका काम गर्नुपर्छ । बाघ अलि थोरै पाल्नुपर्छ, डेढ सय बाघ भए पुग्छ, मान्छे खुवाएर बाघ पाल्न सकिँदैन त्यो गल्ती गर्नुहुँदैन ।’

प्रधानमन्त्री ओलीले व्यक्त गरेझैँ बाघको आक्रमणबाट नेपालमा मानवीय क्षति बेलाबखतमा हुने गरेको छ । बाघको संख्या वृद्धि अनुसार अहिले मानव वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापनका लागि पर्याप्त पहल हुन नसकेको भन्दै टिकाटीप्पणी भइरहेको छ । वातावरण संरक्षणको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका सञ्चारकर्मी सुबोध गौतम बाघ बढ्दैमा आत्तिनुपर्ने अवस्था नभएपनि जङ्गलमा आश्रित व्यक्तिलाई जोगाउन सरकारी संयन्त्रले काम गर्न नसक्दा समस्या भएको बताउँछन् । उनी भन्छन्, ‘बाघको संख्या धेरै होइन, व्यवस्थापनको समस्या हो । मान्छे जङ्गलभित्र छिरेर बढी मरेका छन् । जङ्गल किनारका वस्तीहरुलाई राम्ररी व्यवस्थापन गर्नुपर्यो, जङ्गल जन नपर्ने वातारण सिर्जना गर्नुपर्यो । उनीहरुको जीविकोपार्जनका माध्यमहरु खोजिदिनपर्यो ।’

तथ्याङ्क अनुसार नेपाल सहित विश्वका विभिन्न १३ देशमा मात्र बाघ पाइने गरेको छ । भारत, बंगलादेश, भुटान, चीन, म्यानमार, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, इण्डोनेसिया, मलेसिया र रुसमा बाघ पाइन्छन् । जसमध्ये भारतमा मात्र ३ हजार १ सय ६७ वटा बाघ रहेको पाइएको छ भने इण्डोनेसियामा ४ सय र रुसमा ५ सय ४० वटासम्म बाघ रहेका छन् । नेपालमा पनि सन् २०२२ मा भएको सर्वेक्षण अनुसार ३ सय ५५ वटा बाघ रहेको पाइएको हो । बाघको अवलोकनमा रुचि राख्ने स्वदेशी र विदेशीको रुचिका कारण यसले नेपालको पर्यटनमा समेत योगदान गर्दै आएको छ ।


नेपालका विभिन्न निकुञ्जमा पाइने बाघसहितका जङ्गली जनावरका माध्यमबाट अन्तर्राष्ट्रिय छवि समेत बनिसकेको छ । यस्तो अवस्थामा बाघको संख्या बृद्धि भएको भन्दै देखाइएको चासो र संख्या कम गर्न खोज्दा पर्यटकीय गतिविधिमा समेत प्रभाव पर्ने देखिएको सम्बद अधिकारीहरु बताउँछन् । ४६ वर्ष यता चितवनसहित विभिन्न जिल्लामा रहेर नेचर गाइडका रुपमा काम गर्दै आएका टीका गिरीले भने,‘टुरिजमबाट त कहिलेपनि बाघ बढ्यो, बाघले खत्तम पार्यो भन्ने धारणा त आउँदै आउँदैन नी । बाहिरबाट यहाँ त वन जङ्गलहरु भएर न जीव जन्तु भएर न पर्यटक आउने हो । अब यी वन जङ्गल पनि नरहने बाघहरु पनि सबै सिद्दीने गैंडा पनि नरहने हो भने त यहाँ चाहीँ घर र मान्छे हेर्न त पक्कै पनि आउँदैन ।’


पछिल्लो ६ बर्षको तथ्याङ्कअनुसार बाघको आक्रमणबाट ६८ जनाको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्ष ०८०÷८१ मा बाघको आक्रमणबाट १०, २०७९÷२०८० मा १२, २०७८÷७९ मा २१, २०७७÷७८ मा १३ जना, ०७६÷७७ मा ८ र ०७५÷७६ मा ४ जनाको मृत्यु भएको छ । सन् २००९ मा भएको सर्वेक्षणमा नेपालमा बाघको संख्या १ सय २१ बाघ थियो भने सन् २०१० मा रुसमा भएको सम्मेलनका क्रममा नेपालले सन् २०२२ सम्म २ सय ५० पु¥याउने लक्ष्य लिएको थियो । प्रतिवद्धता अनुसार नेपालले बाघको संख्या लक्ष्यभन्दा बढी ३ सय ५५ मात्र पु¥याएन अन्तर्राष्ट्रियस्तरमै ख्याती समेत कमाएको थियो । बाघको संख्यामा भएको वृद्धिसँगै त्यसको वासस्थान र संरक्षणका क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्नुपर्ने देखिएको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामको भनाइ छ । उनले भने, ‘क्षमताको कुराले असर गर्दैन, राज्यले लिएको नीति अनुसार नै बढेको हो नी, त्यसमा समस्या छैन, तर अब दिगो व्यवस्थापनका लागि त आहार प्रजाति, बासस्थान, संरक्षणको विषय सँगसँगै लैजानुपर्यो । ’


नेपालको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढी छ । सन् २०२२ मा भएको सर्वेक्षण अनुसार चितवनमा १ सय २८ तथा बर्दियामा १ सय २५ वटा बाघ फेला परेको छ भने पर्सा राष्ट्रिय निकुञ्जमा ४१ तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ तथा र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा २५ वटा बाघ रहेका छन् । तर यो बीचको झण्डै तीन वर्षको अवधिमा कति बाघ मरे र कति जन्मिए भन्ने बारे भने तथ्याङ्क छैन । यद्यपि संरक्षणका क्षेत्रमा भएका कदम र पछिल्लो १ दशकमा भएको संख्यात्मक वृद्धिलाई हेर्नै हो भने बढेर झण्डै ४ सय आसपास पुगेको हुनसक्ने सम्बद्ध अधिकारीहरुको भनाइ छ । बाघको उचित व्यवस्थापन गर्न सके नोक्सानी भन्दा फाइदा बढी हुने नेचर गाइडका रुपमा सक्रिय रहेका टीका गिरी बताउँछन् । उनले भने, ‘बाघलाई आरोप लगाउनुभन्दा पनि पहिला तिनीहरुको बासस्थान बनाएर आहार विहार बढाउनेतिर हामी लाग्नुपर्यो, घाँसे मैदानहरुमा इन्भेष्टमेन्ट बढाउनुपर्यो, तालतलैया बढाउनुपर्यो, मानिसहरुको आगमनलाई विहान बेलुका रोकेर टुरिजमलाई प्राथमिकता दिने हो भने नवलपरासी, चितवन, पर्सामा भरपुर सम्भावना छ नी ।

झण्डै एक दशकको अवधिमा बाघको संख्या दोब्बर भन्दा बढी बनाएर पाएको सफलतासँगै नेपालको काँधमा अब व्यवस्थापनको विषय महत्वपूर्ण देखिएको छ । जङ्गलको फैलावटले बाघको संख्या विस्तार हुनुलाई स्वाभाविक मानिएको छ भने जङ्गलभित्र रमाउने बाघलाई मानव बस्तीसम्म आइपुग्ने अवस्था कसरी बन्यो भन्ने सवाल समेत जन्मिएका छन् । त्यसैले, बाघको उचित व्यवस्थापन गरी यसको संरक्षणमा ध्यान केन्द्रित गर्दै बाघ र मानवबीचको द्वन्द्व समाधान समेत प्राथमिकतामा राख्नुपर्ने हुन्छ । 


प्रतिक्रिया