'वृद्धवृद्धामा एक्लोपनको समस्या बढ्दै'

कार्तिक २१, २०८१

सामाजिक अन्तरक्रिया अर्थात् परिवार र आफ्नो सेरोफेरोका अन्य मानिससँगको नियमित सम्वाद मानिसका लागि निकै महत्वपूर्ण मानिन्छ । बदलिँदो परिस्थिति र जीवनशैलीले हरेक मानिसको दैनिकीमा व्यापक फेरबदल हुँदै गएका छन् । तीमध्ये पनि बुढ्यौली उमेर व्यक्तिमा दैनिक जीवनलाई विभिन्न पक्षले असर पारिरहेका हुन्छन् । परिवारका सदस्यसँग अलग रहँदा महसुस हुन सक्ने एक्लोपन र एकाङ्की जीवन उनीहरुका लागि मुख्य सरोकारको मुद्दा बनेको देखिन्छ । आखिर, वृद्धवृद्धामा देखिने यस्ता समस्या कारण र निदान के हुन सक्छ भन्ने सवाल चाहि महत्वपूर्ण ठानिएका छन् ।

बढ्दो सहरीकरण र व्यस्त जीवनशैली लगायत कारण ज्येष्ठ नागरिक नितान्त एक्लोपन महसुस गर्दै छन् । जीवनको सक्रिय युवास्थामा विभिन्न काममा संलग्न भई अति व्यस्त हुने व्यक्ति वृद्धावस्थामा प्रवेश गर्नासाथ एकै पटक आर्थिक र सामाजिक पक्षबाट अलग हुने गरेका छन् । त्यस्तै, सन्तानको विदेश बसाइ र आन्तरिक बसाइँसराइका कारण सहर र सुविधासम्पन्न ठाउँमा केन्द्रित हुन थालेपछि उनीहरू नयाँ परिवेशमा जानुपर्ने बाध्यता छ । त्यसबाहेक शहरी क्षेत्रमा नगई गाउँघरमा बसेका ज्येष्ठ नागरिक एक्लोपन महसुस गर्न थालेका छन् । दैलेखको चामुण्डा विन्द्राशैनि नगरपालिका वडा नम्वर ५ का जेष्ठ नागरिक नर्तम प्रसाद रेग्मीका अनुसार छोराछारी विदेश पलायन भएपछि अभिभावकलाई बेवास्ता गर्दै आएका छन् । आफ्नो गुजारा आफै गर्नुपर्ने बाध्याताका कारण गाउँघरमा बाउसो खनेरै भएपनि छाक टार्दै आएको उनले बताए ।

घर छोडेर कार्यक्षेत्रमा खटिनुुपर्ने बाध्यताका कारण कतिपय अवस्थामा परिवारका सदस्यहरुले चाहेर पनि ज्येष्ठ नागरिकसँग घुलमिल हुन पाएका छैनन् । त्यसमाथि समाजले पनि परम्परागत नैतिक मूल्य मान्यता र परिवारलाई कम महत्व दिएको गुनासो उनीहरुको भनाइ छ । त्यस्तै काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका २ की ज्येष्ठ नागरीक विष्णुमाया गिरीले भनिन्, ‘नोपालमा काम गरेर बिहान बेलुकाको गुजरा टार्नै मुस्कील भएपछि छोराछोरीलाई विदेश पठाएकी हुँ ।’ महिनाको १० ,१५ हजारको कमाईले परिवारको आवश्यकता पुरा नहुँदा टाढा पठाएको उनको भनाई छ । तर छोराछोरीले कमाएर पैशा पठाउदाँ केहिसहज भएतापनि आफु दिनानुदिन बृद्ध हुँदै जादाँ छोराछोरीसँगै नभएको अभाव खड्किने गरेको उनले बताईन् ।

