शेयर बजारमा नयाँ नयाँ रेकर्डः शेयर किन्दा ध्यान दिन विज्ञको सुझाव
श्रावण २०, २०८१ | काठमाडौं
शेयर बजार परिसूचक नेप्सेमा पछिल्लो समय नयाँ–नयाँ रेकर्ड कायम हुन थालेको छ । आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि भन्दै बनेको नयाँ सरकार र राष्ट्रबैंकले ल्याएको लचिलो मौद्रिक नीतिका कारण शेयर बजारमा उछाल आएको सरोकारवाला बताउँछन् । बजार परिसूूचक नेप्से साउनयता मात्रै ४ सय ५५ अंकले वृद्धि भएको छ । नेप्सेमा गत बुधबार एकै दिन २१ अर्व ९१ करोड रुपैयाँको कारोबार भएको थियो । जुन रकम अहिलेसम्मकै उच्च हो । संकुचित मौद्रिक नीति र सरकारको अस्थिरताका कारण करिव ३ वर्षदेखि थलिएका शेयर लगानीकर्ता पछिल्लो समय हौसिएका छन् । बजारको अस्थिरतालाई रोक्न एवम् उच्च घाटाबाट बच्नका लागि शेयर बजारबारे सजग एवम् कम्पनीको छनोट गर्दा ध्यान दिनुुपर्ने विज्ञहरुको सुुझाव छ ।
साउन महिनालाई हरियाली महिना भन्ने गरिन्छ । जीवनको रङ भनेर बुझिने हरियो रङ यतिखेर अर्थतन्त्रको ऐना भनेर चिनिने शेयर बजारमा प्रकट हुन थालेको छ । झण्डै ३ वर्षदेखि अत्तालिएका लगानीकर्तामा पछिल्लो समय उत्साह छाएको छ । नेपालको शेयर बजार र अर्थतन्त्रको अवस्थाबीच व्यवहारिक रुपमा खासै तालमेल नमिलेपनि पछिल्लो समय भने अर्थतन्त्रमा देखिएको सुधारको संकेत बजारमा झल्किएको हो । नेप्से साउन यता मात्रै ४ सय ५५ अंकले वृद्धि भएको छ । गत बुुधबार इतिहासकै उच्च एकैदिन २१ अर्व ९१ करोड रुपैयाको कारोबार भयो । संसदका दूई ठूला दल नेपाली कंग्रेस र एमालेबीचको सत्ता समीकरणमार्फत् एमाले नेतृत्वमा बनेको सरकार र शेयर बजारको फेवर मानिएका विष्णु पौडेल अर्थमन्त्री भएपछि लगानीकर्ताको मनोबल बढेको देखिन्छ । अर्कोतर्फ राष्ट्र बैंकले पनि मौद्रिक नीति मार्फत् वित्तीय सहजीकरण गरेको छ । राजनीतिक प्रतिवद्धता र केन्द्रीय बैंकको लचिलो मौद्रिक नीतिको प्रभाव शेयर बजारमा देखिन थालेको बताउँछिन् नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल ।
२०७८ साल भदौ २ गते ३१ सय ९९ अंकमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको शेयर परिसूचक त्यसको २ वर्षपछि १३ सय २४ अंकले घटेर २०८० कार्तिक २० मा १८ सय ७५ अंकमा कायम भएको थियो । अहिले शेयर फेरि बढेर २७ सय ५५ अंकमा पुुगेको छ । नेपालको शेयर बजारमा लगानीकर्ताले पछिल्लो २ वर्षमा करिव २० खर्व गुमाएको अनुमान छ । कतिपय अवस्थामा कम्पनीको नाफा÷घाटाको अवस्था नहेरी लगानी गर्ने, हचुवाको भरमा लगानी गर्ने गर्दा पनि साना लगानीकर्तालाई बढी असर गरेको छ । वित्तीय साक्षरता कम भएका साना लगानीकर्ताहरुले हचुवाकै भरमा लगानी गर्दा जोखिम हुने गरेको बताउँछन् साधारण लगानीकर्ता प्रकाश थापा ।
नेपालको शेयर बजार त्यसै पनि अस्थिर छ । विदेशी मलुुकका अर्थतन्त्रको अवस्थाले शेयर बजारको भविश्य निर्धारण गरेको हुन्छ । तर हाम्रोमा ठिक उल्टो हुने गरेको छ । शेयर बजारमा निश्चित वर्गको पहुँच र उनीहरुको गतिविधीले मार्केट निर्धारण गर्ने भएकाले साना लगानीकर्ता बढी सचेत हुनुपर्ने विज्ञहरुको सूुझाव छ । कतिपय अवस्थामा अस्वभाविक चलखेलका कारण घाटाका कम्पनीहरुको शेयर मुल्य निकै उच्च हुुने गरेको छ । शेयरमा लगानीकर्ता नै बढी सचेत हुने हो भने जोखिम कम हुने बताउँछन् धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी ।
राष्ट «बैंकको संकुचित मौद्रिक नीतिले नेपालको आर्थिक र वित्तीय क्षेत्र पछिल्लो २ वर्षदेखि शिथिल बनेको आरोप लाग्दै आएको छ । तर केन्द्रीय बैंकले चालु आर्थिक वर्षका लागि लचिलो मौद्रिक नीति ल्याएको छ । शेयर बजारमा लगानीका लागि संस्थागत तर्फ २० करोडको सीमा केन्द्रीय बैंकले हटाएको छ । बैंक वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पनि मौद्रिक नीति मार्फत सहजीकरण गरिएको छ । यसको प्रभाव शेयर बजारमा देखिएपनि अन्य नीतिगत व्यवस्थाको भूमिका पनि उत्तिकै हुने राष्ट्र बैकका प्रवक्ता रामु पौडेलको तर्क छ ।
शेयर लगानी कर्ताका लागि अहिले उत्तम समय आएको छ । प्रायः घट्ने चक्रहरुबाट गुज्रिरहेको नेपालको शेयर बजारबाट लाभ लिनका लागि भने कम्पनीको त्रैमासिक विवरण, वार्षिक प्रतिवेदन, कम्पनीको नाफा अवस्थाको बारेमा राम्रा ज्ञान लिए अपेक्षित रुपमा कम नोक्सानी हुने विज्ञहरु बताउँछन् । यद्यपी नेपालको शेयर बजारलाई टिकाइराख्न एवम् सुुरक्षित लगानीका लागि मुख्य सर्त भने सरकारको नीतिगत स्थायित्व नै हो ।