कान्तिपुर अध्यक्ष सिरोहियाको पक्राउविरुद्ध सञ्चार जगतबाट आलोचना

जेष्ठ ९, २०८१ | काठमाडौं

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति सञ्चार सम्वद्ध संस्था र व्यक्तिले कडा आलोचना गरेका छन् । सहकारीको बचत अपचलनको बिषयमा प्रमाणसहित समाचार प्रकाशन र प्रसारण गरिरहेको सन्दर्भमा गृहमन्त्री रवि लामिछानेले प्रतिसोध साँध्न सञ्चार उद्यमीमाथि गलत रवैया अपनाएको भन्दै आलोचना बढ्दै गएको हो । मूलधार मिडियाका सम्पादकहरुले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यले कान्तिपुर मिडिया गु्रपका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ५ वूँदे पत्र समेत पठाएका छन् ।

मूलधारका सम्पादकहरुले कान्तिपुरका अध्यक्ष सिरोहियालाई सरकारी निकायले सोधपुछ नगरी पक्राउ गरिएको घटनाले गम्भीर प्रश्न खडा गरेको निष्कर्ष निकालेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई पठाएको पत्रमा भनिएको छ, ’जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ । कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं,।” गृहमन्त्री रवि लामिछाने स्वयं र उहाँ विगतमा सम्वद्ध गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रुपैयाँ अपचलन गरेको समाचार लेखेपछि मिडियामाथि शत्रुभावका साथ जाइलागेको सम्पादकहरूको पत्रमा उल्लेख छ ।

 यस्तै, पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले गृहमन्त्री लामिछाने र लामिछाने सञ्चालक रहेको गोरखा मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेको विषयलाई समेत सम्पादकहरूले प्रधानमन्त्रीलाई पत्रमार्फत् स्मरण गराएका छन् । यसैबीच, नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई आतङ्ककारी शैलीमा पक्राउ गरिएको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा कँडेलले गृह प्रशासनको हर्कतले सरकार नेपाली मिडियामाथि आक्रमण गर्न उद्दत भएकोे बताए । अध्यक्ष सिरोहियालाई पक्राउ गरेर मिडियामाथि सेल्फ सेन्सरसिप गर्न खोजिएको कँडेलको भनाइ छ ।

समाचार प्रकाशन र प्रसारण गरेकै आधारमा पक्राउ गरिनु आफूहरुलाई स्वीकार्य नहुने मिडिया एलाइन्स र मिडिया सोसाईटीको निष्कर्ष छ । राज्यको संवेदनशील निकाय गृहमन्त्रालयको नेतृत्व गर्नेको भूमिका सन्तोष्जनक उनीहरुले बताएका छन् । लामो समय पत्रकारीताको अनुभव लिएर राजनीतिमा होमीएका गृहमन्त्री लामिछानेले मिडियामाथि हमला गरे पनि आफूहरु शून्य सहनशिलताको पक्षको रहेको मिडिया एलाइन्स नेपालका महासचिव दिरेकलाल श्रेष्ठ बताउँछन् । सञ्चारगृहमाथि भएको प्रहरीको धरपकड सह्य नहुने उनले बताए ।

कान्तिपुरले सहकारी ठगीको समाचार लेखेकै आधारमा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको भनाई छ । आफ्नो विरुद्धमा समाचार प्रकाशन प्रसाण गर्ने मिडियाप्रति गृहमन्त्री लामिछाने आक्रोशीत भएको धमलाको बुझाई छ ।

यस्तै उपत्यका प्रसारक मञ्चका अध्यक्ष आरके श्रेष्ठले सञ्चारगृहमा हतियारसहित प्रहरी प्रवेश गर्नु खेदजनक भएको बताए । सञ्चार गृहमा भएको हातियार धारीको प्रवेशले प्रेश जगतलाई संकुञ्चीत गर्न सक्ने जोखिम पछिल्लो घटनाक्रमले देखाएको उनको भनाई छ ।

थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाट अध्यक्ष सिरोहियालाई पञ्चायती र तानाशाही शैलीमा पक्राउ गरिएको भन्दै सरकारको आलोचना भएको छ । कुनैपनि व्यक्तिले शक्तिको आडमा मिडियालाई तारो गर्ने परिपाटीको विकास हुँदै गएको मिडिया सोसाइटीका महासचिव मदन लम्सालले बताए ।

अग्रणी सञ्चारगृह कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटनालाई लिएर जनस्तरबाट समेत विरोध भएका छन् । यसैबीच, कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको विरोधमा जनकपुरमा प्रदर्शन भएको छ । जनकपुरधाममा जनकपुर उद्योग वाणिज्य संघ, पत्रकार, व्यवसायी, विद्यार्थी लगायतले प्रदर्शन गरेका हुन् । कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको विरोधमा सिरहाको मिर्चैयास्थित कटारी चोकमा नागरिक समाज र युवा विद्यार्थीले बुधवार विहान एक घण्टा प्रदर्शन गरेका छन् । यता, सामाजिक सञ्जालमार्फत् कतिपय पेशाकर्मी र बुद्धिजीवीले सञ्चार उद्यमी सिरोहियालाई पक्राउ गरिएकोप्रति विरोध जनाएका छन् । त्यस्तै, कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले अध्यक्ष सिरोहियालाई पक्राउ गर्ने सरकारको कदमको पक्षमा धारणा राखेका छन् । 


प्रतिक्रिया