भनिन्छ वृद्ध उमेरका मानिसलाई माया, ममता, उपयुक्त किसिमको खाना र स्याहारसुसार चाहिन्छ् । र, तिनीहरुको अभावमा आफूलाई अपमानित महसुस गर्दै चिन्तित हुने गरेका छन् । यस्तो अवस्थामा नयाँ पुस्ताले वृद्धवृद्धाहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वतन गर्न आवश्यक रहेको कतिपयको भनाई छ । मनोविद् जितेन राई भन्छन्, बृद्धबृद्धाहरुले सामाजिक रुपमा एक्लो भएको महशुस गर्दा हीनताबोध हुने हुदाँ रिसाउने, झर्कनेजस्ता व्यवहार देखाउन थाल्छन् र विगतलाई आधार मानेर आफ्ना व्यवहार देखाउने प्रवृत्तिमा प्रवेश गरेको हुदाँ उनीहरुलाई बालबालिकाहरुलाई जस्तै व्यवहार गर्नुपर्ने हुन्छ् ।

हरेक मानिसले परिवेश र उमेर अनुसार समाज, परिवार र देशका बारेमा आफ्नो धारणा बनाउने गर्दछन् । त्यति मात्र होइन बढ्यौली उमेर हुँदै जाँदा उनीहरुमा विभिन्न समस्याहरु देखा पर्न सक्छ । स्मरणशक्ति, श्रवणशक्ति र दृष्टिशक्ति कमजोर हुनुका साथै हाडजोर्नी कमजोर हुने र विभिन्न प्रकारका रोगबाट ग्रसित हुने जस्ता समस्याबाट पीडित हुने गरेका छन् । ती समस्याले गाँजेको बेलामा परिवारका सदस्यबाट बढी सहयोग र भरोसा खोजी गर्ने र साथ नपाउँदा थप समस्या महशुस गर्ने मनोविद्हरुको बझाइ छ । अर्को कोणबाट हेर्दा वृद्धवृद्धा र अर्को पुस्ताबीच सोचाइ, धारणामा भिन्नता हुँदा समेत टकरावको स्थिति बन्न सक्ने देखिन्छ । समाजशास्त्रीहरु परिवारभित्र पुरानो र नयाँ मान्यताका कारण मनोमालिन्य बढ्दै जान सक्ने बताउँछन् । आजभोलि सामाजिक संरचनामा आएको परिवर्तन र मानवीय प्रवृत्तिका कारणले ज्येष्ठ नागरिकहरु घर–घरमा अपहेलित, दुव्र्यवहार र एक्लोपनमा जीवन बिताउन बाध्य भइरहेको समाजशास्त्री नारायण ज्ञवालीले बताए ।

यसैबीच, संघीय राजधानी काठमाडौंमा केही महिना अघि गरिएको एक अध्ययनले २१ दशमलव ७ प्रतिशत ज्येष्ठ नागरिकहरूलाई सामाजिक एक्लोपनाको समस्या भएकोे देखाएको छ । काठमाडौं महानगरपालिकाले गरेको ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयक अध्ययनले सो निष्कर्ष निकालेको हो । अध्ययनले विदेशमा छोराछोरी भएका ज्येष्ठ नागरिकहरूमा गम्भीर र भावनात्मक एक्लोपना भएको देखाएको महानगरपालिकाले जनाएको छ । सोे अध्ययनमा सबै वडा समेटिने गरी ५ सय ९ जना ज्येष्ठ नागरिक सहभागीमध्ये ६२ दशमलव ३ प्रतिशतमा मध्यम खालको एक्लोपना देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको महानगरको सामाजिक विकास विभागको माहशाखा प्रमुख जानकी सिहंले बताईन् ।

अध्ययनका अनुसार हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा ज्येष्ठ नागरिकले हिनताबोध गर्ने गरेका छन् । सो अध्ययनले ज्येष्ठ नागरिकलाई अधिक प्राथमिकता दिन, छुट र सुविधा प्रदान गरेर सम्मान गर्न तथा कानुनमा प्रतिबद्धता गरिएका व्यवस्था कार्यान्वयन गर्न सुझाव दिएको छ । 


प्रतिक्रिया