देशभित्रको रोजगारीमा सन्तुष्ट हुन नसकेपछि नर्सहरु विदेशिने क्रम बढ्दो

असार ८, २०८१ | काठमाडौं

नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै अवसर नपाएपछि विदेशतिर पलायन हुने गरेका छन् । स्वदेशमा न्यून सुविधामा काम गर्नुपर्ने बाध्यता भएपछि उनीहरू विदेशतिर आकर्षित भएका हुन् । नेपालबाट नर्सिङ उत्तीर्ण भएपछि उनीहरूको पहिलो आकर्षण अमेरिका, क्यानडा, अस्ट्रेलिया बेलायतसहितका विकसित मुलुक हुने गरेको छ । तर पछिल्लो समय साउदी अरेबिया, दुबई, कतार, कुबेत लगायतका देशप्रति उनीहरूको आकर्षण बढ्न थालेको छ ।

नेपालमा राम्रो सेवा सुविधा नभएका कारण नेपाली नर्सहरु विदेश पलायन हुने क्रम बढिरहेको करिब ७ बर्षदेखि नर्सिङ पेशामा कार्यरत लिजा नगरकोटीले बताएकी छन् । नगरकोटी जस्तै अन्य नर्सहरुले नेपालमा बसेर आफ्नो भविष्य सुरक्षित नहुने सम्भावना देखेपछि विदेश पलायन हुनुपर्ने बाध्यता रहेको बताएका छन् । यसरी हेर्दा स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्टदैछ । १० देखि १५ लाख रुपैयाँ खर्च गरेर अध्ययन गरेका नर्सहरुले महिनाको १० देखि १२ हजारमा काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

श्रम शोषण भएको गुनासो गर्दै उनीहरु देश छाड्न बाध्य भएका छन् । करियर बनाउनकै लागि भनेर पछिल्लो समय साउदी अरेबिया, युएई, कतार, कुबेत, बहराइनसहितका देशलाई नेपाली नर्सले गन्तव्य बनाएको जानकारहरुको भनाई छ । नर्सलाई जति तलब दिए पनि हुन्छ भन्ने सोच र प्रवृत्ति अझै परिवर्तन हुन नसकेको उनीहरुले बताएका छन् । त्यस्तै नर्सहरु नेपालमा भविष्य नदेखेर बाहिर जाने गरेको नेपाल नर्सिङ काउन्सिलकी रजिष्टार सुक्ला खनालको भनाई छ ।

विदेशमा उच्च सम्मान र आकर्षक आम्दानी गरिने पेसामा नर्सिङ पेसा पर्ने गर्दछ् । नेपालमा कामका लागी राम्रो वातावरण नहुनु, तलब–भत्ता राम्रो नहुनु, जागिर नपाउनु जस्ता समस्याले गर्दा वर्षेनी ठुलो मात्रामा नर्सिङ विषय अध्ययन गरेका जनशक्ति बाहिरिने गरेका छन् । नेपाल नर्सिङ काउन्सिलका अनुसार २०६९ देखि २०८० को चैतसम्ममा भेरिफिकेसन पत्र लिएर विदेश जाने नर्सको संख्या ४० हजार ५ सय ३९ जना पुगेको छ ।

तीमध्ये अमेरिकाका लागि सबैभन्दा बढी २३ हजार ३ सय ७० नर्सले भेरिफिकेसनपत्र लिएका छन् । त्यस्तै अस्ट्रेलियाका लागि ११ हजार २ सय ८९, युएईका लागि दुई हजार ८ सय ४, डेनमार्कका लागि ६ सय ४७, बेलायतका लागि ६ सय ८५, क्यानडाका लागी ४ सय ६१, न्युजिल्यान्डमा १ सय ७७, आयरल्यान्डमा ८६, कतारका लागी ३ सय ८६, कुबेतका लागी २ सय ६८, जर्मनीका लागि ३६, भारतका लागी ३५, फिनल्यान्डमा ८, माल्दिभ्सका लागी ३० र हङकङका लागि ५३ जना नर्सले ‘भेरिफिकेसन पत्र लिएको सरकारी तथ्यांङकले देखाएको छ । त्यस्तै बैदेशिक रोजगार विभागमाआर्थिक वर्ष २०८०÷८१ को हालसम्ममा दर्ता भएर १ हजार ४२ जना नर्स विदेशिएका छन् ।

नेपालमा भएका दक्ष नर्सिङ जनशक्ति बाहिरिंदा अस्पतालसहितका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव बढ्दै जाने जोखिम देखिएको छ । त्यसैले विदेश पलायन हुने क्रम रोक्ने नीति ल्याउन ढिलो भइसकेको कतिपयको बुझाइ छ । 



प्रतिक्रिया